लेखनाथ सामुदायिक सेवा केन्द्रको फुटसलको उपाधि बगरलाई

लेखनाथ ।
लेखनाथ सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवाले आयोजना गरेको कास्की जिल्ला स्तरीय अन्तर सामुदायिक सेवा केन्द्र मैत्रीपूर्ण फुटसलको उपाधि बगर सामुदायिक सेवा केन्द्रले हात पार्न सफल भएको छ ।
मानव स्वास्थ्यका लागि खेल भन्ने उद्देश्यका साथ आयोजना गरिएको मैत्रीपूर्ण फुटसलमा कालिका सामुदायिक सेवा केन्द्र उपविजेता भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी बुद्धिराज गुरुङले लेखनाथ सामुदायिक सेवा केन्द्रले गरेका सामाजिक कार्यको प्रशंसा गर्दै खेलकुदले मानिसलाई मानसिक रुपमा स्वास्थ्य राख्ने र यसले सामाजिक अपराधिक क्रियाकलापलाई समेत नियन्त्रण गर्ने बताएका थिए ।
खेलकुद कार्यक्रमले भाइचाराको सम्बान्धलाई अझ प्रगाढ बनाउने भएकाले अन्य सामाजिक संघ संस्थाले पनि खेलकुदको महत्वलाई बुझ्न आवश्यक रहेको बताएका हुन् । इलाका प्रशासन कार्यालय प्रमुख कमलराज भण्ढारीले लेखनाथ सामुदायिक सेवा केन्द्रले गरेका विभिन्न सामाजिक कार्यमा आफू सहभागी हुँदै आएको बताउँदै सभ्य समाज निर्माणमा सबै व्यक्ति, समुदाय जिम्मेवारी हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ, लेखनाथ सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष मोती गिरी, लेखनाथ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव रक्षा भट्टराई, सामुदायिक सेवा केन्द्र जिल्ला समन्व्य समितिका अध्यक्ष भीम पराजुली, लेखनाथ उद्योग वाणिज्य संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु), बगर सामुदायिक सेवा केन्द्रका अध्यक्ष रामप्रसाद अधिकारी लगायतले सामुदायिक सेवा केन्द्रले गरेका कार्यको र मानव जीवनमा खेलकुदको महत्वमाथि प्रकाश पारेको थियो ।
लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सेवा केन्द्रका सह सचिव दीपकप्रसाद भण्ढारीले गरेका थिए । कार्यक्रम संयोजक एवं कार्यसमितिका सदस्य कृष्णप्रसाद सुवेदीले स्वागत मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया