‘३ महिनापछि डायलायसिस गर्न पालो पर्खिनु पर्दैन’

पोखरा ।
गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले चाडै मिर्गाैला रोगका बिरामीले डायलायसिस सेवा लिन पालो पर्खिनु नपर्ने अवस्था सिर्जना गरिने प्रतिवद्धता गरेकी छन् । आफू मन्त्री नियुक्त भएको १ सय दिनका उपलब्धि सार्वजनिक गर्न बुधबार आयोजित कार्यक्रममा मन्त्री सिंखडाले यस्तो बताएकी हुन् ।
अहिले गण्डकी प्रदेशका ९ सरकारी र ६ निजी गरी १५ स्वास्थ्य संस्थामा डायलायसिस सेवा उपलब्ध छ । प्रदेशमा ५ सय ७६ जनाले नियमित डायलायसिस सेवा लिइरहेका छ भने अझै ३ सय ३ जना पर्खाइमा छन् । ‘अहिले ३ सय जना पालो पर्खाइमा हुनुहुन्छ । ३ महिनापछि पर्खाइमा बस्ने बिरामीको संख्या शून्यमा झार्छाैं,’ उनले भनिन् ।
मन्त्री सिंखडाले ४६ बुँदा कार्यकालका उपलब्धि सार्वजनिक गरिन् । अहिले प्रदेशभर फैलिएको आँखा पाक्ने रोग नियन्त्रण र उपचारका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राखिएको र सहज उपचारको अवस्था मिलाइएको उनको दाबी छ । अघिल्लो सरकारले थालेका राम्रा कामलाई निरन्तरता दिँदै थप नयाँ कार्यक्रम गरिएको उनले उल्लेख गरिन् ।
प्रदेश सरकारको संक्रामक तथा सरुवा रोग अस्पतालमा २५ शड्ढयाको डायलायसिस केन्द्र सञ्चालन गर्दै छ । साउन २४ गतेको मन्त्रिपरिषद् बैठकले यो अस्पतालका लागि ४८ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । प्रदेश सरकारले दमौली, लमजुङ, स्याङ्जा र पर्वतका अस्पतालमा दुई/दुई डायलायसिस मेसिन थप गरेको छ ।
अहिले संक्रामक अस्पतालका २५ मध्ये १२ मेसिन चलाइएको छ । मेसिन सञ्चालनका लागि १३ स्टाफ नर्सलाई काठमाडौं पठाएर तालिम दिलाइएको छ । उनीहरु तालिमपछि अस्पताल फर्किइसकेका छन् । चाडै डायलायसिस केन्द्रका सबै मेसिन चलाउने प्रदेशको तयारी छ । मन्त्री सिंखडा भन्छिन्, ‘२५ वटै मेसिन चलेपछि दिनमै ७५ जनालाई सेवा दिन सकिन्छ । यो केन्द्रलाई पूर्ण क्षमतामा चलाउने र जिल्ला जिल्लाका अस्पतालमा मेसिन र जनशक्ति उपलब्ध गराएर ३ महिनाभित्र डायलायसिसका लागि पर्खिनु नपर्ने अवस्था बनाउने योजना छ ।”
मन्त्रालयका स्वास्थ्यतर्फका सचिव डा विनोदविन्दु शर्माले गण्डकीमा मंगलबारसम्म ११ हजार ९ सय २८ जना आँखा पाक्ने रोगको संक्रमणबाट पीडित भएको जानकारी दिए । अहिले देखिएको आँखाको संक्रमणमा आँखाको कर्नियामा समस्या नदेखिएको जनाउँदै उनले यो ५ देखि ७ दिनमा आफैं निको उल्लेख गरे ।
गण्डकी सरकारले मनाङ र मुस्ताङमा जिल्ला अस्पताल र पोखरामा संक्रामक तथा सरुवा रोग अस्पतालका भवन बनाइरहेको छ । जिल्ला अस्पताल भवन क्रमागत र सरुवा रोग अस्पतालको भवन बहुवर्षीय आयोजना अन्तर्गत भएको हो । मनाङ जिल्ला अस्पताल १५ करोड ५५ लाख र सरुवा रोग अस्पताल ३२ करोड र मुस्ताङ जिल्ला अस्पतालको भवन १२ करोडमा बनाउने सम्झौता भएको छ ।
प्रदेश सरकारले चालु आवमा पनि स्वास्थ्यतर्फ ६ प्रतिशतमात्र बजेट विनियोजन गरेको छ । थोरै स्रोत, साधन र जनशक्तिबाट मन्त्रालय र मातहतका निकायले काम गर्नुपर्ने अवस्था छ ।
तपाईको प्रतिक्रिया