प्रदेश सभा बैठक आज बस्दै

पोखरा ।
गण्डकी प्रदेश सभाको बैठक १ महिनापछि बिहीबार बस्दै छ । पोखरा नदिपुरको प्रदेश सभामा बिहीबार दिउँसो १ बजे बैठक बस्न लागेको हो । असार २१ गते पछिल्लो पटक प्रदेश सभा बैठक बसेको थियो ।
गत असार २१ गतेको बैठकमा आर्थिक वर्षको बजेट पारित भएसँगै प्रदेश सभा बैठक अनिश्चित काललाई स्थगित भएको थियो । बिहीबारको बैठकमा संसदीय समिति गठनको कार्यसूची हुन सक्ने सभामुख कृष्णप्रसाद धितालले जानकारी दिए । ‘संसदीय समिति गठन गर्न बिहीबार बिहान कार्यव्यवस्था समितिको बैठक बस्दै छ । त्यसमा समितिका बारेमा छलफल हुन्छ, माननीयहरुले समय माग्नुभयो भने केही दिनपछि हुन सक्छ, कुरा मिल्यो भने भोलि नै समिति गठन हुन्छन्,’ उनले भने ।
दलहरुबीच भागबन्डा नमिल्दाा प्रदेशसभाका संसदीय समिति गठन हुन नसकेको हो । कांग्रेस र एमालेले दुई/दुई समितिको नेतृत्व दाबी गरेका छन् । माओवादी केन्द्रले पनि कम्तीमा १ समितिको नेतृत्व पाउनुपर्ने पक्षमा छ । सदस्यमा बिमति नभए पनि दलहरुबीच धेरै समितिको सभापति लिने होडबाजी चलेको छ । ३ वटा समितिमा ७ र एउटा समितिमा ६ सदस्य रहने गरी संख्या तोकिएको छ ।
अहिले समितिहरु नहुँदा सरकारले बनाएका विधेयक सीधै सदनमा प्रस्तुत भई पारित गर्नुपर्ने अवस्था छ । समिति नबन्दा विधेयकमाथि सांसदले एकातिर राम्ररी छलफल गर्न पाएका छैनन् भने अर्कोतिर मन्त्रालयका काम, कारबाहीबारे सांसदले निगरानी गर्न पनि कठिन भएको छ ।
वनसम्बन्भी विधेयक प्रदेश सभा सचिवालयमा
गण्डकी प्रदेशभित्रका वनलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा दर्ता भएको छ । सरकारले उक्त विधेयक बुधबार प्रदेश सभा सचिवालयमा दर्ता गराएको हो । उक्त विधेयक ३ दिनपछि प्रदेश सभामा पेस हुनेछ ।
तपाईको प्रतिक्रिया