विन्ध्यवासिनी मन्दिरमा कला कार्यशाला

समाधान संवाददाता २०८० साउन २१ गते १२:४३

पोखरा ।
पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक ३ महिनाको तेस्रो शनिबार सञ्चालन गर्दै आएको समता कला कार्यशालाको ६१ औं शृंखला सिर्जनात्मक कला निर्माण गरी शनिबार पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा भएको छ । कार्यशालामा कलाकार दुर्गा बराल ‘वात्स्यायन’ले तत्स्थानीय चित्रांकन गर्नु चुनौतीपूर्ण भए पनि त्यसलाई सफलतापूर्वक सम्पन्न गर्नु ठूलो कुरा भएको बताए ।


३० दशकदेखि सुरु भएको तत्स्थानीय चित्रांकनले नै पोखरालाई पानी रङको सहरका रुपमा चिनाएको उनको भनाइ छ । प्रज्ञा परिषद सदस्य तथा प्ररम्परागत सिल्पकला विभाग निवर्तमान प्रमुख बुद्घि गुरुङले २०४२ सालदेखि पोखरेली कलाकार गाउँघरको भ्रमण गर्दै कला सिर्जनामा निरन्तर लागेकाले नै आज कलामा पोखरालाई पानी रङको सहरका रुपमा चिनिएको विचार राखे । समता कला कार्यशालाले अग्रज र अनुज दुवैलाई एउटै थलोमा काम गर्ने अवसर दिँदा नयाँ कलाकारले आफूलाई चम्काउने अवसर पाउने उनले सुनाए ।


संस्थाका सल्लाहकार तीर्थ श्रेष्ठले कलाको विकासका लागि आफ्नै हातलाई क्रियाशील र सिर्जनशील बनाउनुपर्ने सुझाव दिए । उनले कला कार्यशालामा निर्माण गरिएका चित्रलाई प्रदर्शनीमा रुपान्तरण गरेर आम मानिससम्म कला पुर्‍याउन आग्रह गरे ।

Advertisement

कला कार्यशालामा कलाकारहरु पदम घले, एसकुमार श्रेष्ठ, थमनसिंह सुनार, दलबहादुर गुरुङ, रिक गुरुङ, झबिन्द्र गुरुङ, युवराज लामिछाने, मनोज तामाङ, निशान थापा, गोपाल दराई, आकाश गुरुङ, शुक्रराज गुरुङ, एलिता गुरुङ, शिव शिपाली, सौगात गुरुङ, सन्जीता घिमिरे, अमृत परियार, सञ्जीव लामिछाने, नवराज थापा लगायतले पानी रङ र एक्रेलिकबाट चित्र बनाएका थिए ।


परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यशालामा सचिव डा चैतन्य अधिकारी र कला संयोजक कलाकार उमेद पौडेलले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया