प्यारो विगत, कटु वर्तमान !

बिबी श्रेष्ठ २०८० साउन १९ गते १२:०८

खर्किएको खोला पनि शान्त रुपमा बगिरहेछ । लाग्दथ्यो, हिजोको खहरे खोला र आज बीचमा असमानताको विशाल खाडल छ । त्यही खोलाको वेगमा वग्दै गर्दा बनेको सोच वाध्यतावश आजको शीतलतासँगै परिवर्तन भएको छ । हिजोका पाइलाहरु धुमिल हुँदै निखार बनेका छन् । उर्लिएको भेलले बिगारेको संरचनासँगै सोचको महत्वकाक्षांले पनि धेरै पर पुर्‍याइसकेछ ।


फर्केर हेरें, सुस्ताएर हेरें, समीप बसेर हेरें, वहाव त निर्मल बन्दै छ तर कुनै दिनको त्यसको वहावले बिगारेका संरचना निर्मल बन्दै छैनन् । वर्षे भेलजस्तो मस्तिष्कको ज्वारभाटाले पनि अनन्तदीपमा पुर्‍याएको छ । जसलाई निर्मल बनाउन सहज छैन । सायद यसमा नै टेकेको होला, प्रकृतिले, अनुपम छटा भित्रको निरन्तरता । हिजोको उन्मादमा सोचको महत्वकांक्षाले थिचेता पनि त्यसको प्रभाव र अभावमा जीवन हल्लिरहँदा प्रकृति भने समानता उन्मुख बनिरहँदा सोच र जीवन भने धेरै पर पुगिसकेको छ ।


समय र भाग्यलाई दोष दिनेहरुको बग्रेल्ती भीडमा हराउँदा पृथकता खोज्ने सोच पनि बन्धक बन्दो रहेछ । पलको आत्माबोधले छटपटिदा यही भाग्य र समयलाई दुत्कार्ने सोच हावी बनिदियो । त्यही पुरानै सोच र शैलीमा हिजो बित्यो, आज बित्दैछ र भोलि बित्ने छ ।

Advertisement


विश्वासको सम्बन्ध नै धर्मराए जस्तो । सम्बन्ध भित्र पनि महत्वकांक्षाको अविरल पहाड । देखिने र भोगिनेमात्र जीवनको परिभाषा हो भन्ने सोचले अंग अंगमा घर गरिदियो । बुझाईमा मात्र सत्यता खोज्ने शैली र सोच नै दास मानसिकताको उपज बनिदियो । अहंमताको पहाडमा चुचुरोमा पुगेको भान हुने सोचले अस्तित्वविहीन जीवनयात्राको निरन्तरता बनिदियो । लाग्दथ्यो, म नै सर्वेसर्वा, योग्य र सफल हुँ भन्ने महत्वकांक्षा सर्वत्र भईदिँदा वास्तविक जीवनको अर्थ छाँयामा परिदियो ।


प्राप्तिमा मात्र सबल जीवन सोच्नेहरुको आम जीवनमा प्रकृति र पलको आत्मानुभूतिको आभास नै भएन । सत्यको सीमालाई बुझ्ने कोशिश नहुँदा आत्मरतिमा रम्ने रवैया आम बनिदियो । यही आम रवैया भित्रको जीवनमा हराएको जीवनबाट जलिरहँदा त्यहाँबाट सोचिने सोचले जीवन बोध हुने रहेछ । साँच्चै सोचको विविधताभित्र समय र पलको फरक फरक रसस्वदान र परिभाषाहरु भाष्य बने । त्यही उत्ताउलो पललाई नियन्त्रण गर्न नसक्दा आफैंभित्रका रवैयाहरु नै सर्वेसर्वा बने । त्यही रवैयाभित्र बगिदिदाँ समयको परिवर्तनशीलाको हेक्का नहुँदा जीवन नै बोझिलो बनिदियो ।

Advertisement


पलमा पनि यति धेरै असमानता, क्षणिक आवेगक निर्णयहरु जीवनका नर्क रहेछन् । आवेगका निर्णयहरु सच्चाउन त्यति सम्भव नहुने रहेछ, जति सहज तरिकाले सोचिन्छ । पटक पटकका वाचा, वन्धनहरु वायुको कम्पन सँगै धुमिल बने । हिजोको त्यही समयमा वगेको वायु र आजको वायुमा धेरै असमानता रहेछ, मात्रामा असमान विविधता रहेछ । भाग्यलाई दोष दिने संस्कारमा त्यसैको अनुयायी बन्न विवश वनेको छौ । सोचको एकाग्रता पनि असम्भव नै रहेछ, क्यारे । प्रत्येक हावाको कण र मात्राले नै छताछुल्ल पारिदिने । सोचको पलमा पनि असिमित असमानता । त्यही असमानताभित्र समानता खोज्ने हाम्रा सोचहरु दास मानसिकताका घोतक रहेछन् ।


साँच्चै प्रतिविम्बिमा यति धेरै अत्यास आइसकेछ । समयको गतिसँगै शरीरका अंगहरु पनि गुटमुटिसकेछन । लाग्दथ्यो, सबै सत्यता म मात्र हुँ । यही रवैयाले डेरा जमाउन खोजेता पनि बिस्तारै बिस्तारै धुमिल हुँदै गईरहेको पत्तो नै भएन । पीडा र प्रश्नका गतिहरु पनि लुक्न र छेकिन वाध्य बनेका छन् । विस्तारै हिजोका सोचहरु मस्तिष्कमा कहिल्यै नआऊन जस्तो । जसले अनेकन प्रश्नले पाइलालाई नै बन्धक बनाईदिन्छन् ।


जीवन नै स्खलित बनेपछि सोचहरु स्वभाविक रुपमा स्खलित हुने रहेछन् । प्रकृतिको नियमनको महत्वपूर्ण पाटो नै यही रहेछ । यही पाटोलाई केही भएता पनि आत्मसात् गर्न सकेका भए जीवनमा यतिधेरै पीडाका पहाड ठड्डिने थिएनन् । खुसी र हाँसोको पनि आफ्नै सीमा रहेछ । जुन अस्थिर हुने रहेछ ।


शान्ति र शीतलता खोज्ने अनेकन दुश्प्रयास अन्ततः मनोवादमा अल्झिन वाध्य बनेका छन् । अनेकन पीडा र असन्तुष्टि खोज्ने प्रयास अन्तत्वगोत्व आफैंभित्र सल्बलाईरहेका छन् । विचार पनि विस्तारै खिया लाग्दै गर्दा विगतका घटना क्रम खुला नयनमा पनि घुमिरहे । दिनको उज्यालो भन्दा पनि रातको अन्धकार नै प्यारो ! अहिलेको मान्छेभन्दा पनि विगतको नै राम्रो लाग्छ रे ! सायद अहिलेको मान्छेमा अनेकन जालझेल, तिकडम, स्वार्थताको खानी भएर होला । आभासका अनुभूतिको छुट्टै आनन्द हुने रहेछ । अनेकन समस्याभित्र पनि उत्सुकता र मिठास ।


कल्पनाको अद्भुत परिकल्पनाले मन्त्रमुग्धको क्षणिकतामा केही पल भएता पनि हरायो होला । चाहनाका अविश्रान्त सोचहरु दिनको उज्यालोसँगै पोल्यो होला, कहि न कहि गल्तीको महसुसले आत्मा रोयो होला । फेरि पनि निरन्तरताको श्रृखलाको यात्रु बन्नेको विकल्प नै नहोला ।


जीवनको दैनिकीलाई आत्मासात गर्नु नै जीवनको पयार्य रहेछ । जहाँ सृष्टिको अविरलता झल्किन्छ । सोचमा आएको विविधता पनि जीवनमा गरिएको मीठो भुलको परिचायक रहेछ । जुन विगत र भविश्य हुँदै अनन्त कालसम्म चलिरहन्छ । असीमित चाहनाको सही व्यवस्थापन नहुँदा महत्वकांक्षाको भारीले थिचिदै गर्दा सोच पनि धुमिल हुनुपर्ने र वाध्यातामा चल्नुपर्ने रहेछ । वाध्यताको जीवन धेरै महत्वकांक्षाको उपज रहेछ ।


बगेको नदीमा पानीको वहावमा पनि अनेकन उतारचढाव हुन्छन् । समान देख्ने सोच भनेको अल्प सोच रहेछ । अनेकन घुम्तीमा ठोकिएका जीवनका पलहरुबीच पानीको वहावमा असमानता देख्ने धृष्टता पलाएको छ । यही धृष्टता क्षितिजमा पुगेर विलिन हुनेछ ।

तपाईको प्रतिक्रिया