महेन्द्र र चमेरे गुफा आकर्षक बनाइँदै

जमुना वर्षा शर्मा २०८० साउन १८ गते १२:३९

पोखरा ।
महेन्द्र गुफालाई थप व्यवस्थित र सुन्दर बनाउन तयार गरिएको गुरुयोजना अन्तर्गत काम सुरु भएको छ । धार्मिक, ऐतिहासिक एवं प्राकृतिक महत्वको उक्त गुफाको सौन्दर्यकरण एवं संरचना निर्माणका लागि प्रदेश सरकारमार्फत विनियोजित १० करोडबाट भौतिक संरचनाको काम अघि बढाइएको महेन्द्र गुफा चमेरे गुफा पर्यटन विकास समितिका सदस्य सचिव शिशिर पौडेलले जानकारी दिए ।


पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौरमा रहेको महेन्द्र गुफा र चमेरे गुफा पोखराका प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा पर्छन् । ७२ वर्ष लामो इतिहास बोकेको यस गुफामा पर्यटकलाई थप आकर्षित गर्न तयार गरिएको गुरुयोजना अन्तर्गत गन्धर्व सङ्ग्रहालय, ढुङ्गे धारा, म्युजियम, स्कप्चर, अडिटोरियम हल, बगैँचा, गजेवो, एम्पीथियटर, वाटर फाउन्टेन, पारागोला लगायतका संरचना निर्माण भइरहेका छन् ।


विसं २०१६ मा तत्कालीन राजा महेन्द्र बाटुलेचौर आउँदा त्यहाँका स्थानीयले गुफाको अवलोकन गर्न लगेका र तत्पश्चात गुफाको नाम महेन्द्र गुफा रहन गएको थियो । त्यसअघि यसको नाम अँधेरी भुवन थियो । महेन्द्र गुफाबाट ५ सय मिटरमा चमेरे गुफा पर्छ । गुफाभित्र पसेपछि चट्टानभरि झुन्डिएका चमेराका लोभलाग्दा दृश्य देख्न सकिन्छ ।

Advertisement

यी गुफालाई उत्कृष्ट गन्तव्य बनाउन गुरुयोजना तयार भएको छ । योजना अनुसार काम गर्दा २४ करोड लगानी हुन्छ ।


यस गुफामा चमेराहरू भएकाले यसको नाम चमेरे गुफा रहन गएको मानिन्छ । २ सय मिटर लामो चमेरे गुफामा ‘एडभेन्चर क्लाइमिङ’ गरेर पनि बाहिर निस्कन सकिने र विश्वका दुर्लभ ५ प्रजातिका चमेरा पनि पाइने भएकाले यसको थप महत्व रहेको पौडेलको भनाइ छ ।

Advertisement


गुफा हेर्नका लागि विद्यार्थीलाई ३० र आन्तरिक पर्यटकलाई ५० रुपैयाँ शुल्क राखिएको छ । भारत र सार्क मुलुकका पर्यटकका लागि ८० र अन्य विदेशी पर्यटकका लागि १ सय ५० शुल्क तोकिएको छ । आर्थिक वर्ष २०७९÷८० मा यस गुफाबाट करिब १ करोड ७० लाख आम्दानी भएको छ । पछिल्लो समय गुफा हेर्न जाने भारतीय पर्यटक उल्लेख्य छन् ।


महेन्द्र गुफाको लम्बाइ १ सय २५ मिटर छ । विसं १९९० को भूकम्पअघि गुफाभित्रबाट कालिखोलासम्म निस्केको अनुभव अग्रजहरूले सुनाउने गरेको महेन्द्र गुफाका पुजारी श्रीराम अधिकारी बताउँछन् । गुफामा हिन्दू धर्मसंस्कारसँग जोडिएका विभिन्न भगवान्का मूर्ति एवं आकृति देख्न सकिन्छ ।


गुुफाको संरक्षण विन्ध्यवासिनी माविले गरेको छ । यो सामुदायिक विद्यालय हो । चमेरे गुफा पनि विन्ध्यवासिनीकै स्वामित्वमा छ । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले महेन्द्रगुफा र चमेरे गुफालाई उत्कृष्ट गन्तव्य बनाउन करिब २४ करोडको गुरुयोजना तयार गरेको जानकारी दिए ।


‘हामीले बृहत् योजना तयार गरेर प्रदेश सरकारसमक्ष बुझाएका छौँ । पहिलो चरणमा १० करोड विनियोजित भएर केही काम हुँदै छ । आगामी दिनमा थप सौन्दर्यकरणका लागि हाम्रो पहल निरन्तर हुनेछ ।’ गुफाबाट प्राप्त आम्दानीले त्यस क्षेत्रको मात्र नभई आसपासको भौतिक तथा पर्यटकीय विकासका लागि पनि आफूहरूले सहयोग गरेको उनले सुनाए ।


परियोजना सम्पन्न भएपश्चात वडा नं १६ स्थित महेन्द्र गुफा र चमेरे गुफा पोखराका उत्कृष्ट गन्तव्यको रूपमा विकास गर्नका लागि थप प्रचारप्रसार गरिने वडाध्यक्ष अमृत शर्मा तिमिल्सनाले जानकारी दिए । ‘वडा नं १६ मा क्रेजी गुफा, कुमारी गुफा, गौतमबुद्ध गुफा पनि रहेकाले गुफा कनेक्टिङ रोड बनाउने प्याकेजको कार्यक्रम तय गरिएको छ’, तिमिल्सना भन्छन् ।


उनले कुमारी गुफाका लागि पर्यटन मन्त्रालयबाट २० लाख विनियोजन भएर केही पूर्वाधारका काम भएको र आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको सुनाए । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट विनियोजित रकमबाट निर्माणकार्य अगाडि बढेको महेन्द्र चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्टराईले जानकारी दिए । अहिलेसम्म ५५ प्रतिशत कार्य भएको छ ।


निर्माणको जिम्मा पाएको कम्पनीका आयोजना प्रमुख राकेश श्रेष्ठ गत असोज १ देखि आगामी भदौ १९ गते सम्पन्न गर्ने सम्झौता भए पनि सुरुआतमा केही प्राविधिक समस्या उत्पन्न भएकाले समयमै निर्माण कार्य सम्पन्न गर्न नसकेको सुनाए ।

जमुना वर्षा शर्मा

डेढ दसकदेखि पोखरामा क्रियाशील पत्रकार शर्मा राष्ट्रिय समाचार समितिमा आवद्ध छिन् 

तपाईको प्रतिक्रिया