नियात्रा

हेटौँडा भ्रमणले दिलाएका यादहरु

ताेयानाथ लामिछाने २०८० साउन २१ गते १२:२९

मिति २०८० जेठको १३ गते हेटौँडामा नेपाल निवृत्त शिक्षक समाजको वागमती प्रदेश स्तरीय अधिवेशनको कार्यक्रम राखिएको थियो । सो संस्थाको केन्द्रीय कार्यसमितिका उपाध्यक्ष तथा वागमती प्रदेश संयोजक श्रीचूडामणि देवकोटाले मलाई सो कार्यक्रममा सहभागी हुनका लागि आमन्त्रण गर्नु भएको थियो । पोखराबाट हेटौँडाको १३ गतेको कार्यक्रममा सहभागी हुनका लागि १२ गते नै प्रस्थान गर्नु पर्ने भएकाले म १२ गते बिहान सबेरै पोखराबाट बस यात्रा प्रारम्भ गरेँ ।

Advertisement

हेटौँडामा मेरो बास बस्ने व्यवस्थापनको जिम्मा नेपाल निवृत्त शिक्षक समाजका सचिव श्रीअभिमन्यु गौतमज्यूले लिनु भएकाले मैले त्यहाँ पुगेर उहाँलाई फोन गरेँ। उहाँले ‘आँवलाटोल, आँवलटोल’ भनेको सुने । बसपार्कमा भेट भएका मानिससँग सोधेँ ‘आँवलटोल कता पर्छ होला’ भनेर । त्यहाँ भेटिएका सबैबाट ‘अमलाटोल त थाहा छ, तर आँवालटोल भन्ने थाहा छैन’ भन्ने जवाफ पाएँ । ‘आँवलाटोल भन्ने त कसैलाई पनि थाहा भएन अभिमन्यु सर” भनेर मैले बताएँ । उहाँले मलाई लिन भनेर एकजना साथि पठाउने कुरा गर्नु भयो ।

चञ्चल मन लिएर म यता उति टहलिरहेको थिएँ । मोटर साइकल चढेका एकजना आएर मेरो आडैमा रोकिएर ‘तपाईँ नै हो ?’ भनेर सोध्नु भयो । मैले पनि उहाँको अनुहारको भाव, बोलीको शैलीलाई आधार मानेर अनुमानको भरमा ‘हो ।’ भन्दिएँ । हुन पनि मलाई लिन आउनु भएको मित्र उहाँ नै हुनु हुँदो रहेछ । उहाँले मलाई साथमा लिएर सम्बन्धित ठाउँमा पुर्‍याउनु भयो । त्यहाँ पुगेर मलाई थाहा लाग्यो कि वास्तवमा उहाँले ‘अव्वलटोल’ भन्नु पर्नेमा ‘आँवलटोल’ भन्नु हुँदोरहेछ, त्यसैले अरु मान्छेलाई बुझ्न गाह्रो परेको रहेछ ।


मकवानपुरको जिल्ला कार्यसमितिले एउटा कोठा भाडामा लिएर आफ्नै कार्यालयको व्यवस्था गरेको रहेछ । म त्यहाँ पुग्दा शिक्षक मित्रहरु भोलिपल्टको कार्यक्रमको तयारीमा जुटिरहनु भएको थियो । कार्यालय सुव्यवस्थित तरिकाले सञ्चालन भएको पाएँ ।


पूर्व निर्धारित कार्यक्रम अनुसार १३ गतेको कार्यक्रम हेटौँडा बजारको रोयल पार्टी प्यालेसमा सञ्चालन भएको थियो । सो कार्यक्रममा केन्द्रीय अध्यक्ष ध्रुवराज अर्याल, म लगायतका अन्य केन्द्रीय उपाध्यक्षहरु– मीरा प्रधान, दुर्गाप्रसाद दाहाल, चूडामणि देवकोटा र गेहेन्द्रराज बिष्ट, सल्लाहकारहरु– रमाकान्त सापकोटा र लक्ष्मीकान्त शर्मा समेतको उपस्थिति रहेको थियो । वागमती प्रदेश भित्रका जिल्लाका अध्यक्ष र सचिवहरुको उपस्थिति अनिवार्य भनिएको थियो । उक्त दिनको मुख्य कार्यक्रम भनेको वागमती प्रदेशको अधिवेशन सम्पन्न गर्नु रहेको थियो । सो काम सर्वसम्मतिबाट टुंगाे लागेर एउटा समिति गठन भएको छ ।

Advertisement

धान–खेतको बीचमा मानिस पस्यो भने अग्लो धानको नलले मानिसलाई नै डुबाउँदथ्यो । होचा र सामान्य कदका मान्छे त धान–खेतको बीचमा नै हराउँदथे


उक्त दिनको कार्यक्रम सकिए पछि मेरो काम पनि सकिएको थियो । तर त्यतिबेला मलाई घर फर्केर आाउन भने पर्याप्त समय रहेको थिएन । अभिमन्यु सरले मलाई सो दिन आफ्नै निवासमा बस्न आग्रह गर्नुभयो । उहाँको सदासयताका कारण म उहाँकै घरमा बसेँ । अभिमन्यु सरले गर्नु भएको बसाइको प्रबन्धका लागि, उहाँका सुपुत्र सुनिल गौतमले त्यहाँको स्थानीय रेडियो कार्यक्रममा प्रसारण गर्न मसँग लिनु भएको अन्तर्वार्ताका लागि र आतिथ्यपूर्ण भोजन प्रबन्धका लागि सुनिल पत्नी बिना अधिकारी गौतमले म प्रति दर्शाउनु भएको सद्भावका लागि म उहाँहरु सबैप्रति आभार प्रकट गर्दछु ।


१४ गते बिहान सबेरै म हेटौँडाबाट मेरो गृहनगर पोखरातर्फ फर्कन लागेँ । बस पार्क सम्म पुर्‍याउन भनेर अभिमन्यु गौतम पनि मसँगै हिँड्नु भयो । उहाँको घरमा बस्दा मैले पोखराका रामरमण न्यौपाने पनि यहीँ हेटौँडामा हुनुभएको जानकारी पाएको कुरा बताएँ । अभिमन्युले आफुले रामरमणलाई चिनेको र उहाँसँग भेट गराइदिने कुरा गर्नुभयो । हेटौँडा नगरपालिका वडा नं. ५ मा पर्ने अब्बलटोलबाट कान्तिराजपथ हुँदै हेटौँडाको बसपार्क तिर आउँदै थियौँ, बाटोमा एउटा लामो शटरका लश्कर र त्यसकै बगलमा रहेको अग्लो घर देखाएर रामरमणको शटर र घर तिनै भएको कुरा बताउनुभयो । मैले उहाँको घरमा पस्न प्रयत्न गरेँ । तर, अभिमन्यु सरले बिहानको त्यति सबेरै घरका सबै मानिसहरु उठेका छैनन् होला, बरु रामरमण न्यौपानेज्यू प्रातःकालीन परिभ्रमणमा हिँडिसक्नुभयो होला भन्ने अनुमान लगाउनु भयो ।


मौका विशेषले यति टाढा आइसकेको हुनाले र वनमाली सुवेदी सरले मलाई उहाँको घरमा पस्न वा शम्भव भए एक रात बस्न भन्नुभएकाले वनमाली सरलाई पनि भेटेर जानपाए हुन्थ्यो भन्ने ठानेर उहाँको घर पनि यतै हो कि भनेर सोधेँ । उहाँले सुवेदी सरको घर अलि पर पर्ने कुरा बताउनु भयो । त्यसैले उहाँहरुका घरमा नपसीकनै हामीले आफ्नो बाटो ततायौँ । हामी गतिमान भइरहेका थियौँ, हामीभन्दा केही अगाडि बाटोमा एउटा पुरुषको अग्लो शारीरिक बनावट देखियो ।

अभिमन्यु गौतमले, ‘ल, रघुरमणका बुवा त मर्णिङ वाकमा हिँडिसक्नु भ’को र’छ’ भन्नु भयो । उहाँका ज्येष्ठ सुपुत्रको नाम रघुरमण रहेछ भन्ने मलाई थाहा भयो । हामीले आफ्नो गतिलाई केही तिब्रता दियौँ । त्यस पछि त उहाँसँग हाम्रो भेट भइहाल्यो । नजिकै पुगेर मैले उहाँलाई अभिवादन टक्र्याएँ । उहाँले मलाई चिन्न सक्ने कुरा नै थिएन किनकि म धेरै वर्ष पहिले मात्र उहाँको घरमा गएको थिएँ । उहाँ अन्यमनस्क भएर मेरो अनुहार हेरिराख्नु भयो । उहाँको भाव बुझेर मैले उहाँ बारा जिल्लाको भलुवाईखोरमा हुँदाको समयमा उहाँको घरमा गएको कुरा बताएँ ।


मैले २०३३ या ३४ सालतिर त्यहाँ गएको थिएँ कि भनेर कुरा राखेँ । प्रतित्युरमा उहाँले आफू त्यहाँ २०३५ सालमा गएको कुरा बताउनुभयो । त्यसपछि मैले म त्यहाँ ३७ या ३८ सालतिर गएको हुनसक्ने अनुमान लगाएँ । त्यसपछि मैले मेरो मावली बेगनास भएको र मामालाई लिएर उहाँकोमा गएको बताउँदै गर्दा थाहा लाग्यो हाम्री माइली हजुरआमा त उहाँकी सानिमा हुनुहुँदो रहेछ । यसरी हाम्रा मामा उहाँका आफन्त भाइ हुनुहुँदो रहेछ र पो मामाले उहाँकोमा जाने प्रयत्न गर्नु भएको रहेछ ।


मैले रामरमण न्यौपानेज्यूलाई तत्कालिन राष्ट्रीय पञ्चायतका सदस्य देवीरमण न्यौपानेका सहोदर भाइका नाताले मात्र चिनेको थिएँ । कास्की जिल्लाका पञ्चहरु मध्ये देवीरमण न्यौपाने एक इमान्दार कार्यकर्ता हुनुहन्छ र त्यसैको पुरस्कार स्वरुप उहाँलाई राष्ट्रिय पञ्चायतमा मनोनित गरिएको हो भन्ने कुरा मैले सुन्दै आएको थिएँ ।


त्यहाँ हजुरको ठुलो राइस मिल थियो । मिलमा काम गर्ने मानिसहरु, खेतबारीमा काम गर्ने धेरै मानिसहरु देखेथेँ । हजुरको घरमा निरन्तर पाहुना लागिरहने रहेछन् । मानिसहरु आएका छन्, खाना खाएका छन् अनि गएका छन् । पाहुनाहरुका लागि खाना पकाइरहनु पर्ने कारणले हजुरको घरको चुलाको आगो अखण्ड रुपमा बलिरहेको देखेको थिएँ । मैले यसो भनिरहँदा उहाँ हल्का हल्का मुस्काराउनु भयो ।

त्यसपछि मलाई त्यस दिन उहाँकै घरमा बस्न प्रस्ताव राख्नुभयो । मैले धेरै वर्ष पहिले उहाँमा पाएको उदारभाव अद्यापि यथावत रहेको अनुभुति गरेँ । मैले उहाँको सद्भावका निम्ति धन्यवाद ज्ञापन गरेँ । मेरो निर्धारित समयतालिका अनुसार म पोखरा फर्कनु पर्ने कुरा राखेर उहाँलाई अभिवादन गरेर आफ्नो गन्तब्य तिर पाइला अघि बढाएँँ । मलाई बसपार्कमा पुर्‍याएर अभिमन्यु सर पनि फर्कनुभयो ।


यसरी रामरमणसँग भेट भएपछि एक एक गरेर मैले विगतका कुराहरु सम्झन थालेँ । अहिले मलाई हामी कहाँबाट बस चढ्यौँ भन्ने कुराको पनि स्मरण छैन । अहिले म सम्झन्छु कि हामी पूर्व–पश्चिम साजमार्गको निचगढ भन्ने ठाउँमा झर्‍यौँ, जुन कुरा मामालाई थाहा रहेछ । निचगढमा झरेपछि हामी दक्षिण तिर लाग्यौँ । राजमार्ग बाट दक्षिण लागेपछि चारकोशे झाडीको सिसौको जंगलको बीचबाट हिँडेको सम्झना छ, मलाई । त्यहाँको त्यतिबेलाको अवस्था हेर्दा केही वर्ष अगाडि त्यो जंगल फडानी गरेर वृक्षारोपण गरिएको हो भन्ने अनुमान लगाउन सकिन्थ्यो । जंगल बीचको त्यो बाटोमा आकल झुकल गोरुगाढा चलेका देखिन्थे । अन्यथा अधिकांश मानिसहरु पैदलै हिँडिरहेका भेटिन्थे ।


त्यो घना जंगलको बीचमा भेटिने मानिसहरु एक अर्का सँग परिचय गर्नुको साटो एकअर्का बाट टाढा टाढा हुन खोजेको आभाश पाइन्थ्यो । एउटा नेपाली उखान ‘जोगी देखि भैँसी डरा र भैँसी देखी जोगी डरा’ भन्ने जस्तो हामीलाई देखेर अरु मानिसहरु डराउने रहेछन् भने अरुलाई देखेर हामी डराउनु पर्दो रहेछ किनकि त्यतिबेला त्यो ठाउँमा चोरी डकैतीका घटनाहरु बारम्बार हुने गर्दा रहेछन् ।

यस्तो कुरा अप्रत्यशित रुपले माझठाना सेराका कुलप्रसाद कँडेलका छोरा त्यहाँ भेट भएर हामीलाई बताएका थिए । उनले बताए अनुसार त्यतिबेलाका जनप्रतिनिधि भन्ने मानिसहरु नै यस्तो काममा संलग्न हुने गर्दथे रे । त्यसैले यहाँका मानिसहरु जंगलको बाटोमा आफूलाई असुरक्षित महसुस गरी एकअर्का सँग बोलाचाली नै नगरी हिँड्ने चलन भएको रहेछ ।


मलाई हामी त्यहाँ एक रात मात्र बिताएको सम्झना छ । हिँडने बेलामा त्यहाँ भेट भएका मानिसहरु सबैले यहाँ जति राम्रो ठाउँ अन्यत्र छैन । त्यसैले तपाईँहरु यहीँ नै आउनु होला है भनेर हामीलाई विदाइ गरेका थिए ।
भोलिपल्ट हामी सायद त्यहीँ खाना खाएर नवलपरासीको वर्दघाट तिर लाग्यौँ । हामी त्यहाँ शायद घाम छँदै पुगेका थियौँ । त्यहाँ वर्दघाटमा सपौँदेका हजुरबा अथवा मामाका सानाबा हुनुहुन्थ्यो ।

राजमार्गको माथिल्लो भागको पातलो वस्तीमा उहाँको घर रहेछ । यत्रतत्र सालका रुखका अजंगका ठुटाहरु देखिन्थे । यसबाट यहाँको वस्ती भर्खरै भर्खरै मात्र बसालिएको थियो भनेर अनुमान सकिन्थ्यो । त्यहाँ पुगे पछि मामा र हजुरबाका बीचमा के कति कुरा भए भनेर मैले सम्झन सक्दिन । जे होस् त्यहाँ भेट भएका सबै नै मानिसहरुले यहाँ जति राम्रो ठाउँ अन्यत्र छैन । त्यसैले तपाईँ यहीँ आउनु पर्छ नि भनेको कुरा चाहीँ मलाई अद्यापि याद भइ नै राखेको छ ।


एक रात वर्दघाटमा बिताएर हामी घर फर्कने मेसो मेलोमा लाग्यौँ । तर, कुराकानीकै सिलसिलामा मामाले नवलपरासीको नवलपुरमा बसाइँ सराइँ गर्न पुग्नु भएका हाम्रा धनसारे कान्छा दाइलाई पनि भेट्ने र त्यहाँको बस्तुस्थितिका बारेमा बुझ्ने ईच्छा ब्यक्त गर्नु भयो । उहाँको सो ईच्छा बमोजिम त्यस दिन हामी नवलपुर तिर लाग्योँ । बाराको भलुवाई खोरको घरको याद भएन वर्दघाट र नवलपुरमा उहाँहरुका घर दुई तले थिए भने बीम र पिलर (अथवा दलिन र खामा) त सालका अजंगका सिंगै रुख पो थिए त ।

सालका ठूला रुखलाई खामाका रुपमा जमिनमा गाडेर तिनलाई बीचमा कपेर सालको सिंगाे रुखलाई नै दलिन बनाएर बनाइएका घर थिए । सालको काठको अभाव खेपेको म त्यहाँ सहज रुपमा प्रयोग भएका सालका ठूला रुख देखेर आश्चर्यमा परेको थिएँ । अन्यत्रको बारेमा मलाई त्यति साह्रो सम्झना छैन, तर वन जंगलमा पाइने भक्क्याम्लो भन्ने फलका झुत्ता जस्तै नवलपुरका खेतमा लहलह फलेको धान देखेर मलाई सारै लोभ लागेको थियो ।


धान–खेतको बीचमा मानिस पस्यो भने अग्लो धानको नलले मानिसलाई नै डुबाउँदथ्यो । होचा र सामान्य कदका मान्छे त धान–खेतको बीचमा नै हराउँदथे । त्यहाँको खेतमा महिनाको एक दिन परेमा त्यो महिना भर नै खेतमा पानी रहन सक्छ भनेर मलाई धन्सारे कान्छा दाइले बताउनु भएको थियो । त्यहाँको पिउने पानीको स्वाद पनि अरु ठाउँको भन्दा मिठो छ भन्नु भएको थियो थियो । किनभने त्यहाँ पाइने पानी उत्तरतर्फ देखिने पहाडबाट आउँदो रहेछ । त्यहाँको अर्को विशेषता भनेको उत्तर तर्फ सहजै हरिया पहाडी श्रृंखला देख्न पाइने रहेछ । जलवायु पनि झण्डै समशीतोष्ण अनुभव गर्न सकिन्थ्यो ।


एक रात त्यहाँ बिताए पछि त्यसको भोलिपल्ट मामाले नवलपुरकै प्रगतिनगरमा पनि पस्ने योजना सुनाउनु भयो । त्यहाँ बेगनासकै मामाका दाजुभाइ मध्ये एकजना भएको कुरा बताउनु भएको थियो । उहाँकै ईच्छा अनुसार चौथो दिन हामी प्रगतिनगरमा ओर्लियौँ । मामाले एकजनाको घरमा लिएर जानु भयो । तर, संयोगवश त्यो बेलामा त्यस घरको घरबेटी फेला पर्नु भएन । आजको जस्तो फोन र मोबाइलको उपलब्धता नभएकाले ती ब्यक्तिलाई खोजतलास गर्न सक्ने कुरा भएन । दिउँसोको छक्कालको समय भएकाले घर वरपरका छिमेकी पनि कोही कतै फेला परेनन् । निरुपाय भएका हामी त्यस घर वरपर रहेको जग्गालाई सामान्य अवलोकन गरेर पोखरा तिरको बाटो तताउन राजमार्ग तिरै लाग्यौँ ।


वेगनास तालको काखमा अवस्थित पहाडको शीतल बस्ती र उकाली ओरालीमा बसेर ‘येनकेन प्रकारेण एक मानेन गुजस्तरम्’ भन्ने एउटा प्रचलित नेपाली उखान अनुसार जीवन पद्धति बिताउनु भएका हाम्रा मामाले गाउँघरलाई छाडेर तराईको फराकिलो फाँटमा धेरै धान फलाएर धानको ठुलो रास हेर्ने आकांक्षा लिएर तराई तिर हामफाल्नु भएको थियो ।


त्यस समयमा लाहुरे हुने चलन बढी थियो । पढेलेखेका मान्छेको अभाव जस्तै थियो । मैले त्यति बेला सम्ममा सीएड उत्तीर्ण गरिसकेको रहेछु भन्ने अनुमान लगाउँछु । जसरी एउटा सानो बच्चालाई आफ्नो बाबु सर्वज्ञ लाग्न सक्छ, त्यसरी नै हाम्रा मामालाई पनि मेरो भाञ्जा सर्वज्ञ छ भन्ने लागेको थियो होला शायद । नेपाल टेलिभिजनको एउटा हास्यब्यंग्य सिरियल कार्यक्रममा जितु नेपालले ‘यत्रो एसएलसी गरेको मुन्द्रे’ भनेर आपूmलाई समाजको अवधारणा अभिब्यक्त गर्ने प्रयत्न गर्छन् त्यसरी नै हाम्रा मामालाई पनि म प्रति त्यस्तै अवधाारणा भएको हुन सक्थ्यो, गाउँघरको त्यस परिवेशमा । म भने कत्रो व्यवहारको विज्ञ थिएँ र नै । जे जस्तो भए पनि मामाको साथ लागेर हिँडेकै थिएँ ।


तराईका यति ठाउँको प्रत्यक्ष अवलोकन भ्रमण गरिसकेर घर फर्कने समयमा मामाले आफ्नो अनुभव मलाई सुनाउन थाल्नुभयो । बारा जिल्लाको भलुवाईखोरमा हामी गएकै रातमा हामी केही गफगाफ गर्दै थियौँ । हामी बसेको ठाउँ देखि पूर्वतर्फबाट केही खलबलको आवाज सुनिन थाल्यो । केही समयमा नै त्यो आवाज चर्को र घनिभुत हुँदै गयो । खलबलीको आवाज सँगसँगै मानिसहरुको भीड बढ्दै गयो । गालिगलौजका अपशब्दहरु सुनिन थाले । एकै छिनमा पूर्व तिरबाट ह्वारह्वारती बल्दै गरेका अगुल्टाको वर्षा भयो । अर्को समूह पनि के कम थियो र ! प्रतिरोध स्वरुप अगुल्टा वर्षन थाले ।


हाम्रा पौराणिक कथाहरुमा वर्णन गरिएका देवासुर संग्राम जस्ता युद्ध झल्काउने दृश्य देखियो । त्यहाँ आजको जस्तो बिजुली बत्तीको व्यवस्था थिएन । त्यसैले रातमा पुरै अमिलो पोखेको जस्तो अन्धकार थियो । भागदौड गर्दा खाल्टामा परे पनि थाहा नलाग्ने अवस्था थियो । यो घटनाका प्रत्यक्षदर्शी हाम्रा मामाले ‘राम ! राम ! यस्तो खतरा ठाम्मा हामी के बस्न सकिन्त्यो नि ! एक रात बाँचे अर्को रात कसरी बाँच्ने भन्ने जस्तो ठाम र’च । यस्तो खतरा ठाम्मा आइमाई केट्केटीको जिउ जोगााउन पनि मुस्किल पो र’च । मुठी जत्रा छोरछोरी लिएर यस्तो ठाम्मा त आउन सकिन्न बाबु,’ भन्नुभयो । त्यसैले शीघ्रातिशिघ्र त्यस ठाउँलाई छाडेर अन्यत्र लाग्नु उचित ठानेर भोलिपल्ट त्यहाँबाट वर्दघाट तिर हिँडिएको थियो ।


अनि त्यसरी नै मामाले वर्दघाटमा सपौँदे हजुरबाको घरमा बस्दाको घटना सम्झेर भन्नु भयोे, ‘बाबा ! सपौँदे स्यानाबाले ढाडमा नाम्लो बाँधेर सुत्नु हुँदो र’च ।’ माथिल्लो तला खुला भएकाले सुत्ने बेलामा आफ्नो ढाडमा नाम्लो बाध्नु भएको हामीले देखेका थियौँ र त्यसको रहस्य बारेमा माममाले उहाँसँग सोधपुछ गर्नु भएको थियो । सुत्ने बेलामा आफ्नो ढाडमा नाम्लो बाध्नुको रहस्यका बारेमा हजुरबाले बताउनु भएको थियो । त्यो ठाउँ भारतको सिमाना बाट नजिक पर्दथ्यो । राति राति भारत तिरबाट डाँकाहरु त्यहाँका वस्तीमा पसेर गोरु चोरेर लैजाने गर्दछन् ।

जब मानिसहरु सुतेका हुन्छन्, त्यतिबेला लुटेराहरु आएर बस्तुभाउ लुटेर लान्छन् भन्ने कुराको उहाँले बेलिबिस्तार गर्नु भएको थियो । मामाले भन्नु भयो, ‘रातमा लुट्न आउने मुन्छे आ’को थाहा पाएमा आफु पनि उठ्न पर्‍यो । लुट्न आउनेले हतियारै पनि लिएर आउन सक्चन् । आफ्नो सम्पत्ति जोगाउन जस्लाई’नि मन लाउँच । अनि सकेसम्म चोरलाई लखेट्न पर्यास अर्नै पर्‍यो । एकजना मात्र भए त तै । लुट्न आउने दलबल भ’र आए भने हाम्रो के उपाय हुन्च र ! बस्तुभाउ जोगाउन खोज्दा आफ्नै ज्यान जाने डर ।’


त्यसपछि मामाले नवलपुरको बारेमा आफ्नो धारणा प्रकट गर्नु हुँर्दै भन्नुभयो, ‘बाटामा हिँड्दा चारैतिर सर्पैसर्प । एकदिन होइन दुइै दिन होइन । यसो छ्यास्स कुल्चिन पुगियो भने ज्यानै जाने खतरा । रात बिरात हिँडिराख्न पर्च । मुठी जत्रा केटाकेटी छन् । तिन्लाई केही भइहाल्यो म बाँचेको के सार भो र ! यस्तो धरापमा बस्न भन्दा त वेगनासकै शितलो हावा र चिसो पानी खा’र मात्रै बाँचम्ला नि बरु । कतै चोरको बिगबिगी, कतै सर्पको बिगबिगी, कतै टोलटोलको कलझगडा । खपि नसक्नु गर्मी । ओहो ! के के न होला भनेको त यस्ताो डरलाग्दो थिति र’च र पो जाँ गए’नि ह्रर्यइँ राम्रो छ,, ह्रर्यइँ आउन पर्च भन्दा र’चन् । आफ्ना मुन्छेको बहुमत पुर्‍याउन पाए आफ्नो बल पुग्च भनेर ‘यतै आउनोस्, यतै आउनोस्’ भन्दा रचन् । पहाडको त्यस्तो शितल ठाम्मा बसेका हामी यस्तो आगाको भुम्रो जस्तो गर्मी ठाम्मा बस्न सकिन्न भो ।’ भनेर टक्टकिन थाल्नु भयो ।


पहाडमा कहिले पाक्न लागेको बालीलाई असिनाले ढुटो पिठो पारेर “दुःख गर्‍यो गर्‍यो, खाने बेलामा दैवले हर्‍यो” भनेजस्तो गरेर अनिकाल पार्ने त कहिले खडेरीले बेलामा रोपाइँ गर्न नपाएर अन्न उब्जाउन नसकिने जस्ता समस्याले सताउने अवस्थाबाट पार पाउने सोच राख्नु भएको थियो । उहाँले भन्ने गर्नु हुन्थ्यो, ‘हण्डर गरेर पनि पेटभरी खान नपाइने । दिन रात पटुकाले पेट कसेर हिँडनु पर्ने ।’


वेगनास तालको शिरमा रहेको सुन्दर वस्तीलाई परित्याग गरेर फराकिलो फाँटको सपना बोकेर हिँड्नु भएका हाम्रा मामा यिनै कारणहरुले गर्दा तराई झर्न सक्नु भएन । ज्योतिष शास्त्रमा यात्रा गर्नु पूर्व साइत जुराउने भनिन्छ । हाम्रा मामाले कुन्नि हेराएर यात्रारम्भ गर्नु भयो कि त्यसै मलाई थाहा भएन । त्यो कुरा उहाँलाई थाहा होला । उहाँको महत्वाकांक्षा अनुरुपको उद्धेश्य पूरा हुन पाएन । आजभोलि उहाँले के ठान्नु भएको छ कुन्नि ! मलाई भने उहाँको त्यति बेलाको उद्धेश्य पूरा हुन नपाएकोमा राम्रै लागेको छ ।

तपाईको प्रतिक्रिया