मुस्ताङ कागबेनीको बाढी

बाढीले पुरेको १ करोड ६५ लाख रुपैयाँ भेटियो

सुन्दरकुमार थकाली २०८० भदौ ४ गते १०:३१
साउन २८ गतेको कागखोला बाढीले पुरिएको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नगद मौज्दातसहित भल्ट बाकस बाहिर निकाल्दै सुरक्षाकर्मी । तस्बिरः जिप्रका मुस्ताङ

जोमसोम ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ कागबेनीमा अवस्थित दुइटा बैंक तथा वित्तीय संस्थाको बाढीले पुरेको १ करोड ६५ लाख रकम भेटिएको छ । कागबेनीमा सञ्चालनमा रहेको प्रभु बैंक शाखाको ६५ लाख रुपैयाँ शुक्रबार भेटिएको थियो । आइतबार दिउँसो २ बजे कागबेनी शाखा रहेको अर्को नेपाल इन्भेन्टमेन्ट मेगा बैंक (एनआइएमबी)को नगद मौज्दात रहेको १ करोड ५ लाख रुपैयाँ भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।


अविरल वर्षाका कारण गत साउन २८ गते साँझ आएको कागखोला भीषण बाढीले कागबेनीमा रहेका दुइटा बैंक तथा वित्तीय संस्था बाढीले डुबानमा परेको थियो । त्यससमय बैंक तथा वित्तीय संस्था रहेको घरसँगै २९ घरहरुमा पूर्ण क्षति भएको थियो । १३ घरहरु आशिंक क्षति भएको थियो । बाढीले ३२ वटा चौपाया र १८ वटा सवारी साधन बगाएको थियो । कागखोलाको बाढीले प्रसिद्ध धार्मिक श्राद्धस्थल कागबेनीधामको पुरै धार्मिक संरचना ध्वस्त बनाएको थियो । एक पक्की पुलसहित ४ वटा अस्थायी पुलमा बगाएको थियो ।

बैंकको रकम रहेको भल्ट बाकस पुरै बाढीको लेदोसहितको माटोले पुरिएको अवस्थामा फेला

Advertisement


कागबेनीमा आकस्मिक बाढीले करोडौंका भौतिक संरचनामा क्षति पुर्‍याएसँगै त्यहाँ नदी नियन्त्रण, नदीको उकार सम्याउने लगायत कार्य जारी थियो । उद्धारको क्रममा कागबेनीमा रहेको बैंक शाखा दुई तले घर पुरै बाढीसहितको लेदो पदार्थ र ग्रेगानले पुरिएको थियो । शुक्रबार सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले विपद् प्रतिकार्य उपकरण प्रयोग गरी प्रभु बैंक कागबेनी शाखा रहेको घरमा पुरिएको ६५ लाख रुपैयाँ बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलनबहादुर विकले जानकारी दिए । प्रभु बैंक कागबेनी शाखाको दोस्रो तलामा रहेको सामान बाढीले बगाएपछि शाखाको भुइँतलामा रहेको नगद बाढी आएको ५ दिनपछि खनेर बाहिर निकालिएको प्रहरी निरीक्षक विकले बताए ।


प्रभु बैंकको भेटिएको रकम प्रहरी, प्रशासन, स्थानीय तह र स्थानीयबासीको रोहबरमा बाढी प्रभावित क्षेत्रमै मुचुल्का गरी प्रभु बैंक जोमसोम शाखालाई हस्तान्तरण भइसकेको कागबेनी शाखाकी प्रमुख विमला शेरचनले उल्लेख गरिन् । बैंकको सबै रकम काम लाग्ने अवस्थामा रहेको शाखा प्रमुख शेरचनको भनाई छ । प्रभु बैंकले कागबेनीमा दुई तले घर भाडामा लिएर शाखा सञ्चालन गरेको थियो ।

Advertisement


यसैगरी बाढी प्रभावित क्षेत्र कागबेनीमा रहेको होटल ल्हासाको ग्राउण्ड फ्लोरमा संञ्चालनमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बंैकको नगद पनि सुरक्षाकर्मीले ७ दिनपछि बाहिर निकालेको प्रहरी निरीक्षक मिलनबहादुर विकले जानकारी दिए । बैंकको रकम रहेको भल्ट बाकस पुरै बाढीको लेदोसहितको माटोले पुरिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक विकको भनाई छ ।

उक्त बैंकका मुस्ताङ इन्चार्ज महेश थकालीले पुरिएको अवस्थामा भेटिएको रकममध्ये ५ र १० रुपैयाँ दरका नोट रहेको करिब ३ लाख रुपैयाँमा आंशिक क्षति भएको र अन्य सबै रकम सुरक्षित रहेको बैंकका मुस्ताङ शाखा इन्चार्ज थकालीले खुलाए ।
शाखाको लेदो पन्छाएर बाहिर निकालिएको रकम प्रहरी, स्थानीय तह र गाउँलेको रोहबरमा कानुनी मुचुल्का गरी बैंकलाई हस्तान्तरण भएको थकालीले बताए । कागबेनी बाढीले पुरिएर क्षति भएका घरहरुमा डोजर परिचालन गरी गाडिएका धनमालहरु बाहिर निकाल्ने काम भइरहेको छ । यसका लागि स्थानीय र प्रहरीले समन्वय गरी बाढी पीडितको उद्धारमा अहोरात्र जुटेका छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया