सम्पादकीयः सास्ती मार्ग नबनोस् राजमार्ग

समाधान संवाददाता २०८० साउन ३० गते १२:००

नेपालका सबैजसो राजमार्गको अवस्था नाजुक छ । कतै राजमार्गको मापदण्ड मिचेर बस्ती बसेका छन् भने कतै विस्तारका क्रममा मुआब्जा विवाद छ । राजमार्गका पुल, कल्भर्ट र नियमित मर्मतको प्रगति उदेकलाग्दो छ । सीमित विमानस्थल रहेको र जल मार्गको सम्भावना नभएको नेपालमा यातायातको मुख्य माध्यम नै सडक हो । विडम्बना यही सडकमार्गको अवस्था देशैभर राम्रो छैन । अहिले पृथ्वी राजमार्ग स्तरोन्नति जारी छ ।

Advertisement

मुग्लिन–पोखरा सडक २ खण्डमा अहिले विस्तार र स्तरोन्नतिको काम जारी छ । पोखरालाई राजधानी काठमाडौं, तराई र देशका पूर्वी भागसँग जोड्ने एकमात्र सडक हो यो । यो सडकमा अहिले एकातिर धमाधम काम भइरहेको छ, सँगसँगै भएको अविरल वर्षले यात्रुलाई थप संकट थपेको छ । ठाउँ ठाउँमा सडक हिलाम्ये छ । स्तरोन्नतिको कामले धूँवा, धूलो र जाम सहँदै आएका यात्रुलाई वर्षाले थप ताडना दिएको छ । ठाउँ ठाउँमा पहिरो जाँदा सडक बारम्बार बन्द हुने गरेको छ । राजमार्ग सास्ती मार्ग जस्तो बनेको छ ।


यो सडक स्तरोन्नतिको काम व्यवस्थित र छिटो बढाउन पोखराका पर्यटन व्यवसायीले दबाब दिएका छन् । विभिन्न सिफ्टमा दिनरात काम गरेर भए पनि चाडै राजमार्ग सहज बनाउनु जरुरी छ । सम्भव भएका ठाउँमा वैकल्पिक मार्ग र डाइभर्सनको व्यवस्था गर्नुपर्छ । किन कि यो क्षेत्रमा सडक मार्गको विकल्प छैन । लामो समय यात्रुलाई पर्खाउँदा निकै कठिनाइ आईपर्छ । ३/४ घन्टामा छिचोलिने पोखरा मुग्लिन खण्ड पार गर्न अहिले दिनभर समय लाग्ने भएको छ । यसले पोखरा र गण्डकी प्रदेशको पर्यटनलाई समेत नकारात्मक असर गरेको छ ।


महाभूकम्प, कोभिड १९ लगायतका विपद्ले नराम्ररी प्रभावित भएको नेपालको पर्यटन क्षेत्र अझै लयमा आउन सकेको छैन । अर्थतन्त्रमा देखिएको संकटले धेरै उद्योग, व्यवसाय संकुचित भएका छन् । सर्वसाधारणलाई जीविका चलाउनै सकस हुँदै गएको छ । यस्तो अवस्थामा अव्यवस्थित ढंगले राजमार्गमा काम हुँदा आउने थोरै पर्यटक र नेपाली यात्रुले समेत ठूलो सास्ती एकातिर व्यहोर्नु परेको छ भने पोखरा र गण्डकी प्रदेशको सडक मार्गबारे गलत सन्देश प्रवाह हुन सक्ने खतरा देखिएको छ ।

सडक विस्तारको शैली परिवर्तन गरी एक किनारतर्फ काम गर्ने र अर्कोतर्फबाट सवारी साधन सहज आवतजावतको वातावरण बनाउन जरुरी छ । पृथ्वी राजमार्गको यो खण्डलाई कम्तीमा ४ लेनको बनाइँदै छ । यो प्रशंसनीय काम हो । तर राजमार्ग स्तरोन्नतिमा देखिएको भौतिक प्रगति निराशाजनक छ । सरोकारवाला निकायले पहल गरी स्तरोन्नति चाडै गर्ने र सडकमा यथाशक्य सहज आवागमनको वातावरण बनाउन जरुरी छ । राजमार्गलाई सास्ती मार्ग बन्न दिनु हुँदैन ।

Advertisement

तपाईको प्रतिक्रिया