सम्पादकीयः ट्याक्सीलाई मिटर कि राइड सेयरिङ एप ?

समाधान संवाददाता २०८० साउन २९ गते १२:२२

सार्वजनिक यातायात सजिलो छैन । न बसेको सेवा भपपर्दाे छ न त अरु । ट्याक्सी चढ्न त सजिलो तर, महँगो । त्यसमा पनि भाडामा यकीन नहुँदा यात्रु ठगिने सम्भावना पनि उत्तिकै हुन्छ । त्यसैले नै सरकारले ट्याक्सीभित्र मिटर राख्ने र मिटरमा देखाएको भाडा तिर्ने व्यवस्था पनि गरेको हो । एकपटक मिटर राख्दिने, दुरीअनुसारको भाडा पनि तय गर्ने सरकारले मिटरको अपडेटचाहिँ गर्दैन ।

Advertisement

तेलको मूल्य बढ्छ तर भाडा समायोजन हुँदैन अनि ट्याक्सीवालाहरुले मिटरमा चलाउन अप्ठेरो हुन्छ । वर्षाैं पुरानो भाडादरमा ट्याक्सी चलाउन मुस्किल हुनु स्वाभाविक हो । गण्डकी प्रदेशमा यातायात पनि हेर्ने मन्त्रालय भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले यसबारे चासो राखेको छ । मन्त्री रेशम जुग्जालीले शनिबार सरोकारवाला र ट्याक्सी व्यवसायीसँग छलफल गरे ।


मन्त्री तथा सरकारी अधिकारी र उपभोक्ता अधिकारीवादीको चासो ट्याक्सीको मिटरमा परिरहन्छ । मिडिया पनि निगरानी गरिरहन्छन् । तर लामो समयदेखि ट्याक्सीमा मिटर कार्यान्वयन गर्न कठिनाइ हुँदै आएको छ । यसका सरकारी कमजोरी पनि एकातिर छ भने अर्काेतिर ट्याक्सी व्यवसायीमध्ये कतिपयलाई मिटरमा चलाउन झन्झटिलो र दुख पनि लाग्छ । वास्तवमा यसको उपाय भनेको राइड सेयरिङ एप हुनसक्छ ।


गण्डकी प्रदेश सरकारले यो वर्षको बजेटमा पनि राइड सेयरिङ सम्बन्धी कानुन बनाउने कुरा गरेको छ । त्यो वास्तवमा मोटरसाइकल र स्कुटर लक्षितमात्रै होइन । यसै पनि ट्याक्सीहरुले पोखरामा राइड सेयरिङ एप इनड्राइभ प्रयोग गर्न थालिसकेका छन् । त्यस्ता एपलाई मान्यता दिने हो भने यात्रु आफैले कहाँको भाडा कति हो भन्ने यसै थाहा पाइहाल्छन् । अनि त्यस्तो एपबाट कर पनि सरकारी खातामा आउने व्यवस्थाचाहिँ गर्नुपर्छ ।


राइड सेयरिङ एपमार्फत ट्याक्सीले सेवा दिने हो भने अहिलेजस्तो आलोपालो पनि गर्नुपर्दैन र भाडामा कचकच पनि हुँदैन । व्यवसायीलाई पनि सरकारले सधैं टोकिरहन्छ भन्ने पिरलो हट्छ । यात्रुले भाडा महँगो भयो भन्लान् भन्ने डर पनि हट्छ । भाडा आफै एपले देखाउँछ । दुरी अनुसारको भाडा देखिन्छ । रोजेको भाडादरमा यात्रुले ट्याक्सी चढ्न पाउँछन् । नियमन पनि हुन्छ ।

Advertisement

प्रविधिलाई पछ्याउने हो भने मन्त्री जुग्जालीले मिटरको कुरा छोडेर राइड सेयरिङ एप लागु गर्ने र त्यसलाई कानुनको दायरामा ल्याउने बाटोमा जानुपर्छ । मन्त्रीलाई थाहा हुनुपर्छ—विश्वका विकसित सबैजसो देशहरुमा उबर नामको राइड सेयरिङ एपमार्फत ट्याक्सी चल्छन् । छिमेकी भारतमै पनि एपकै माध्यमबाट यात्रुले सेवा लिन्छन् । जमाना अनुसारको प्रविधि पछ्याउन पछि पर्नु हुँदैन ।

तपाईको प्रतिक्रिया