बाटोमा घर ल्याउने कि घरमा बाटो ?

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाटोमा घर ल्याउने कि घरमा बाटो भन्ने बारेमा बहस चलाउनुपर्ने बताएका छन् । गण्डकी प्रदेशसभामा बाढी पहिरोले पुर्याएको क्षति सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफलमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको बिहीबार जवाफ दिने क्रममा मुख्यमन्त्री पाण्डेले घरघरमा बाटो लैजाँदा लागतसँग भूक्षय बढीराखेको उल्लेख गरेका हुन् ।
‘इन्जिनियरको कुरा के आएको छ भने हामीले एउटा कुराको निक्र्याेल गर्नुपर्ने छ भन्ने छ, उहाँको भनाइ । घरमा बाटो लाने कि बाटोमा घर । हामीले अहिलेसम्म घरमा बाटो लैजाने प्रयत्न गरियो र काम गर्यौं,’ उनले भने, ‘गाउँहरु, बस्तीहरु खाली हुन थाले । हिजो ५० घर हुने अहिले ५ घर हुन थाल्यो । हिजो सय घर हुने अहिले १० घर हुन थाल्यो । तर, हाम्रो ट्रेन चाहिँ त्यही छ कि त्यही गाउँमा बाटो पठाउने । ५ घर होस् कि १० घर होस् कि । त्यसले गर्दाखेरि लागत पनि बढिराखेको छ । र भूक्षय पनि बढ्दै छ ।’
विपक्षी दलका प्रदेश सभा सदस्यहरुले मुस्ताङको कागबेनीमा पहिरोले वितण्डा मच्चाउँदा पनि मुख्यमन्त्री पाण्डे स्थलगत अवलोकनका लागि नगएको भन्दै आलोचना गरेका थिए । पाण्डेले आफू नगए पनि त्यहाँको नियमित रिपोर्टिङ लिने र आवश्यक निर्देशन दिने गरेको बताए ।
‘हेलिकोप्टर चढेर गएको भएपनि जनता बाढीको चपेटामा परेका बेला मुख्यमन्त्री हेलिकोप्टर चढेर फर्किए भनेर आलोचना हुन्थ्यो’
‘यहाँ विपक्षी दलका माननीयज्यूहरुले बाढीले तहसनहस बनाउँदा पनि मुख्यमन्त्री पाण्डे अवलोकनका लागि जानु भएन भनेर भन्नुभो,’ उनले भने, ‘बाढीले वितण्डा मच्चाएको ठाउँमा आफू जाने कि ? आफू जाने खर्चले सामान पठाउने ? मैले आफू जाने खर्चले सामान पठाउने निर्णय लिएँ ।
म हेलिकोप्टर चढेर जाँदा १ लाख ४० हजार लाग्दो रहेछ । तर त्यो रकम बराबरको सामान किनेर पठाएँ ।’ आफू हेलिकोप्टर चढेर गएको भएपनि जनता बाढीको चपेटामा परेका बेला मुख्यमन्त्री हेलिकोप्टर चढेर फर्किए भनेर आलोचना हुन्थ्यो भन्नेमा आफू सचेत रहेको सुनाए । ‘अहिले त्यो पैसाले सामान पठाउँदा पनि आलोचना भइरहेको छ,’ उनले भने ।
प्राकृतिक विपत्ति कम गर्न पवित्र स्थल कागबेनीमा पूजा गर्नुपर्नेसमेत मुख्यमन्त्री पाण्डेले बताए । गण्डकी ऋषिमूनिहरुको तपोभूमि भएकाले बाढी पहिरो जाँदापनि मानवीय क्षति नभएको हुनसक्ने उनले सुनाए । ‘सोह्र श्राद्धमा पितृलाई तर्पण दिइन्छ ।
कागबेनी पवित्र भूमि हो । गयामा श्राद्ध गरेपछि घरमा श्राद्ध नगरे पनि हुन्छ भन्छ । तर गयामा श्राद्ध गर्नुभन्दा पहिले कागबेनीमा श्राद्ध गर्नुपर्छ भन्छ । यो पटकको श्राद्धचाहिं कागबेनीमा गएर गर्नुपर्छ कि भनेर मलाई चस्स लागेको छ । कम्युनिस्ट साथीहरुलाई पूजा गर्नूस् भनेर त म भन्न सक्दिन ।
तर, मचाहिँ अध्यात्मवादी भएकाले त्यहाँ पूजा गर्नुपर्छ भन्ने लाग्छ,’ उनले भने । मुख्यमन्त्री पाण्डेले जनतालाई सरकारविहीन छु भन्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाएका छन् । ‘प्रदेशवासीको हर समस्याको समाधानका लागि सरकार लागिरहेको छ । सरकार छैन, म एक्लो छु वा जनतालाई सरकारविहीन छु भन्ने अवस्था आउन दिने छैन । त्यसमा म सचेत छु र त्यसमा म दत्तचित्त भएर लाग्छु,’ उनले भने ।
तपाईको प्रतिक्रिया