युग सुहाउँदो काम गरौं, पार्टी बनाऔंः पृथ्वीसुब्बा

समाधान संवाददाता २०८० साउन २४ गते १०:२६

पोखरा ।
जनसंगठन संञ्चालन तथा व्यवस्थापनका लागि नेकपा (एमाले) गण्डकी प्रदेश संगठन कमिटीले जनसंगठनका केन्द्रीय पदाधिकारी तथा सदस्य प्रदेशका अध्यक्षसँग छलफल गरेको छ । पार्टी र जनसंगठन बीचको अन्तर सम्बन्ध बढाउन तथा जनसंगठनको केन्द्रदेखि पालिका तहको काममा समन्वय गरी व्यवस्थित रुपले परिचालन गर्न कार्यक्रम गरेको गण्डकी प्रदेशका जनसंगठन समन्वय सयन्त्रका संयोजक मोहन रेग्मीले जानकारी दिए ।

Advertisement


पार्टीका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टी निर्माणका लागि नेता तथा कार्यकर्ताले युग सुहाउँदो काम गर्नुपर्ने बताए । ‘योजनाबद्ध कामले पाटीं तथा संगठन गतिशील हुन्छ,’ उनले भने, ‘युग सुहाँउदो कामले पार्टी निर्माण हुन्छ । नेता तथा कार्यकर्ताले उत्कृष्ट परिणामका लागि उद्देश्यमूलक तवरले काम गर्नु पर्छ ।’

पार्टी र जनसंगठनको सम्बन्ध बढाउन र व्यवस्थित रुपले परिचालन गर्न एमाले गण्डकीका जनसंगठनबीच विमर्श


उनले जनजीविकालाई सम्बोधन गर्नका लागि एकीकृत प्रयास आवश्यक भएको उल्लेख गरे । उनले पार्टीको नीति र योजना अनुसार सबै जनसंगठनका नेता तथा कार्यकर्ता उत्पादनमा जोडिन आवश्यक भएको बताए । उनले समृद्धि हासिल गरेपछि मात्र समाजवादको यात्रा तय गर्न सकिने उल्लेख गरे ।


पार्टीका केन्द्रीय कमिटीका सचिव गोकर्ण विष्टले गतिशील पार्टी निर्माणका लागि सशक्त जनसंगठनबाट सम्भव हुने उल्लेख गरे । जनसंगठनको दरिलो र भरिलो साथ समर्थनले पार्टीले हरेक क्षेत्रमा सफलता पाएको स्मरण गराउँदै उनले हरेक खालका चुनौती सामना गर्न पार्टी तथा जनसंगठन सशक्त ढंगले लाग्नुको विकल्प नभएको उल्लेख गरे । उनले सकारात्मक, रचनात्मक र उर्जावान जनसंगठन आजको आवश्यकता रहेको बताए ।

Advertisement


पार्टीका स्थायी समिति सदस्य खगराज अधिकारीले जनसंगठनहरुले भौतिक र सांगठनिक रुपमा काम गरेपनि राजनीतिक नेतृत्व पार्टीले गरेको बताए । उनले जनसंगठनबीच समन्वय गर्नका लागि पार्टीले जनसंगठन समन्वय सयन्त्र बनाएर काम गरेको जानकारी दिए ।


पार्टीका जनसंगठन समन्वय सयन्त्रका केन्द्रीय प्रमुख भानुभक्त ढकालले जनसंगठनको तटस्थता र मर्यादाका लागि नेता तथा कार्यकर्ता पार्टीको आन्तरिक चुनावमा पक्ष र विपक्षमा लाग्न नहुने सुझाव दिए । हरेक जनसंगठनको कार्यक्रममा सोही संगठनको नेता प्रमुख अतिथि बन्ने व्यवस्था गरेको जानकारी दिँदै उनले प्रमुख वक्ताका रुपमा गएका पार्टीका नेता प्रमुख अतिथिभन्दा पछाडि बोल्नुपर्ने उल्लेख गरे ।


कार्यक्रममा पार्टीका स्थायी समितिका सदस्य थममाया थापा, जनसंगठन समन्वय सयन्त्रका संयोजक डा सूर्य पाठक, अखिल नेपाल महिला संघ (अनेमसंघ) का केन्द्रीय अध्यक्ष टुकाभद्र हमाल, नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, नेपाल उत्पीडित जातिय मुक्ती समाजका केन्द्रीय अध्यक्ष मनोहर विश्वकर्मा पौडेल, पार्टीका प्रदेश कमिटीका उपसचिव मञ्जु अधिकारी लगायतले पार्टी र जनसंगठनको सम्बन्धका बारेमा बोलेका थिए ।


कार्यक्रममा पेशागत महासंघ नेपालका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज आरपी खनाल, नेपाल बुद्धिजीवी परिषद् गण्डकीका अध्यक्ष प्राडा चन्द्रबहादुर थापा, नेपाल ट्रेड युनियन महासंघ ( जिफन्ट ) गण्डकीका अध्यक्ष रुद्र खत्री, प्रेस चौतारी नेपाल गण्डकी अध्यक्ष ईन्द्रप्रसाद पौडेल, अनेमसंघ गण्डकीका अध्यक्ष हिरा गिरी, प्रगतिशील इन्जिनियर्स एसोसियसन गण्डकी अध्यक्ष सुरेश तिमिल्सिना, अखिल नेपाल किसान महासंघ गण्डकी अध्यक्ष गोवद्र्धन गौली, राष्ट्रिय जनसांस्कृतिक महासंघ गण्डकी इन्चार्ज मनकुमार श्रेष्ठ, नेपाल उत्पीडित जातिय मुक्ति समाज गण्डकी अध्यक्ष निर्मल दियाली सुनार, अनेरास्ववियु गण्डकी संयोजक आरके पोखरेल, राष्ट्रिय युवा संघ नेपाल गण्डकी संयोजक विकास अधिकारी, भूतर्पर्व प्रहरी तथा सैनिक संगठन गण्डकीका अध्यक्ष शेरबहादुर जिसी, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गण्डकी अध्यक्ष सुजन लामा लगायतले आआफ्नो संगठनका गतिविधि र भावी योजना प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया