पोखरा १५ मा स्वास्थ्य शिविर

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १५ को कार्यालय तथा सहरी स्वास्थ्य केन्द्र १५ ले मंगलबार पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने रोगसम्बन्धी निशुल्क स्वास्थ्य शिविर गरेका छन् ।
राइट फर चिल्ड्रेनको सहयोगमा भएको शिविरमा २ सय ८० महिलाको स्वास्थ्य परीक्षण गरिएको वडा अध्यक्ष तोरणबहादुर बानियाँले जानकारी दिए । शिविरमा गण्डकी मेडिकल कलेजका डा सविन श्रेष्ठ, हरियो खर्क अस्पतालका डा सुमन तामाङ लगायतका स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्य परीक्षण गरेका छन् ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले शिविर उद्घाटन गर्दै सरोकारवाला निकायसँगको समन्वयमा महानगरका ३३ वडामा वृहत निशुल्क स्वास्थ शिविर गर्ने बताए । ‘वडा कार्यालयले नियमित वार्षिक कार्यक्रम अन्तर्गत शिविर गरेको छ,’ मेयर आचार्यले भने, ‘महिलाले नियमित रुपमा परीक्षण गर्दा क्यान्सर लगायतको रोगबाट जोगिन सकिन्छ ।’ उनले चिकित्सकले पेशामात्र नगरेर सेवा पनि गरेको उल्लेख गरे ।
वडा अध्यक्ष बानियाँले वडाबासी जनता स्वास्थ नभएसम्म विकासको अर्थ नरहने बताए । मानव जीवनको लागि स्वास्थ्य नै धन भएको उनले उल्लेख गरे । वडा कार्यालयले भौतिक पूर्वाधारसँगै मानवीय विकासमा ध्यान दिएको जानकारी दिँदै उनले भौतिकतर्फ ६० र मानवीय विकासको लागि ४० प्रतिशत बजेट विनियोजन गरेको बताए ।
उनले वडा कार्यालयले वर्षमा २ पटक निशुल्क स्वास्थ्य शिविर गर्ने जानकारी दिए । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका नर्सिङ अधिकृत सविना श्रेष्ठले पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको प्रमुख कारण बनेको बताइन् ।
सहरी स्वास्थ्य केन्द्र पोखरा १५ का इन्चार्ज कृष्ण बास्तोलाले परीक्षण गर्दा पाठेघरको मुखको क्यान्सर भएको शंका लागेमा अस्पतालमा सिफारिस गरिने जानकारी दिए । राइट फर चिल्ड्रेनका प्रमुख कार्यकारी अधिकृत अनिल पौडेलले कोभिड १९ को प्रकोप बढेको बलादेखि वडाको पट्नेरी क्षेत्रमा बालबालिका र महिलाको क्षेत्रमा काम गरेको बताए ।
तपाईको प्रतिक्रिया