सम्पादकीयः बिजुली पूर्वाधार चुस्त पारौं

२०७३ सालदेखियता बिजुलीको लोडसेडिङ हटेको हो । त्यसको मतलब विद्युत प्राधिकरणले तालिका नै बनाएर बिजुली काट्न छोडेको भनेर उपभोक्ताले बुझेका छन् । लोडसेडिङ भनेकोचाहिँ बिजुलीको भार मिलाउने कुरा थियो । प्राधिकरणको कार्यकारी निर्देशकमा आएपछि कुलमान घिसिङले कतै धेरै र कतै थोरै गरी असन्तुलित भारको व्यवस्थालाई मिलाएर लोडसेडिङ अन्त्य गरेका थिए । तर, केही समययता दिनमा पटकपटक बिजुली जाने गरेको छ ।
उपभोक्ताहरु यसलाई अघोषित लोडसेडिङ भन्छन् । प्राधिकरणले चाहिँ प्राविधिक भाषा नै बोल्छ र यो लोडसेडिङ नभएको बताउँछ । तथ्य जेसुकै होस्, सत्य के हो भने अचेल दिनहुँ बिजुली जानेआउने गरिरहन्छ, छिनछिनमा झ्याप्पझ्याप्प भइरहन्छ । त्यसबाट उपभोक्ता हैरान छन् ।
खासमा अचेल धेरै बत्ती जानुको मूल कारण सिस्टममा समस्या आएको भनेर प्राधिकरणका अधिकारीहरु बताउँछन् । उपभोक्तालाई चाहिँ त्यस्तो सिस्टम के हो र किन बिग्रियो भन्ने मतलबको कुरा होइन । सिस्टम चुस्त हुनुपर्यो र बिजुली नियमित आउनुपर्यो भन्नेमात्रै हो उपभोक्ताको चिन्ता र चासो । सिस्टम मिलाउने र सधैं बिजुली दिने दायित्व प्राधिकरणको हो । मुलुकमा अहिले झन्डै ३ हजार मेगावाट बिजुली उत्पादन भइरहेको छ ।
सबै बिजुली खपत हुन सकेको छैन । झनै भारततिर पनि निर्यात गरिएको छ । तर नेपाली जनता भने अन्धकारमा बस्न बाध्य हुनु सुहाउँदो कुरा होइन । भारत बिजुली निर्यात भएर बिजुली गइरहेको होइन, तर देशभित्रकै प्रसारण लाइन र अरु प्रणालीमा सुधार नगर्दा हैरानी व्यहोर्नुपरेको हो ।
जसै लोडसेडिङ अन्त्य भयो, सरकारले बिजुलीपट्टि आँखा चिम्लियो । कानमा तेल हालेर बस्न थाल्यो । तर प्रत्येक दिनजसो उपभोक्ता बढेका छन् । खपत र माग बढेको छ । तर त्यसअनुसार विद्युतका संरचनामा सुधार र स्तरोन्नति तथा थपथाप भएको छैन । हो, सरकारको त्यही चालाले गर्दा पुरानै ट्रान्सफर्मरहरु लोड धान्न नसकेर पड्किरहन्छन् । बिग्रिरहन्छन् ।
पुराना र कमसल तथा कम क्षमताका तारहरु फेर्नपट्टि ध्यान नपुर्याउँदा पनि बिजुली काटिरहन्छन् । प्रणालीमा समस्या आइरहन्छ । अर्काेतिर आवश्यक मात्रामा सबस्टेसनहरु पनि निर्माण हुन सकेको छैन । यी सबै समस्याको हल खोज्नतिर बेलामा ध्यान गएन भने प्राधिकरणलेले निकट भविष्यमै घोषित लोडसेडिङ गर्न बेर छैन । त्यस्तो दिन नआओस् भनेर अहिल्यैदेखि सिस्टम र संरचना सुधार्ने काम गर्न जरुरी छ ।
तपाईको प्रतिक्रिया