आन्दोलनको मुडमा अटो मेकानिक्स व्यवसायी

पोखरा ।
पोखरा क्षेत्रका अटो मेकानिक्स व्यवसायीले पोखरा महानगरपालिकाले विकल्प विना अटो व्यवसाय हटाउन खोजेको गुनासो गरेका छन् । महानगरले पोखरा बसपार्कभित्र रहेका १३ वटा अटो वर्कसप हटाउन सूचना जारी गरेसँगै उनीहरुले विकल्प नभएसम्म नहट्ने र आवश्यक परे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
महागनगरपलिकाले पोखरा ९ मा रहेको बसपार्कबाट पोखरा आउने र जाने सबै बस सञ्चालन गर्ने निर्णयसँगै त्यहाँ रहेका अस्थायी संरचना हटाउने निर्णय गरेको थियो । व्यवसायी भने त्यसको विरुद्धमा छन् । उनीहरुले अटो व्यवसायलाई व्यवस्थित गर्न अटोल्यान्डको माग दोहोर्याउँदै आवश्यक परे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
त्यसको नेतृत्व नेपाल अटो मेकानिक्स व्यवसायी महासंघले लिएको छ । महासंघका केन्द्रीय उपाध्यक्ष कुलबहादुर नेपालीले विकल्पविना व्यवसायीलाई विस्थापित गर्न नपाइने र त्यसो गरिए आन्दोलन गर्ने चेतावनी दिए ।
पोखरा उद्योग वाणिज्य संघ र गण्डकी अटोमेकानिकल वर्कसप एसोसियसनको संयुक्त आयोजनामा आइतबार पोखरामा आयोजना गरिएको पोखराका अटो वक्र्ससपहरुको विकल्प खोजी तथा अटोल्यान्ड निर्माणबारे अन्तरक्रियामा उनले सो घोषणा गरेका हुन् ।
‘पोखरा राम्रो बनाउन तयार छौँ, विकल्प नदिई हटाउने महानगरको निर्णय हामीलाई मान्य छैन, हामी आन्दोलन गर्छौ,’ उनले भने, ‘तर, हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ । हामी सुरुको चरणमा स्थानीय जनप्रतिनिधिको सवारी साधन मर्मत गदैनौं, त्यसले नपुगे सरकारी गाडी बनाउँदैनौँ र माग सम्बोधन नभए देशैभर सबै प्रकारका गाडी मर्मत रोक्छौँ ।’
उनलाई केन्द्रीय अध्यक्ष जनार्दन गैरे र गण्डकी अध्यक्ष सन्तोष मिश्रले समर्थन गरे । ‘हामी दर्ता गरेर व्यवसाय चलाउन तयार छौँ, दर्ता नभएका व्यवसायीलाई हामी नै दर्ता गर्न लगाउँछौं तर हाम्रो व्यवस्थापन हुनुपर्यो,’ गण्डकी अध्यक्ष सन्तोष मिश्रले भने । पृथ्वी राजमार्ग बस कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसी र हेभी इक्युपमेन्ट व्यवसायी संघका अध्यक्ष बालकृष्ण कोइराला, ट्युब टायर मर्मत व्यवसायी एसोसियनसका अध्यक्ष चन्द्रेश्वर बस्ताकोटी लगायतले आन्दोलनमा ऐक्यवद्धता जनाए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले चाहिँ उद्योगी/व्यवसायी बन्द र हड्तालको विपक्षमा रहनुपर्ने विचार राखे । ‘व्यवसायीले कर तिरेर व्यवसाय सञ्चालन गर्नुपर्छ, कर तिर्ने करदातालाई राज्यले संरक्षण अनि सुविधा दिनुपर्छ,’ उनले भने, ‘दर्ता नगरेको व्यवसायीले राज्यसँग सुविधा माग्न पाइँदैन तर राज्यको निकायमा दर्ता भएका व्यवसायीका समस्याप्रति सबै तहका सरकार जिम्मेवार बन्नुपर्छ ।’ उनले अटो मेकानिक्स वर्कसका समस्या समाधान गर्न महानगरको ध्यानाकर्षण गराए ।
पोखरा १६ का वडाध्यक्ष तथा महानगरबाट गठित यातायात व्यवस्थापन समिति संयोजक अमृत तिम्सिनाले अटो ल्यान्डका लागि जग्गाको खोजी भइरहेको जानकारी दिए । ‘महानगरले बजेट विनियोजन गरेको छ, अटोल्यान्डका लागि जग्गा पनि खोजिएको छ । मिलेर जग्गा खोजौं, व्यवस्थापन गरौँ,’ उनले भने । अटो वर्कसप एउटा सटर लिएर चल्ने व्यवसाय नभएको बताउँदै उनले अटो व्यवसायीले पनि मापदण्ड पालना नगरेको जिकिर गरे ।
उनले थपे, ‘व्यवसायीले पनि राम्रोसँग वर्कसपको व्यवस्थापन गर्न सक्नुभएको छैन । बाटो र सार्वजनिक जग्गा प्रयोग गरेर व्यवसाय गर्न मिल्दैन ।’ पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यले व्यवसायीले भोग्नुपरेका समस्या सल्टाउन महानगर गम्भीर हुनुपर्ने धारणा राखे । सुन्दर पोखरालाई अझ सुन्दर बनाउन अटोल्यान्ड अपरिहार्य रहेको उनको भनाइ छ ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया