सम्पादकीयः हिउँदमै तयारी, सबैको जिम्मेवारी

समाधान संवाददाता २०८० साउन २५ गते १२:००

लगातार भएको मुसलधारे वर्षाले देशैभर बिमाख गरेको छ । बाढी, पहिरो र डुबानका समस्या भएका छन् । ४ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएको तथ्य सार्वजनिक भएको छ । वर्षात् जारी रहेकाले धनजनको क्षति अझै बढ्ने देखिन्छ । धेरैजसो राष्ट्रिय राजमार्ग र अरु सडक अवरुद्ध भएका छन् । लगातार वर्षा हुँदा विपत्ति आउने र बाटोसमेत बन्द हुँदा उद्धारका कामसमेत प्रभावित हुन्छन् ।

Advertisement

यसपालि मनसुन सुरु भएको २ महिनापछि पहिलोपटक एकसाथ देशभर भएको वर्षाले धनजनको ठूलो क्षति गरेको छ । मकवानपुरमा पहिरोमा परी १ जनाको मृत्यु भएको छ भने ५ बेपत्ता छन् । मधेसको धनुषा, रौतहट र महोत्तरीमा बाढीमा परेर ३ जनाको ज्यान जाँदा २ बेपत्ता भएका छन् । पृथ्वी राजमार्ग, भूपी शेरचन राजमार्ग र बेनी जोमसोम खण्डमा अवरोध भएका छ । राजमार्गहरू अवरुद्ध हुने, पहिरो खस्ने, जिउज्यान जाने, बगाउने, पुरिने, डुबिने आदि वर्षायाममा हुन्छ । वर्षा सकिएपछि सर्वसाधारणदेखि राज्य सञ्चालक, नीति निर्माताले यसलाई बिर्सने गरेका छन् । यसकै महंगो मूल्य बर्सेनी हामीले चुकाउँदै आउनु परेको छ ।


उपत्यकामै डुबान हुने, मान्छे बगाउने जस्ता अवस्था बढ्दो छ । सहरमा बगेका नदी मिचेर घर बनाउने, नदीमाथि नै स्ल्याब राखी ढलान गर्ने, नदीलाई साँघुरो पार्ने जस्ता कार्य भएपछि नदीले आफ्नो स्वाभाविक प्राकृतिक रूप देखाउँछ । पोखरा महानगरमा पनि फुस्रोखोलाकै क्षेत्रमा त्यस्ता धेरै संरचना बनेका छन् । सेतीको मापदण्ड मिचिएको छ । नदी, खोलको स्वाभाविक वहाव अवरोध गरेपछि त्यसले विपत्ति निम्त्याउने सम्भावना प्रवल हुन्छ । नेपालमा असारको दोस्रो हप्तादेखि भदौ पहिलो हप्तासम्म ठूला बाढी, पहिरो तथा डुबानका घटना हुन्छन् । यो हप्ता मनसुन अति सक्रिय हुने भएकाले नदी, खोला र खहरेमा बाढी आउन सक्ने हुँदा जनधनको क्षति कम गर्न सतर्क बन्नु जरुरी छ ।


बर्सेनि हुने डुबान तथा कटानको समस्या समाधानमा सरकारले भूक्षय/नदी नियन्त्रण जस्ता विभिन्न कार्यक्रम चलाउँदै आएको छ । प्राकृतिक घटनाका कारण हुने वर्षा र डुबानको समस्या अन्त्य गर्न सम्भव हुँदैन तर कतिपय यस्ता घटना मानिसकै कारण पनि थपिएका देखिन्छन् । बस्ती र कृषि क्षेत्रमा भिन्नता नगरी बसाइएका बस्तीले ल्याउने जोखिम कम गर्न सकिन्छ । पछिल्लो समय सरकारले मौसम, बाढी र पहिरोको पूर्वानुमानमा विशेष ध्यान दिएको देखिन्छ । पहिरो र बाढीको पूर्वानुमान गर्न सकिए यसबाट हुने क्षति निकै हदसम्म कम गर्न सकिन्छ । विपद् आउन सक्ने क्षेत्रमा भएका बस्ती स्थानान्तरण, बस्ती संरक्षण जस्ता पक्षमा ध्यान दिनुपर्छ । विपद् आइहालेमा आवश्यक पर्ने उद्धा र राहतका लागि बलिया संयन्त्र, तालिम प्राप्त जनशक्ति र जोखिमपूर्ण क्षेत्रमा व्यापक जनचेतना पुर्‍याउन जरुरी छ ।

Advertisement

तपाईको प्रतिक्रिया