पृथ्वीनारायणको प्रतिमा हटाएको भन्दै मेयरको पुत्ला दहन
मेयर आचार्य भन्छन्: लखन थापाको गोडामा राखिएको पृथ्वीनारायण शाहको पोस्टर व्यवस्थित गरिएको हो

पोखरा
पृथ्वीचोकबाट मध्यरातमा पृथ्वीनारायण शाहको प्रतिमा हटाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखरा महानगरपालिका मेयर धनराज आचार्यको पुत्ला दहन गरेको छ । मध्यरातमा पृथ्वीनारायण शाहको प्रतिमा हटाएको भन्दै राप्रपा निकट युवा संगठन कास्कीले शनिबार मेयर आचार्यको पुत्ला हदन गरेको हो ।
पृथ्वीचोक (लखनचोक) मा नेपालमा प्रथम सहिद लखन थापाको सालिक अगाडि राखिएको शाहको प्रतिमा हटाएपछि राप्रपाले विरोध जनाएको हो । महानगरले शुक्रबार बसेको सर्वपक्षीय बैठकको निर्णयअनुसार गए राति पृथ्वीचोकबाट शाहको प्रतिमा हटाएको जनाएको थियो ।
राप्रपा गण्डकी प्रदेश अध्यक्ष तथा प्रदेश सभा सदस्य पञ्चराम गुरुङसहितका नेता तथा कार्यकर्ता पृथ्वीचोकबाट पृथ्वीनारायणको प्रतिमा हटाउन रोक्ने भन्दै रातको समयमा सडक बसेका थिए । तर, उनीहरु फर्किएपछि महानगरपालिकाले पृथ्वीनारायण शाहको प्रतिमा हटाएको थियो ।
मध्यरातमा पृथ्वीनारायण शाहको प्रतिमा हटाउनु गलत रहेको राप्रपा गण्डकीका अध्यक्ष तथा प्रदेश सभा सदस्य पञ्चराम गुरुङले बताए । ‘मध्यरातमा पृथ्वीनारायण शाहको प्रतिमा हराएपछि हामीले बुझ्दै जाँदा महानगरले हटाएको थाहा पायौं, त्यो कार्य एकदमै गलत छ, त्यसको विरोधमा हामीले विरोध स्वरुप मेयर आचार्यको पुत्ला दहन गरेका हौं,’ उनले भने ।
पोखराका मेयर धनराज आचार्यले भने सडक र चोकका सालिक व्यवस्थित गरिने बताएका छन् । ‘पृथ्वीनारायण शाहको सालिक यसअघि नै विभूति पार्कमा लगेर व्यवस्थित गरिएको छ, उनको सालिक अहिले हटाइएको होइन, छैन, बरु लखन थापाको गोडामा राखिएको पृथ्वीनारायण शाहको पोस्टर पनि व्यवस्थित गरिएको हो, महानगरमा लगेर सुरक्षित राखिएको हो ,’ उनले भने, ‘महानगर सडक र चोकका सबै सालिक व्यवस्थित गर्ने योजनामा छ ।’
राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले मध्यरातमा महानगरले शाहको प्रतिमा हटाउनु दुखद र निन्दनीय भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘मध्यरातमा त्यो पनि महानगर प्रमुखको निर्देशनमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको प्रतिमा हटाउनु दुखद् र निन्दनीय छ ।’
पृथ्वीचोकमा पोहोर साल राखिएको पृथ्वीनारायण शाहको तस्बिरसहितको स्ट्यान्ड बुधबार हटाइएको थियो । तर, पुनः राप्रपाले पृथ्वीको प्रतिमा पुनः स्थापना गरेको थियो । त्यससँगै विवाद सिर्जना भएको थियो ।
तपाईको प्रतिक्रिया