पूर्वाधार विकासका योजना सार्वजनिक

पोखरा ।
प्रदेश सभा सदस्य भीमबहादुर कार्कीले प्रदेश सभा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत छनोट भएका योजना सार्वजनिक गरेका छन् । प्रेस चौतारी नेपाल कास्कीले आइतबार आयोजना गरेको कार्यक्रममा कास्की क्षेत्र नम्बर २ (१)बाट निर्वाचित कार्कीले कार्यक्रममार्फत छनोट भएका योजनाका लागि विनियोजन भएको बजेट सार्वजनिक गरेका हुन् ।
‘कार्यक्रमका लागि २ करोडको योजना छनोट गर्ने अख्तियारी मिलेको थियो,’ उनले भने, ‘छोटो समयमा योजना छनोट गरी प्रदेश सरकारले विनियोजन गरेको बजेटले काम भएको छ ।’ आर्थिक वर्ष २०७९/०८० मा पोखरा १७ को सहरी स्वास्थ्य केन्द्रदेखि महतगाैंडासम्मको सडक ५० लाख लागतमा स्तरोन्नति गरिएको छ ।
पोखरा ३३ आँपुकस्यारी मोटरबाटो स्तरोन्नतिमा ३० लाख खर्च भएको छ । कार्यक्रमको २० लाख पोखरा १५ टुटुंगामा एकतापथ टुटुंगा मोटरबाटो ढलानमा खर्चिएको छ । पोखरा २१ को पुरानो कोलसिम्ले सडकको स्तरोन्नतिमा २० लाख खर्च भएको छ । पोखरा ३३ को जुके हनुमान पोखरी मोटरबाटोमा ३० लाख बजेट विनियोजन भएको थियो ।
प्रदेश सभा सदस्य कार्कीले पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २० लाखमा पोखरा ७ मा झपेन्द्र स्मृति भवन निर्माण गरिएको जनाए । पोखरा २१ मा २० लाख रामदी एकहाते एकीकृत खानेपानी आयोजनामा खर्च भएको छ । बक्रेक कात्तिके सडक २० लाखमा स्तरोन्नति गरिएको छ ।
१० लाखमा धारापानी कुल मन्दिरदेखि ग्राउन्डसम्म सिंढी बाटो बनाइएको छ । कार्यक्रम अन्तर्गतको २० लाखबाट पोखरा १७ दोबिल्ला बस्ती जोगाउन फुस्रेखोलामा तटबन्धन गरिएको छ ।
पोखरा २१ फेदीपाटन मासपाटन दम्सादी हुँदै पहारी डाँडासम्म कृषि सडकका लागि १ करोड बजेट विनियोजन भई बहुवर्षीय योजना अन्तर्गत ठेक्का प्रक्रियाअघि बढेको उनले जानकारी दिए । उनले कार्यक्रम अन्तर्गत छनोट भएका सबै योजनाका शतप्रतिशत काम निर्धारित समयमा नै सकिएको उनले दाबी गरे ।
आर्थिक वर्ष २०८०/८१ का लागि विभिन्न मन्त्रालय अन्तर्गतका कार्यालयमा योजना कास्की क्षेत्र नम्बर २ (१)मा समावेश भएका छन् । जस अन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालयका १८, पर्यटन तथा उद्योग कार्यालय कास्कीका १२, डिभिजन वन कार्यालयका १ योजना परेका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कास्कीमार्फत २२, समपूरक अनुदान अन्तर्गत २, पूर्वाधार विकास कार्यालयका २६, जलस्रोत तथा सिंचाइ डिभिजनका १२ र पुल निर्माणतर्फ २ योजना छन् ।
उनले भरतपोखरीमा लैंगिक हिंसाबाट प्रभावित महिलाको लागि सुरक्षित आवास गृह बनेको बताए । मुलतः प्रदेश सभाको काम कानुन बनाउने भए पनि निर्वाचन क्षेत्रका जनताको विकास निर्माणको काममा सहजीकरण गरेको उनले उल्लेख गरे । कार्कीले प्रदेश सभाको शून्य समय, विशेष समय या नियमित बैठकमा निर्वाचन क्षेत्रका जनताको समस्या योजनावद्ध रुपमा राखिएको जनाए ।
अहिलेसम्म प्रदेश सभाका ४ अधिवेशन भएको जानकारी दिँदै उनले अधिवेशनका ५४ बैठकमध्ये सबैमा सहभागिता रहेको सुनाए । गण्डकी प्रदेश सभा नियमावली मस्यौदा समिति सदस्य बनेर काम गरेको जानकारी दिँदै समितिका १८ बैठक बसेको उल्लेख गरे । प्रेस चौतारी नेपाल कास्की अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रञ्जन अधिकारीले पनि बोलेका थिए ।
तपाईको प्रतिक्रिया