केन्द्रिकृत मानसिकता प्रमुख समस्याः मुख्यमन्त्री

समाधान संवाददाता २०८० साउन २२ गते १६:५४
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे जिल्ला समन्वय समिति कास्कीद्वारा आइतबार पदस्थापना दिवसका सन्दर्भमा आयोजित जिल्ला समन्वय समितिको भूमिका विषयक बैचारिक अन्तरक्रियामा मन्तव्य राख्नुहुँदै । तस्बिर : वासुदेव पौडेल/रासस

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयता कार्यान्वयनमा केन्द्रिकृत मानसिकता नै प्रमुख समस्या बनेको औंल्याएका छन् । जिल्ला समन्वय समिति कास्कीद्वारा आइतबार पदस्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

Advertisement


जिसस कास्कीले ‘जिल्ला समन्वय समितिको भूमिका’ विषयक वैचारिक अन्तरक्रिया आयोजना गरेको हो । कार्यक्रममा मुख्यमन्त्री पाण्डेले संविधानतः प्राप्त अधिकार उपयोग हुन नसक्दा समस्या परेको दाबी गरे ।


संविधानले व्यवस्था गरेका अधिकार संघबाट बन्नुपर्ने सम्बन्धित ऐन नबनेका कारण उपयोग हुन नसकेको जनाउँदै उनले समन्वय समितिका साथै प्रदेश सरकारको औचित्य तथा भूमिकामाथि प्रश्न उठ्न थालेको उल्लेख गरे । जिल्ला समन्वय समितिको प्रमुख भूमिका समन्वय र अनुगमन भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले उक्त भूमिकालाई पूरा गर्न साधन, स्रोत र अधिकार जरुरी रहेको उल्लेख गरे । गण्डकी प्रदेशमा ६२ कानुन बनिसकेको र ४० बन्न बाँकी रहेको उनले औंल्याए ।


प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रतिपक्षी दलका नेता खगराज अधिकारीले जिल्ला समन्वय समितिको भूमिकालाई बलियो बनाउन कानुनी प्रबन्धलाई प्रभावकारी बनाउनुपर्ने विचार राखे । साधन, स्रोतको कमीका साथै आफ्नै साधन, स्रोत बनिनसकेको अवस्था रहेको उनको भनाइ छ ।

समन्वय समितिको काम न्याय दिनु पनि भएको उल्लेख गर्दै अधिकारीले यो सकेसम्म विवादमा पर्नु नहुनेमा जोड दिए । जिल्ला समन्वय समिति प्रमुख लीलाधर पौडेलले जिल्ला समन्वय समितिको भूमिकालाई बलियो बनाउनका लागि अधिकारको सुनिश्चिततासँगै साधन, स्रोतको व्यवस्थापन आवश्यक भएको जनाए ।

Advertisement


जिल्ला समन्वय अधिकारी नवराज बरालले सरकारले जिल्ला समन्वय समितिको काम, कर्तव्य र अधिकार स्पष्ट हुनेगरी कार्यविधि नबनाइदिँदा समितिले प्रभावकारी रुपमा काम गर्न नसकेको बताए । जिल्ला सभाको कोष खडा हुन नसकेको, सीमित साधन, स्रोत आदि समस्याका रुपमा रहेको उनले सुनाए ।


कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गतका विभिन्न जिल्ला समन्वय समितिका प्रमुख तथा प्रतिनिधिले प्राप्त अधिकारको कार्यान्वयन, सीमित साधनस्रोत आदिका कारण भूमिका प्रभावकारी बनाउन नसकिएको धारणा राखेका छन् ।

तपाईको प्रतिक्रिया