साढे ५ सय रोपनीमा स्याउ खेती

रामबहादुर थापा २०८० भदौ १ गते १३:२८

गण्डकी ।
गण्डकी प्रदेशका हिमाली र उच्च पहाडी भेगमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ । मुस्ताङ, मनाङ, बागलुङ, गोरखा लगायत जिल्लामा गरी ५ सय ७२ रोपनी क्षेत्रमा स्याउखेती विस्तार गरिएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।


हिमाल पारिका जिल्ला मुस्ताङ र मनाङ स्याउका लागि उर्बर भूमि हुन् । बागलुङको ढोरपाटन, गोरखाको चुमनुब्री, म्याग्दीको गुर्जा लगायतका ठाउँमा पनि उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती सुरु गरिएको प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताए ।


स्याउखेती विस्तार तथा व्यवसायीकरण आयोजनाबाट ३ सय ९२ र शितोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजनामार्फत १ सय ८० रोपनी क्षेत्रफलमा स्याउखेती विस्तार गरिएको हो । ‘मुख्य रुपमा मुस्ताङ र मनाङमा स्याउ खेतीलाई केन्द्रित गरिएको छ, अरु जिल्लाका उच्च पहाडी भेगमा पनि थोरैथोरै क्षेत्रमा स्याउखेती सुरु गरिएको छ,’ प्रमुख रेग्मीले भने ।

Advertisement


गत आवमा स्याउखेती विस्तारतर्फ ११ करोड ५० लाख र शितोष्ण फलफूल विस्तारमा ६ करोड बजेट खर्च भएको छ । स्याउखेती विस्तार तथा व्यवसायीकरण आयोजनाबाट मुस्ताङमा ५८ हजार ८ सय स्याउका बिरुवा वितरण गरिएको थियो ।
शितोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजनामार्फत अन्य जिल्लामा २७ हजार स्याउका बिरुवा वितरण गरिएको प्रमुख रेग्मीले बताए । । शितोष्ण फलफूल विस्तार आयोजनाअन्तर्गत १० हजार १ सय ओखरका बिरुवासमेत वितरण गरी थप ५ सय ५ रोपनीमा ओखर बगैँचा विस्तार भएको जनाइएको छ ।


विस्तार गरिएको स्याउ खेतीबाट प्रतिकिलो १ सय ५० का दरले वार्षिक झन्डै १७ करोड ३७ लाख बराबरको स्याउ उत्पादन हुने निर्देशनालयको अनुमान छ । औसतमा १० प्रतिशत बोट मरे पनि बाँकी बोटले वर्षमा १५ किलो उत्पादन दिँदा वार्षिक १ हजार १ सय ८५ मेट्रिक टन स्याउ उत्पादन हुने जनाइएको छ ।

Advertisement


स्याउका लागि मुस्ताङमा १ सय टन क्षमताका दुई चिस्यान केन्द्र पनि निर्माण गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि अधिकृत हरिप्रसाद न्यौपानेले बताए । थासाङ गाउँपालिकाको टुकुचे र घरपझोङ गाउँपालिकाको मार्फामा चिस्यान केन्द्र निर्माण गरिएको हो ।


अधिकृत न्यौपानेका अनुसार लोमान्थाङ गाउँपालिकाबाहेक मुस्ताङका चारै गाउँपालिकामा उच्च घनत्वमा आधारित स्याउ खेती विस्तार गरिएको हो । ‘किसानले बिरुवामा ७५ प्रतिशत र खेती व्यवस्थापनमा ५० प्रतिशत अनुदान पाएका छन्’, उनले भने, ‘उच्च घनत्वको आधुनिक प्रविधिको स्याउखेतीतर्फ किसानको आकर्षण बढ्दो छ, बर्सेनि मुस्ताङमा स्याउको क्षेत्रफल बढिरहेको छ ।’


रैथाने जातभन्दा उच्च घनत्वको स्याउका बोट होचो र हाँगाबिँगा कम हुने हुँदा बगैँचा व्यवस्थापन गर्न पनि सजिलो हुने उनको भनाइ छ । छिटो र धेरै उत्पादन दिने भएपछि उक्त प्रविधिको स्याउखेतीतर्फ किसान आकर्षित भएका हुन् । उच्च घनत्वको स्याउखेतीका लागि एउटै बिरुवाको १ हजारदेखि १ हजार २ सयसम्म मूल्य पर्ने र बगैँचा व्यवस्थापन पनि खर्चिलो भएकाले सरकारले थप अनुदान सहुलियत दिनुपर्ने किसानको माग छ ।


उक्त प्रविधिको स्याउखेती ७/८ वर्षअघि मात्र नेपाल भित्रिएको थियो । गण्डकी प्रदेशमा सुरुमा मनाङबाट उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती सुरु गरिएको थियो । ‘यो स्याउका बिरुवा इटालीदेखि नेपाल भित्र्याइएको हो, थोरै जग्गामा पनि धेरै बिरुवा लगाउन सकिन्छ, छिटो र धैरै पनि फल्छ, २५ वर्षसम्म यसले उत्पादन दिन्छ’, अधिकृत न्यौपानले भने, ‘मुस्ताङमा धेरैजसो गाला, फुजी, गोल्डेन लगायत जातका स्याउखेती गरिएको छ, तीन/चार वर्षमै यसले उत्पादन दिन सुरु गर्छ ।’

तपाईको प्रतिक्रिया