सम्पादकीयः सालिकमा सल्लाह

समाधान संवाददाता २०८० साउन २८ गते १२:००

पोखराको मुख्य चल्तीको बजाररचोकमध्येको एक पृथ्वीचोक, जहाँ लखन थापाको सालिक छ । यसलाई पृथ्वीचोक नै भन्ने कि लखन चोक पनि अन्योल छ । कसैले लखन चोक पनि भन्छन् त पहिल्यैदेखि बानी परेकाहरुले पृथ्वीचोकै भनिरहेका छन् । लखनचोक भनेर चिन्न र चिनाउने कुरा स्थापित भइसकेको छैन । पोखरालाई काठमाडौंसँग जोड्ने पृथ्वीराजमार्गको शून्य किलोमिटर र पृथ्वीनारायण शाहको समेत सालिक त्यहाँ भएको हुँदा पृथ्वीचोककै नामले यो ठाउँ प्रख्यात भएको हो । जसै २०६२/६३ को आन्दोलन भयो, पृथ्वीनारायण शाहको सालिक गणतन्त्रवादीहरुको निसानामा पर्‍यो । पछि पहिचानवादीहरुले प्रथम सहिद लखन थापाको सालिक स्थापना गरे । २०६९ फागुन १ गते तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले थापाको सालिक अनावरण गरेका थिए ।

Advertisement


चोकहरुमा सालिक हुने कि नहुने, राख्ने कि नराख्ने पनि अर्काे बहस हो । यस्तै बहसका बीच २०७४ साल असाजे ९ गते पोखरा महानगरपालिकाले पृथ्वीचोकबाट लखन थापाको सालिक हटायो । सडकको चोकको आइल्यान्ड धेरै फराकिलो र चोक साँघुरो भयो भन्ने महानगरपालिकाको ठम्याइ थियो । तर पछि अर्काे वर्षको फागुन १ गते राति मगर समुदायले लखनकै सालिक त्यहाँ स्थापना गर्‍यो । पोहोर साल अर्थात २०७९ पुस २७ गते राप्रपा कास्कीले लखनकै सालिकमुनि पृथ्वीनारायण शाहको तस्बिरसहितको स्ट्यान्ड त्यहाँ राखेको थियो । यसपालि आदिवासी दिवसका दिन साउन २५ गते पृथ्वीनारायको तस्बिर हटाइयो । राप्रपाले भोलिपल्टै राख्यो ।


खासमा सडकका बिचमा कसैका पनि सालिक नराख्ने, सबैलाई पोखरा १८ को विभूति पार्कमा राख्ने भन्ने महानगरपालिकाको योजना हो । त्यसो गर्दा कसैको दाबी कुनै पनि चोकमा रहने पनि थिएन र विवाद पनि हुन्थेन । चोकहरुमा सालिक राखेरमात्रै कसैको सम्मान र अपमान हुनेभन्दा पनि निश्चित ठाउँमा राखेर सम्मान गर्ने परम्परा नै उचित हुने थियो । पृथ्वीचोकबाट मात्रै होइन अरु चोकहरुमा पनि उही मापदण्ड लगाउँदा कसैको चित्त दुख्न हुन पाउँदैनथ्यो । तर यहाँ सालिक हटाउने र राख्ने, तस्बिर राख्ने र हटाउने अनि फेरि राख्ने गर्दा चोक प्रतिष्ठाको लडाइँमा पर्न गएको छ ।

कसैलाई खुसी लाग्ने र कसैलाई दुख लाग्ने हुने गरेको छ । सबैको चित्त बुझाउन पनि गाह्रो छ । सबै समस्याको समाधानका लागि सबै सरोकारवालासँग सल्लाह गरी विभूति पार्कमा सबैका सालिक राख्ने योजना बनाउनु नै उपयुक्त हुनसक्छ । पृथ्वीनारायण शाह र लखन थापा दुवै सबैले सम्मान गर्नुपर्ने ऐतिहासिक व्यक्तित्व हुन् । समूहसमूहको प्रतिष्ठाको लडाइँमा यी दुवै कसैको पनि अपमान नभएको राम्रो हो ।

Advertisement

तपाईको प्रतिक्रिया