सम्पादकीयः स्तनपान गराउने आमाको संख्या बढाऔं

समाधान संवाददाता २०८० साउन १९ गते १२:००

शिशुका लागि आमाको दूध अमृत समान मानिन्छ । शिशु जन्मिएको एक घन्टाभित्रमा बच्चालाई आमाको बिगौते दूध अनिवार्य रूपमा खुवाउनु खुवाउनुपर्छ ।

Advertisement


शिशु जन्मेपछि ६ महिनाको उमेरसम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरू आमाको दूधमा नै पर्याप्त मात्रामा पाइने हुँदा जन्मेको ६ महिनासम्म आमाको दूध मात्रै खुवाउँदा राम्रो हुन्छ । बच्चा जन्मेको ६ महिना पूरा भएपछि पोषिलो थप खानाका साथसाथै कम्तीमा २ वर्षसम्म स्तनपानलाई पनि निरन्तरता दिनुपर्दछ । स्तनपानले शिशुसँगै आमालाई पनि फाइदा गर्छ ।


आमाको दूध पहिलो खोप र मस्तिष्क विकासको महत्वपूर्ण तत्व हो । बट्टाको दूध सेवन गर्ने शिशुहरू भन्दा स्तनपान गर्ने शिशुहरूको बौद्धिक शक्तिको विकास राम्रो हुन्छ । शिशुको वृद्धि–विकासका लागि स्तनपान अति आवश्यक भए पनि स्तनपान गराउने आमाहरूको संख्या घटिरहेको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ को तथ्यांकले नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या घटिरहेको देखाउँछ । सन् १९९६ मा पूर्ण स्तनपान गराउने आमाको संख्या ७५ प्रतिशत थियो । २०१६ मा ६६ प्रतिशत रहेको सो संख्या अहिले ५६ प्रतिशत मात्रै छ ।


स्तनपान गराउन चाहने आमाको संख्यामा कमी आएपछि शिशु मृत्युदर बढेपछि हरेक वर्ष अगस्त १ देखि ७ गतेसम्म स्तनपानको फाइदा तथा सचेतना बढाउन विश्व स्तनपान सप्ताह मनाउने गरिएको छ । कार्यस्थलका चुनौतिहरू महिलाहरूको लागि स्तनपान रोक्नको लागि सबैभन्दा पहिलो र ठुलो कारण बनेको छ ।

आमाबाबुलाई स्तनपानको लागि पर्याप्त समय र समर्थन चाहिन्छ । विश्वका केवल ४२ देशहरूले कार्यस्थलमा स्तनपान सुविधालाई अनिवार्य गरेका छन् । यस्तो अवस्थामा कार्यस्थललाई स्तनपान–मैत्री कार्यस्थल बन्न पर्याप्त स्तनपान सुविधा चाहिन्छ ।

Advertisement


कतिपय आमाको सोचाइ फिगर (सौन्दर्य) बिग्रिन्छ भनेर पनि खुवाउँदैनन् । केही आमालाई स्तनपानको महत्व नै थाहा छैन । बजारमा पाइने बट्टाको दूध सजिलोसँग पाइन्छ भने किन दुःख गर्ने भन्ने सोचाइ पनि छ । आधुनिकता, सामाजिक सञ्जालको असर, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको उपलब्धता र शरीर बिग्रने डरका कारण स्तनपान गराउने महिलाको संख्या घटेको छ ।


आमाको दूधको विकल्पमा बजारमा पाइने बट्टाको दूधलाई न्यूनीकरण गर्दा स्तनपानको संख्या बढ्छ । तर, व्यवहारमा भने लागू गर्न सकिएको छैन । नेपाल सरकारले स्तनपानसम्बन्धी रणनीति र नीति बनाएपनि उपलब्धिमूलक सफलता हासिल हुनसकेको छैन ।

सरकारले स्तनपानको बारेमा स्थानीय तहसम्म सचेतना अभिवृद्धिको काम गर्नु पर्छ । सार्वजनिक ठाउँमा छुट्टै स्तनपान कक्ष निर्माण गर्नुका साथै दिगो विकास लक्ष्य अनुसार सन २०३० सम्ममा पूर्ण स्तनपान गराउने नेपाली आमाको संख्या ५० प्रतिशत पु¥याउन योजनाबद्ध ढंगले काम गर्नु पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया