प्रदेश कार्यालय भवन बनाउँदै एमाले

समाधान संवाददाता २०८० साउन २५ गते १३:५७

पोखरा ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले प्रदेश कार्यालय भवन बनाउने निर्णय गरेको छ । कार्यालय भवन निर्माणका लागि प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा १ सय ९९ सय सदस्यीय भवन निर्माण समिति गठन भएको छ ।

Advertisement


प्रचार तथा प्रकाशन विभागका प्रमुख रश्मि आचार्यले साउन २२ गते पोखरामा बसेको कमिटीको १४ औं पूर्ण बैठकले यो निर्णय गरेको जानकारी दिए । प्रदेश कमिटीको भवन निर्माणका लागि गण्डकी प्रदेश सभाका पूर्व सदस्य रामबहादुर गुरुङले ११ लाख ११ हजार दिने घोषणा गरेका छन् । अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेश कमिटीका अध्यक्ष गोवद्र्धन गौलीले समेत ११ लाख ११ हजार १ सय ११ प्रदान गर्ने बताएका छन् । अहिले प्रदेशको कार्यालय नयाँबजारको भाडाको घरमा छ ।


गण्डकी प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारी सम्हालेका पार्टीका केन्द्रीय सचिव गोकर्ण विष्टले भवन निर्माणको कार्ययोजना अघि सारेका छन् । भवन निर्माण समितिको सदस्यमा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय कमिटीका सचिवहरु बिष्ट र पद्मा अर्याल, स्थायी समितिका सदस्यहरु किरण गुरुङ, खगराज अधिकारी, थममाया थापा लगायत पार्टी तथा जनसंगठनका नेता तथा कार्यकर्ता छन् ।


‘पोखरा महानगर पालिकाको उपयुक्त स्थानमा भवन निर्माण गर्ने योजना छ,’ गण्डकी प्रदेश कमिटीका उपसचिवसमेत रहेका आचार्यले भने, ‘भवन निर्माणका लागि स्रोत संकलनका क्षेत्रहरु पहिचान गरिएको छ ।’ उनले पार्टीका संगठित सदस्य, उद्योगी व्यवसायी, पार्टीबाट नियुक्त जनप्रतिनिधि लगायत पेशागत क्षेत्रका व्यक्तिबाट सहयोग संकलन गर्ने बताए ।


एमाले गण्डकी प्रदेश कमिटीले भवन निर्माणका अलवा आगामी कामको योजना निर्माण गरेको छ । कार्ययोजना अनुसार आगाी असोज १५ र १६ गते कमिटीको प्रथम अधिवेशन गर्नेदेखि जिल्ला पालिकामा गठित संयन्त्रहरुको विस्तारित बैठक बसी कामको मसिनो योजना बनाइनेछ । बैठकले सबै जिल्ला कमिटीलाई वार्षिक कार्ययोजना बनाएर साउन मसान्तसम्म प्रदेश कार्यालयमा पठाउन परिपत्र गरेको छ ।

Advertisement


प्रदेशका प्रचार तथा प्रकाशन विभागका उपप्रमुख आचार्यले समग्र प्रदेशको प्रचारको कामलाई व्यवस्थित गर्न जिल्ला स्तरीय प्रचार भेला तथा अभिमुखीकरण गर्न आग्रह गरिएको जानकारी दिए । गण्डकी प्रदेश स्तरीय जनसंगठन समन्वय संयन्त्रले सबै जनसंगठनलाई प्रदेश स्तरको कार्ययोजना निर्माण गरी १ महिना भित्रमा कार्यन्वयनमा लैजान निर्देशन दिएको छ । सामुदायिक र सरोकारजन्य आन्दोलनलाई एक अर्कामा समन्वय गरेर लैजान सबै जनसंगठनलाई अनुरोध गरिएको उनले जानकारी दिए ।


कार्यक्रममा एमालेका केन्द्रीय सचिव बिष्टले योजनाबद्ध ढंगले काम गरी पाटी र जनसंगठनको कामलाई व्यवस्थित गर्ने जानकारी दिए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमाननस्थलबाट १ क्विन्टल अवैध सुन बाहिरिएको घटनाले सरकारको जिम्मेवार प्रशासन र सुशासनमाथि प्रश्न उठेको उल्लेख गरे । उनले सुन प्रकरणमा सरकारले उच्च स्तरीय छानबिन समिति गठन नगरेर संसदलाई अवरोध गरेको जिकिर गरे ।


पार्टीका स्थायी समितिका सदस्य खगराज अधिकारीले करको दायरा बढाएर सेवा, सुविधा वृद्धि गर्नुपर्नेमा गण्डकी प्रदेश सरकारले जनतालाई ढाड सेक्ने गरी करको दर बढाएको आरोप लगाए । उनले २ सय प्रतिशतभन्दा बढी करको दर बढाउने निर्णयप्रति एमालेको पिरोध रहेको सुनाए ।

गण्डकी प्रदेशका प्रचार तथा प्रकाशन विभागका उपप्रमुख पुण्य पौडेलले प्रदेश स्तरीय कार्यशालाको निश्कर्षलाई कार्यान्वयन गर्न योजनाबद्ध ढंगले काम गरिने जानकारी दिए । उनले पार्टीको प्रचार रणनीति २०८० र प्रचारसम्बन्धी प्रदेशको एक्सन प्लानलाई कार्यान्वयन गरिने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया