कांग्रेस कास्कीका सभापतिको दिक्दारी– म भ्रममा परेछु, छलकपट घृणा र स्वार्थ रहेछ राजनीति

समाधान संवाददाता २०८० साउन ३२ गते १५:३५

पोखरा ।

Advertisement

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले राजनीति गर्ने शैली र अहिलेको अवस्था प्रति दिक्दारी व्यक्त गरेका छन् । उनले पूर्णकालीन राजनीति गर्ने मान्छेहरु प्रति आफ्नो विगतको बुझाई पनि गलत भएको भन्दै पश्चाताप गरेका छन् ।

सामाजिक सञ्जालमा एउटा लामो स्टाटस पोष्ट गरेका सभापतिले बरालले पार्टीका पूर्णकालिन कार्यकता बनेका नेताहरुको आलोचना मात्रै गरेका छैनन् उनीहरुबाटै राजनीति विकृत भएको बताएका छन् ।

मनको कुरा शिर्षक दिएर गरिएको पोष्टमा बरालले शिक्षण पेशा छोडेर पूर्णकालिन राजनीतिमा सकृय हुँदै कास्की कांग्रेसको सभापित बनेको प्रसंग उल्लेख गर्दै सभापति बन्ने बखतको उत्साह र उमंग अहिले भताभुङ्ग भएको संकेत गरेका छन् ।

प्रस्तुत छ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको बिचार जस्ताको तस्तै–

Advertisement

…मनको कुरा……………

मैले लामो समय बिधालय र बिश्वबिधालयको कक्षा कोठामा पढाएर बसे । कक्षा कोठामा पढाएर बस्दा राजनैतिक पार्टीका पुर्णकालिन नेता कार्यकर्तालाई हेरेर अनेकन धारणाहरु बन्दथे मन भित्र । उनिहरु प्रति धेरै ठुलो श्रदा जाग्दथ्यो । म पनि पुर्णकालिन कार्यकर्ता बन्न पाए कति रमालो हुन्थ्यो होला , कति धेरै अध्यनशिल र बिचारवान भइन्थ्यो होला, देश र जनताका निम्ति कति धेरै योजना, कार्यक्रम र दृस्ठिकोण निर्माण गरेर त्यसमा छलफल गरिन्थ्यो होला भन्ने लाग्द्थ्यो । पार्टीका बैठक र सभाहरुमा देश र जनतालाई केन्द्रमा राखेर कार्यक्रम र योजनामा गरमागर्मि बहस र छलफल हुन्छ र त्यसबाट आफुलाई परिष्कृत गराएर देश र जनताका निम्ति धेरै काम गर्न सकिन्छ भन्ने लाग्दथ्यो । यहीँ उच्च बिश्वासका साथ बिधालय र बिश्वबिद्धालयको कक्षा कोठा छोडेर राजनीतिको कक्षामा आए । केहि समय दङ परे । धन्य सम्झे आफुलाई । त्यसमा पनि कक्षा कोठाको हेड्मास्टर भएको म छोटो समयमै नेपाली काङ्ग्रेस जस्तो ठुलो राजनीतिक पार्टीको कास्की जिल्लाकै हेडमास्टर बने । खुसीको सिमा रहेन ।

परिस्थिति सोचे भन्दा नितान्त भिन्न रहेछ । मैले हिजो सोचेको पुर्णकालिन कार्यकर्ता र आज बुझेको र अनुभव गरेको पुर्णकालिन कार्यकर्तामा धेरै ठुलो फरक रहेछ । देश र जनताका निम्ति काम गर्दा, अध्ययन गर्दा, योजना र कार्यक्रम बनाउदा र त्यसको कार्यान्वयनका लागि ब्यस्त हुनु पर्ने भएकोले समय नपाएर राजनीतिक पार्टीका नेता कार्यकर्ताहरु पुर्णकालिन भएका होलान भन्ने लाग्द्थ्यो । जागीर खाने , ब्यापार ब्यबसाय संचालन गर्ने लगायतका आय आर्जनका काममा लाग्न कसलाई मन लाग्दैन र भन्ने सोच्थे । आय आर्जनको आफ्नो ब्यक्तिगत इच्छा त्यागेर देश र जनताका निम्ति पुर्ण कालिन राजनीतिमा लागेका यिनिहरु प्रति श्रद्धा जाग्नु स्वभाबिक पनि थियो । श्रद्धा त्यतिबेला भताभुङ भएर भत्किन्छ जब आफुले श्रद्धागरेका पुर्णकालिन कार्यकर्ताहरुलाइ जागिर खान , उद्दोग धन्दा र ब्यापार ब्यबसाय संचालन गर्ने ढंग र क्षेमता नभएर पुर्णकालिन भएका हुन भनेर दुनियाँले कटाक्ष गर्दछ ।

म फेरि पनि भन्छु परिस्थिति फरक रहेछ । बुझाई गलत भएछ । राजनितीको कक्षा कोठामा त अनुशासन , बिचार, मर्यादा , बिश्वास मरिसकेको रहेछ । देशका निम्ति निर्माण गरिने योजना , कार्यक्रम र त्यस माथिको छलफल र कार्यान्वयनको प्रतिबद्धता त एका देशको कथा रहेछ । नाङ्गै नाङ्गाहरुको देशमा कपडा लगाउनेहरुलाई बौलाहा भनिन्छ रे । ठिक त्यस्तै अवस्था रहेछ राजनीतिमा । ब्यक्तिगत स्वार्थ , गुटको स्वार्थ र अलिकति पर आफु आवद्ध राजनैतिक पार्टीको स्वार्थ भन्दा माथि उठेर देश र जनताको पक्षमा बोल्ने , लेख्ने कोहि पनि देखिदो रहेनछ । मंचमा बस्ने , माला लगाउने , भाषण गर्ने , अरुका कुरा काट्ने , यो भएन र उ भएन भन्ने तर हुनु पर्ने के हो भन्ने थाहा नपाउने र गाली , घृणा र द्वेष फैलाउनु लाई राजनीति भनिदोरहेछ । यसैका लागि पुर्णकालिन कार्यकर्ता बने बनाए जस्तो देखिदो रहेछ । यसैले त देश र जनताका निम्ति योजना , बिचार र कार्यक्रमका बारेमा कुरा गर्नेहरुलाई बौलाहा , कमजोर , कायर र राजनीति गर्न नजानेको लठ्ठु भन्दो रहेछ राजनीतिले । देशको गरिमामय संसदमा हुने बहस , राजनैतिक पार्टीका स्थानीय तह देखि केन्द्रीय तहमा हुने बैठक र त्यस भित्र हुने छलफल यसका उदाहरणहरु हुन ।

कक्षाकोठा भित्रबाट राजनीति प्रति उच्च श्रद्धा , आशा र भरोसा राखेर राजनीतिमा आएको मलाई यसबाट चित्त बुझाउन सकिने कुरै भएन । चित्त नबुझेको कुरा भन्नै पर्यो । राजनीति यो हैन भनेर बुझाउने कोशिश गर्नै पर्यो । राजनीति भनेको ब्यक्तिगत स्वार्थ , गुट उपगुट र पार्टीको कुरा होइन । यो त देश र जनताको कुरा हो । जनताको खुशी , प्रेम र समृद्धि हो राजनीति । त्यसैका लागि हो राजनैतिक संगठन । हामीले जे लाई राजनीति भनेका छौ , यो त राजनीति नै होइन । यो त देश र जनता प्रतिको छल हो । राजनीतिलाई फरक तरिकाले बुझौ । जनताका निम्ति आवश्यक कार्यक्रमका बारेमा छलफल र बहस गरौं । राजनैतिक पार्टीका सबै नेता कार्यकर्ताहरुलाई सिर्जनासग जोडौ, आय आर्जन सग जोडौ, उद्धमशिलता सग जोडौ , उत्पादन सग जोडौ । यदि राजनैतिक पार्टीका नेता कार्यकर्ताहरुबाट यसको सुरुवात गरियो भने समाजलाई उत्प्रेरणा मिल्दछ र सम्पुर्ण समाज नै उद्धममैत्री बन्दछ । यसो भयो भने मात्र देशले आर्थिक रुपान्तरणको बाटो तय गर्दछ । यो प्रयासको परिणाम प्राप्त हुन केहि लामो समय अवश्य पनि लाग्न सक्छ । भनिन्छ हजारौं माइलको यात्रा , पहिलो पाईलाबाट शुरु हुन्छ । कमसेकम बहस त शुरु गरौं । आजबाट बहस शुरु गरे आठ दश बर्षमा यसको सानो झिल्को देखिन थाल्छ । यदि हामीले बहसनै प्रारम्भ गरेनौ भने हामी हजारौं बर्ष सम्म पनि कहिँ पुग्दैनौ भन्ने मेरो बुझाईलाई साथीहरूका बीचमा राख्दा हिजो मास्टर थियो त्यसैले आज पनि माष्टर भएर हामीलाई पढाउन लागेको भनेर खिस्सिट्युरी गरिन्छ । यसबाट के देखिन्छ भने राजनीति बुझेका छौ भनेर भ्रममा बाचेकाहरुलाई बुझाउन नेपाली राजनीतिमा केही ठुलो सङ्ख्यामा माष्टरहरु, उद्धोगी व्यावसायिहरु र सिर्जनासग जोडिएका सिर्जनशील ब्यक्तिहरुको खाचो रहेछ ।

………………..जय नेपाल …………..

तपाईको प्रतिक्रिया