सरकारले परनिर्भरता बढायोः विष्ट

पोखरा ।
नेकपा एमालेका सचिव गोकर्ण विष्टले अहिले देशले सुशासन खोजिरहेको बताएका छन् । शनिबारबाट सुरु भएको नेकपा एमाले गण्डकी प्रदेश प्रचार तथा प्रकाशन विभागको योजना तर्जुमा विस्तारित बैठक एवं प्रचार कार्यशाला पोखरामा उद्घाटन गर्दै सचिव विष्टले देशले सुशासन खोजको भए पनि वर्तमान सरकार त्यसतर्फ उन्मुख नभएको तर्क गरे ।
पार्टीको प्रदेश इन्चार्जसमेत रहेका विष्टले अहिलेको गठबन्धन सरकार रहेसम्म देशले सुशासन र समृद्धि नपाउने दाबी गरे । ‘यो सरकार जति चल्छ, त्यति नै देश परनिर्भर हुन्छ, यो सरकार जति लामो चल्नेछ त्यति नै नेपालका युवा काम नपाएर कामको खोजी गर्दै देशबाहिर जानुपर्ने अवस्था सिर्जना भइरहन्छ’, उनले भने ।
गठबन्धन सरकारका कारण नेपालको स्वतन्त्रता, स्वाधीनता, आत्मसम्मान र राष्ट्रिय गौरवमाथि समस्या पैदा भएको उनको भनाइ छ । नेता विष्टले सुन तस्करी प्रकरणमा उच्च स्तरीय संसदीय छानबिन समिति बनाई जरैसम्म पुगेर छानबिन गर्न एमालेले माग गरिरहेको सुनाए ।
एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले प्रधानमन्त्रीले भारत भ्रमणमा जाँदा आफ्नो भूगोललाई नेपालको हो भन्न नसकेको आरोप लगाए । ‘लुम्बिनीमा बसेका नेपालीले नेपाली हो भन्न नसक्ने अवस्था छ । यस्तो परिस्थितिमा तपाईं हामी सचेत हुनु आवश्यक छ,’ अधिकारीले भने । उनले यो सरकारले जनताको पक्षमा काम गर्नै नसक्ने जिकिर गरे ।
प्रचार तथा प्रकाशन विभाग गण्डकी प्रदेश कमिटीको योजना तर्जुमा विस्तारित बैठक एवं प्रचार कार्यशाला शनिबारबाट पोखरामा सुरु भएको हो । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य अधिकारी, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, पार्टीका कास्की जिल्ला इञ्चार्ज थममाया थापा, गण्डकीका प्रचार संयोजक राजीव पहाडी, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत लगायतले समसामयिक विषयमा मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेताहरूले वर्तमान गठबन्धन सरकारले मुलुकलाई परनिर्भर बनाउने टिप्पणी गरे । । शनिबारको कार्यक्रममा विष्ट र प्रदेशको तर्फबाट दीपेन्द्र श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यशाला आइतबारसम्म चल्नेछ ।
तपाईको प्रतिक्रिया