
जोमसोम ।
हिन्दू तथा बौद्ध धर्मालम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा विदेशी भक्तजनले चढाएको विदेशी मुद्रा सटही हुन सकेको छैन ।शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको मुक्तिनाथ विकास समिति तथा सरोकारवाला निकाय सम्मिलित बैठकमा मुक्तिनाथमा विदेशीले चढाएको मुद्रा आंशिकमात्र सटही भएको जानकारी दिइयो ।
मुक्तिनाथ मन्दिरमा विकास समितिले ५ चन्दा बाकस राखेको छ । जहाँ भक्तजनले स्वेच्छिक दान गर्न सक्छन् । १ सय रुपैयाँभन्दा बढी र दान गर्नेले रसिद काटेर सहयोग गर्ने व्यवस्था पनि गरिएको छ । मुक्तिनाथमा रसिद र दानपेटिकामा चढाएको भेटी वार्षिक करोडसम्म हुने गरेको छ ।
आर्थिक वर्ष २०७९/०८० मा मुक्तिनाथका चन्दा बाकसमा चढाइएको भेटीमध्ये १३ लाख ५६ हजार भारतीय मुद्रासहित १० देशका विदेशी मुद्रा सटही हुन नसकेको मालपोत कार्यालयकी प्रमुख एवं मुक्तिनाथ विकास समितिकी सदस्य सचिव सरस्वती थापा रोक्काले जानकारी दिइन् ।
गत वर्ष मुक्तिनाथको दानपेटिकामा १७ लाख ८६ हजार भारतीय मुद्रा संकलन भएकोमा ४ लाख ३० हजारमात्र सटही भएको उनले खुलाइन् । अमेरिकी डलर १ सय ५२, युरो १ सय, मलेसियन रिंगेट ५ सय ७०, क्यानेडियन डलर २०, सिंगापुर डलर २, भटानिज नेगोकटिम १०, कतारी रियल १, कोरियन वोन १ हजार, हङकङ डलर ३० र युएइ ड्रिम २ सय सटही हुन नसकेको सदस्य सचिव रोक्काले उल्लेख गरिन् ।
‘हामीले मुस्ताङका बैंक तथा वित्तीय संस्थामा मुक्तिनाथमा चढाएका विदेशी मुद्रा सटही गर्ने प्रयास गर्यौं, केही सटही भए तर ठूलो रकम सटही नै हुन सकेन,’ उनी भन्छिन् । समितिले मुक्तिनाथमा चढाएको विदेशी मुद्रा मुचुल्कासहित शिलबन्दी गरेर जिल्ला प्रहरी कार्यालय मुस्ताङमा राखेको प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ पौडेलले जानकारी दिए ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया