सम्पादकीयः विद्यालय शिक्षामाथि प्रश्न

समाधान संवाददाता २०८० साउन ३२ गते १२:००

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार ५० प्रतिशत विद्यार्थी पास भएका छन् । आधा विद्यार्थी फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले सार्वजनिक गरेको यो नतिजा निराशाजनक हो । शिक्षा क्षेत्रमा सरकारको ठूलो रकम लगानी भएको छ । सँगसँगै निजी क्षेत्रले पनि शिक्षामा उल्लेख्य लगानी गरेको छ । विद्यार्थी परीक्षामा सहभागी हुनु र पास वा फेल हुनु सामान्य कुरा हो ।

Advertisement

तथापि आधा विद्यार्थी नै फेल हुनुले विद्यालय शिक्षाको स्वरुप, सिकाई प्रक्रिया र शिक्षा पद्धाति माथि नै प्रश्न उठेको छ । गत वैशाख २६ देखि जेठ ५ गतेसम्म देशभरका १ हजार ४ सय ५७ परीक्षा केन्द्रमा भएको परीक्षाको नतिजा सार्वजनिक भएको हो । ५० प्रतिशत पास भएको नतिजा गत सालभन्दा अझ सुध्रिएको हो । गत साल यो परीक्षामा उत्तीर्ण प्रतिशत ४७ थियो । यो परीक्षामा विद्यार्थी त फेल भएका छन् नै, सँगसँगै शिक्षक, नीति निर्माता, अभिभावक, कर्मचारी र समग्र सरोकारवाला नै फेल भएका छन् ।


४९ प्रतिशत भने नन ग्रेडेड छन् । यस वर्ष परीक्षामा नियमित र ग्रेडवृद्धि गरी ४ लाख ६७ हजार ३ सय ८९ विद्यार्थी परीक्षामा सहभागी थिए । १ लाख ८२ हजार परीक्षार्थी अनुत्तीर्ण भएका छन् । पास हुनका लागि सैद्धान्तिकतर्फ कमसेकम ३५ प्रतिशत अंक ल्याउनुपर्छ ।

अहिले लेटर ग्रेडिङ निर्देशिका संशोधन गरी जुन विषयमा एनजी हुन्छ, त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था भएको छ । कार्यालयले कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गतेलाई तोकेको छ । नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय ५ सय तिरेर पुनर्योग गर्न मिल्छ । त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गराउन सक्ने व्यवस्थासमेत छ ।


यो नतिजाले विद्यार्थीको अंग्रेजी शिक्षा सुधार्नैपर्ने सन्देश दिएको छ । सबैभन्दा धेरै अंग्रेजीमा १ लाख ९ हजार ५ सय २७ जना ननग्रेड भएका छन् । दोस्रोमा लेखा विषयमा ५२ हजार ७३ तथा सामाजिक अध्ययनमा ५१ हजारको ननग्रेड आएको छ ।

Advertisement

सदरमुकाम र बजार क्षेत्रमा रहेका केही बाहेक अधिकांश सरकारी विद्यालयको नतिजा निराशाजनक छ । पास भएका आधा विद्यार्थीमा पनि निजी विद्यालयको योगदान ठूलो छ । शिक्षा क्षेत्रमा राज्यले सीमित स्रोतका बाबजुद करिब २० प्रतिशत बजेट खर्च गरेको छ । यति ठूलो लगानीको आधा हिस्सा अनुत्तीर्ण हुँदा यसको गम्भीर समीक्षा जरुरी छ ।

तपाईको प्रतिक्रिया