यसपालिको तीजमा पोतेका गहना

जमुना वर्षा शर्मा २०८० साउन २४ गते १२:३६
kf]t]sf uxgf agfpFb} tflndsf ;xefuL kf]v/f, @# ;fpgM a'xf/L ;zlQms/0f ;dfhåf/f cfof]lht kf]t]sf uxgf agfpg] tflnddf ;xefuLx? uxgf agfpFb} . tl:a/M hd'gfjiff{ zdf{÷/f;;

पोखरा ।
तीज नजिकिँदै छ । सामाजिक सञ्जाल लगायत सञ्चारमाध्यममा महिला लक्षित गरगहना तथा कपडाका विज्ञापन सुरु भइसकेका छन् । तीज गीतका भिडियो पनि युट्युबमा अपलोड हुने क्रम जारी छ । यसैबीच पोखराका बुहारीहरू भने आफ्नै हातबाट बनाइएका पोतेका विभिन्न थरीका गरगहना लगाएर तीज मनाउने तयारीमा छन् ।

Advertisement


बुहारी सशक्तीकरण समाज नामक संस्थामार्फत गोलबद्ध बुहारीहरूले तीजमा आयातीत चुरापोतेमा हुने अत्यधिक खर्च कम गर्दै आफ्नै सीपबाट निर्मित चुरापोते औँठी लगायत गरगहनामा सजिएर यो वर्षको तीज मनाउने योजना बनाएका हुन् ।


घारिपाटनकी पुष्पा शर्माले यस वर्षको तीजमा सुनका गरगहना नभई पोतेबाट बनाइएका गरगहनामा सजिएर नाच्ने र गाउने योजना सुनाइन् । ‘पोतेबाट बनाइएका सेट गहना मलाई निकै मन पर्छ, बल्ल तालिम लिने अवसर मिल्यो । यसपालिको तीजमा आफ्नै हातले बनाएका पोतेका नमुनामा सजिने योजना बनाएकी छु’, उनले एक दिनको गहना बनाउने तालिमले पोतेका विभिन्न थरीका गहना बनाउन सिकेको जनाइन् ।

Advertisement

बजारमा तीज लक्षित गहना, कपडा लगायतका सामान आउँदै छन्, पोखराका एक हुल बुहारीहरु भने पोतेका गहना लगाउने तयारीमा छन् ।


अर्का सहभागी कालिका चापागाइँले पनि यस वर्षको तीजमा रातो साडीमा आफ्नै हातले तयार गरेका पोतेका माला, औँठी, टप र चुराको सेट लगाएर साथीसँगीसँग रमाइलो गर्ने योजना सुनाइन् । तीज महिलाको विशेष पर्व हो, यसलाई भड्किलोरहित बनाउन पोतेका गहना सेट बनाएर लगाउँदा झनै राम्रो देखिन्छ, हराउँछ कि भन्ने त्रास पनि नहुने र खुलेर रमाइलो गर्न पनि पाइने उनको भनाइ छ ।

Advertisement


तालिममा सहभागी सदस्य सुनिता खत्रीले तालिमले आफूमा सिर्जनात्मक सीप विकास भएको अनुभव साटिन् । ‘तालिम एक दिनमात्र भयो तर धेरै ज्ञान लिन सक्यौँ, अब सिकेको सीपलाई व्यवहारमा उतार्न सके आत्मनिर्भर हुन सकिने रहेछ भन्ने आत्मविश्वास जागेको छ,’ उनी भन्छिन्, ‘यो तीजमा पोतेका सामग्री तयार गरेर आफू पनि लगाउँछु र साथीभाइलाई बेच्ने योजना पनि बनाएकी छु ।’


संस्थाकी महासचिव सृष्टि भट्टराईले तीजको समयमा महिलाले बढी शृंगार मन पराउने र चुरापोते लगायत गहनाका सेट सामग्रीमा धेरै खर्च हुने भएकाले एक दिन भए पनि गहना बनाउने तालिम प्रदान गरिएको उल्लेख गरिन् । उनले भनिन्, ‘तीज नजिकिँदै छ, हाम्रो धेरै पैसा यस्तै गहनामा जान्छ तसर्थ हाम्रै समूहका एक जना सदस्य साथीसँग भएको सीपलाई सदुपयोग गरेर अरू सदस्यका लागि तालिम प्रदान गरेका हौँ ।’


महासचिव भटृराईले महानगरका विभिन्न वडामा यस्ता तालिम निःशुल्क सञ्चालित भए पनि सबैले त्यो अवसर पाउन नसकेका कारण आफ्नै खर्चमा तालिम आयोजना गरिएको जानकारी दिइन् । ‘हामीले आफैँ पैसा उठाएर यो तालिम सञ्चालन गरेका हौँ, वडामा जाने प्रक्रिया झन्झटिलो र समय लाग्ने भएकाले आफ्ना लागि आफैँ खर्च गरेर भए पनि सीप सिक्नुपर्छ भन्ने सोचले सुरुआत गर्‍यौँ, अन्य तालिमलाई पनि निरन्तरता दिन्छौँ ।’ उनले एक सदस्यबाट कच्चापदार्थ किन्न १ हजार संकलन गरिएको जानकारी दिइन् । आधारभूत सीपपश्चात् एडभान्स तहको सीपका लागि युट्युब हेरेर पनि जान्न सकिने उनको भनाइ छन् ।


तालिमकी प्रशिक्षक एवं संस्थाकी सदस्य गीता जमकट्टेल पौडेलले आफूले केही वर्षअघि सिकेको सीप बुहारी ग्रुपका सदस्यलाई सिकाउन पाउँदा निकै खुसी लागेको बताइन् । उनले हातमा सीप हुँदा आफ्ना लागि पनि हुने र आगामी दिनमा गहना तयार गरेर आत्मनिर्भर हुन पनि सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । प्रशिक्षक पौडेलले मेहनतमा जोड दिन सके निकै आकर्षक र बजारको माग अनुसारको डिजाइनमा गहना तयार गर्न सकिने जनाइन् ।


‘एक, दुईसयको कच्चा पदार्थले पनि हजार वा ५ सयसम्मको सामग्री तयार गर्न सकिन्छ । जति नयाँ डिजाइनका लागि मेहनत गर्न सक्यो, उति नै बढी मूल्यका गहना तयार हुनाका साथै यो सीपलाई व्यावसायिकीकरण गर्न सके धेरै दिदीबहिनीले रोजगार पाउने र चुरापोतेका लागि विदेशिन धेरै रकम रोक्न सकिन्छ,’ उनी भन्छिन् ।

संस्थाकी अध्यक्ष निर्मला केसी (निरु) ले बुहारी सशक्तिकरण समाज स्थापनाको छोटो समयमै धेरै कार्यक्रम गर्न सफल भएको दाबी गरिन् । ‘अहिले तीजलाई लक्ष्य गरेर पहिलो चरणमा आफ्नै खर्चबाट एक दिनको गहना बनाउने तालिम गर्‍याैं र आवश्यता हेरेर थप सीपमूलक तालिम प्रदान गर्दै जानेछौँ”, उनी भन्छिन्, “बुहारीहरूले भोग्नु परेका समस्या समाधानका लागि सहजीकरण गर्ने साथै आत्मनिर्भर बनाउन आवश्यकता अनुसारको तालिमहरू प्रदान गर्दै सामाजिक क्षेत्रमा स्थापित गर्ने उद्देश्यले यो समाज स्थापना भएको हो । हिंसा विरुद्धको अभियानसँगै जोसँग जे सीप, ज्ञान वा क्षमता छ त्यो अरूलाई पनि शेयर गरेर एकअर्का बीचको सम्बन्धलाई मजबुत बनाउने उद्देश्य पनि संस्थाको रहेको छ ।”

समूहमा अहिले करिब १ सय सदस्य छन् । सदस्यको चाहनाअनुसार पहिलो चरणमा २५ जनालाई गहना बनाउने तालिम प्रदान गरिएको हो ।

जमुना वर्षा शर्मा

डेढ दसकदेखि पोखरामा क्रियाशील पत्रकार शर्मा राष्ट्रिय समाचार समितिमा आवद्ध छिन् 

तपाईको प्रतिक्रिया