सम्पादकीयःफोहोरमा राजनीति नगरौं

पोखरा महानगरपालिकाभित्र संकलित फोहोरको व्यवस्थापनमा व्यवधान खडा भएको २ हप्ता पुग्न आँट्यो । ३२ नम्बर वडाको लामेआहालमा खाल्डो पुर्ने गरी थुपार्न थालिएको फोहोरले दुर्गन्ध फैलियो भन्ने स्थानीयको आवाज छ । त्यतिमात्रै कारणले स्थानीय विरोधमा हुन् भने महानगरपालिकाले तुरुन्तै दुर्गन्ध नफैलिने उपाय खोजी गर्नुपर्छ । त्यो भनेको उसले सम्झौता गरेजस्तै गरी फोहोर फालिसकेपछि दिनहुँ माटोले पुर्ने र रासायनिक तत्व हालेर दुर्गन्ध नआउने व्यवस्था कडाइका साथ लागु गरिनुपर्छ ।
अर्काेतिर त्यहाँको खाल्डो पुर्न पर्ने नै छ भने फोहोरमात्रै हालिरहनुभन्दा माटोसमेत मिसाएर दरिलो बनाउनु नै पर्छ । तर स्थानीयहरुको माग दुर्गन्ध नआओस् भन्नेमात्रै हो कि अरु पनि ? भएदेखि स्थानीय विकास निर्माण नै हुनुपर्छ, त्यसमा महानगरले पनि ध्यान दिनुपर्छ ।
फोहोर नउठ्दा महानगरपालिकालाई सकस भएको देखिन्छ । वास्तवमा सर्वसाधारण नागरिकहरुलाई, व्यवसायीहरुलाई सकस भएको छ । महानगरले फोहोर नउठाउने भएपछि घरभित्रै सधैं थन्क्याएर साध्य हुँदैन । व्यवसाय गर्नेहरुले त झन् फोहोर दिनदिनै बाहिर ननिकाल्ने हो भने व्यावसायिक क्षेत्र नै दुर्गन्धित बन्छ र त्यसको असर व्यापार व्यवसायमै पर्छ । झन् यही बेला डेंगु रोगको प्रकोपको डर पनि छ । जथभाभावी सडक किनारमा फोहोर थुप्रिँदा लामखुट्टे बढ्ने र रोग फैलने संत्रास पनि झनै बढेको छ ।
फोहोर व्यवस्थापनको जिम्मेवारी निश्चय पनि महानगरपालिकाको हो । अगुवाइ उसैले गर्नुपर्छ । तर साथ भने नागरिकदेखिकै चाहिन्छ । यहाँका सबै राजनीतिक दल, जनप्रतिनिधिसमेतको साथ र सहयोगमा महानगरपालिकाले फोहोर व्यवस्थापन गर्नुपर्छ ।
राजनीतिक दल, जनप्रतिनिधिहरु सबैले पोखराको फोहोर व्यवस्थापनका लागि सहयोग पु¥याउनुपर्छ । यो केवल पोखरा महानगरपालिकाका जनप्रतिनिधिको दायित्व हो, तिनको टाउको दुखे दुखोस् भनेर अरु दल र नेता तथा जनप्रतिनिधिले सोच्नु अराजनीतिक कुरा हो । कोही कसैको मात्रै दायित्व सम्झेर राजीतिक इबी वा प्रतिस्पर्धात्मक भावना राखिनु हुँदैन । महानगरपालिकाले स्थानीय बासिन्दालाई चित्त बुझाउने प्रयास गर्नुपर्छ ।
फोहोर कहिँ पनि फाल्न नदिने जुन मनोवृत्ति बढेको छ । त्यसले वास्तवमा जिम्मेवारीमा रहेका जनप्रतिनिधिलाई मात्रै दोष थोपरेर अरु उम्कन खोज्नु पनि पानीमाथिको ओभानो हुनु हो । संघर्ष समिति वा सरोकारवालाहरुको जति पनि समितिहरु पोखरा ३२ पनि बनेका छन्, तिनले महानगरपालिकासँग व्यावहारिक ढंगले समस्या समाधानको खोजी गर्नुपर्छ ।
फोहोर व्यवस्थापन अहिले भइरहेको ठाउँमा सधैं हुने पनि होइन, आखिर त्यो ठाउँपछि त प्रशोधन केन्द्रमा लैजाने प्रक्रिया अघि बढेकै छ । त्यसैले फोहोर व्यवस्थापनलाई रमिता बन्न नदिऊँ । यसमा राजनीति कसैबाट नहोस् ।
तपाईको प्रतिक्रिया