सम्पादकीयः बाढीको बितण्डा र पूर्व तयारी

समाधान संवाददाता २०८० साउन ३१ गते १२:२५

कहिलेकाँही छिटफुट वर्षा हुने मुस्ताङका पवित्र धार्मिक स्थल कागबेनी क्षेत्रमा बाढीले वितण्डा मच्चाएको छ । गत आइतबार राती आएको बाढीले त्यसक्षेत्रलाई बगरमा परिणत गरेको छ । पूर्व सूचना प्रणालीको कारण स्थानीय प्रशासन तथा स्थानीय तहले सूचना प्रवाह गरेको कारण मानवीय क्षति तथा ठुलो नोक्सानी टरेको छ । तथापी दामोदर कुण्डबाट आउने काली तथा मुक्तीनाथबाट आउने गण्डकीको संगमस्थलमा कागखोला आएको बाढीबाट २९ घरसहित १२ सवारी साधन पूर्ण रुपमा क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले मनसुनी वर्षा अबको एक दुई दिनमा कम हुने पूर्वानुमान गरेको छ ।

Advertisement


हिमाल पारीका जिल्ला मुस्ताङ र मनाङ २०७८ असार महिनाको अन्तिम सातामा मनसुनी वर्षातको कारण आएको बाढी पहिरोको चपेटामा परेका थिए । यो वर्षमा समेत बाढीको वितण्डा दोहोरिएको कारण हिमाल पारीका जिल्लामा विपद् व्यवस्थापनको लागि योजना निर्माण, बजेट विनियोजन गर्न आवश्यक देखिएको छ । नेपाल भरीको लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद्सम्बन्धी प्रक्षेपण गरी बाढी, पहिरो, डुबान/कटानलगायत प्राकृतिक प्रकोपबाट प्रभावित हुने घरधुरी तथा जनसंख्याको एकिन गर्छ ।

विपद्को सम्भावित उच्च जोखिममा यति धेरै घरधुरी र जनसंख्या समेटिए पनि क्षति रोक्न र न्यूनिकरणका लागि समयमै सुरक्षित स्थानान्तरण गरी वर्षातपछि पुरानै स्थितिमा फर्काउन नेपाल सरकारले पहल गरेको देखिदैन । सरकारको खाका प्रकोपअघि नै जनधनको क्षति रोक्नेमा भन्दा विपद्पछिको अवस्था केन्द्रीत देखिन्छ ।


मनसुनका कारण हुने यस्ता घटनाको प्रभाव न्यूनिकरण गर्न सरकारले पूर्वतयारीमा ध्यान दिनु पर्छ । घटनापछि उद्धार र राहतको योजनासँगै सम्भावित जोखिम रोक्ने योजना बनाउनु पर्छ । सरकारले विपद् रोक्ने वा जोखिममा रहेकाहरूलाई पहिले नै स्थानान्तरण गर्ने योजना बनाउनु आवश्यक छ । पहिरो वा बाढी गएमा उद्धार र राहतका लागि बजेट छ, तर त्यो पहिरो वा बाढी जानै नदिनका लागि काम गर्न बजेट नै छैन । त्यसैले विपद् भैसकेपछिका लागि मात्र योजना बनाउन भन्दा घटना हुन नै नदिने गरी बजेटमा व्यवस्थापन ध्यान दिनु आवश्यक छ ।

मनसुनका कारण निम्तिने विपद् व्यवस्थापनका लागि जोखिमयुक्त स्थानमा बन्दोबस्तीका सामानसहित टोली परिचालन गर्नुका साथै जोखिमयुक्त बस्तीमा सम्भावित बाढीबारे पूर्वसूचना प्रवाह गर्न सके मानवीय र भौतिक क्षति कम गर्न सकिन्छ । कागबेनीको बाढीको वितण्डामा पूर्व सूचना प्रणालीले मानवीय क्षति रोक्न सफल भएको देखिन्छ । बाढी पहिरोको क्षती कम गर्न व्यवस्थित बस्ती विकासदेखि विपद् व्यवस्थापनको लागि पूर्व तयारी, योजना निर्माण, बजेट विनियोजन गर्नमा तीनतहको सरकारबीच समन्वय र सहकार्य आवश्यक छ ।

Advertisement

तपाईको प्रतिक्रिया