पोखराको फोहोर व्यवस्थापन र चुनौती

झलक शर्मा २०८० भदौ ५ गते १२:०७

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपश्चात पोखरा महानगरपालिकालाई फोहोर व्यवस्थापनमा जटिलता आएको छ । विगतमा पोखरा वडा नं. १४ बाच्छेबडुवा स्थित फोहोर व्यवस्थापन गरिएको क्षेत्रलाई निरन्तरता दिँदा हवाई उडानमा प्रभाव पर्ने हुनाले त्यस क्षेत्रबाट अन्यत्र सार्नुपर्ने बाध्यता भयो । पोखरा महानगरपालिकाले विभिन्न क्षेत्रमा सम्भावित क्षेत्रका रुपमा अध्ययन अनुसन्धान पनि गर्‍यो । कतिपय स्थानमा स्थानीयबासीको विरोध र प्राविधिक कठिनाइले गर्दा दीर्घकालीन रुपमा फोहोर व्यवस्थापनमा सकस देखिएको छ ।

Advertisement


धरानदेखि भारतको नयाँ दिल्लीसम्म महानगरको टोली अध्ययन तथा अवलोकनमा गयो । धरानमा फोहोर व्यवस्थापनबाट ग्याँस निकालिएको र भारतको दिल्लीमा विद्युत उत्पादनको अभ्यास हेरेर अध्ययन टोली फर्किएको थियो । विमानस्थल सञ्चालनमा आउनुको ठिक २ दिनअघि देखि पोखरा ३२ लामेआहाल स्थित श्यामघाट सेती नदीको किनारमा अस्थायी रुपमा फोहोर विर्सजन गर्दै आएको थियो । महानगरपालिकाले स्थानीय बासिन्दासँग गरेको सहमति बेगर फोहोर बिसर्जनमात्र गरेको र व्यवस्थापन नगरेको भनी अवरोध हुँदा केही साता पोखरामा फोहोर संकलन भएको थिएन ।


फोहोर संकलनमा ढिलाई हुँदा पोखराको सडक, गल्ली र घरघरमै फोहोर थुप्रिदा दुर्गन्ध फैलिएकोे थियो । यति बेला पोखरा महानगरपालिकाले पूर्व सम्झौता अनुसार नै फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएपछि स्थानीयको अवरोध हटेको छ । फोहोर बिर्सजन गरिसकेपछि माटोले पुर्नु पर्ने, ल्यान्डफिल साइड वरपरका बासिन्दाको स्वास्थ्य बिमा गर्ने, फोहोर बिर्सनन स्थलबाट दुर्गन्ध आउन नदिन किटनाषक विषादी छर्ने लगायतमा सहमति भएको छ । लामेआहालका स्थानीयले अवरोध हटाएता पनि फोहोर व्यवस्थापनमा भावी दिनमा अरु चुनौती भने रहिरहने देखिन्छ । लामेआहाल त अस्थायी विसर्जन केन्द्रमात्र हो । पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थान, फोहोरको उपयोग र तत्सम्बन्धी आवश्यक योजना लागू गर्नुपर्ने हुन्छ ।


पोखरालाई पर्यटकीय राजधानीको रुपमा चिनिन्छ । मुलुकका ६ वटा महानगरपालिकामध्ये क्षेत्रफलको हिसाबले पोखरा सबैभन्दा ठूलो महानगरपालिका हो । राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त नतिजा अनुसार कुल जनसंख्या ५,१३,५०४ रहेको छ । ३३ वडामा विभाजित यस महानगरपालिकाको क्षेत्रफल ४६४.२४ वर्ग किमी रहेको छ । आजभोलि पोखरामा तीव्र सहरीकरण भइरहेको छ । पोखरालाई कर्मथलो बनाउने अभिलाषाले बसाइँ सरेर आउनेको संख्या बढ्दो छ । तीव्र जनसंख्या बृद्धि, बसाइँसराइले गर्दा पोखराको सौन्दर्यमाथि चुनौती थपिएको छ ।


पोखरामा रहेका तालतलैया, ननीनालामा लुकीछिपी फोहोर विसर्जन गर्ने प्रवृत्ति देखिएको छ । घना बस्ती तथा खोलाखोल्सामा मापदण्ड विपरीत बनाइएका घर, भवन तथा अन्य भौतिक संरचनाले पोखरालाई कुरुप बनाउँदै लगेको छ । त्यसको फलस्वरुप बेलाबखतमा पोखरालाई विपद्ले पनि सताउँदै आएको छ । सवारी साधनको बढ्दो चाप एव पुराना पत्रु तथा थोत्रा सवारी साधनको लिलामी तथा तिनको व्यवस्थापन गर्न नसक्दा वातावरणमा धूवाँ धुलो मिसिई नगरबासीको स्वास्थ्यमा असर परेको छ ।

Advertisement


मुख्य मुख्य चोकमा जाम हुने, अनावश्यक हर्न बज्दा ध्वनि प्रदूषण बढ्दै गएको छ । सडक पेटीमा नै मोटरसाइकल, ट्याक्सी धुने, मर्मत गर्ने हुनाले बाटोमा हिड्ने मानिसलाई अप्ठ्यारो हुने गरेको छ । प्लास्टिकका झोलालाई विस्थापित गरी अन्य चाडै गल्ने प्रकृतिका झोला प्रयोगमा ल्याउन सकिएको छैन । व्यापारिक प्रयोजनका लागि प्रयोग हुने कार्टुन, कभरहरु सडकमा नै फाल्ने बानीले मुख्य व्यापारिक केन्द्रहरु सुन्दर देखिन छाडेका छन् । पछि जोडिएका वडाहरुको फोहोर संकलनलाई निरन्तरता दिन सकिएको छैन । साबिकका गाविसहरु पातलो बस्ती भएका कारण त्यहाँका स्थानीय बासिन्दाले फोहोर व्यवस्थापन गर्नुपर्ने महसुस नगरेता पनि भोलिका दिनमा त्यहाँको उपयुक्त तवरले फोहोर संकलन गर्नुपर्ने हुन्छ ।


पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरामा बाह्य पर्यटकको संख्या वृद्धि हुने अपेक्षा गरिएको छ । सोही अनुरुप व्यापारिक गतिविधि पनि फस्टाउने देखिन्छ । पर्यटकलाई सुन्दर नगरको पहिचान दिलाउनलाई पोखराको वातावरण स्वच्छ र स्वस्थ बनाउनु जरुरी छ । पोखरामा निर्माण हुने भौतिक संरचनाहरु दिगो र वातावरणमैत्री हुनु आवश्यक छ । नियमित रुपमा फोहोर संकलन गर्ने, फोहोर करलाई फोहोर व्यवस्थापनमा नै खर्च गर्नु पर्दछ ।


फोहोर संकलन तथा व्यवस्थापनका लागि हुने ठेक्का पट्टा सार्वजनिक खरिद ऐन २०६३ बमोजिम स्वच्छ, पारदर्शी हुनु पर्दछ । फोहोरलाई मोहोर बनाउने विगतकै नारालाई आत्मसाथ गर्दै जति सक्दो फोहोरलाई उपयोग गर्ने विषयमा महानगरको ध्यान जानु आवश्यक छ । उपयुक्त तवरबाट फोहोर व्यवस्थापन नहुँदा आँखा पाक्ने रोग, हैजा, डेंगु, दम, विभिन्न प्रकारका फ्लुहरु महामारीका रुपमा देखा पर्न सक्छन् । त्यस्तै, जलवायु परिवर्तनको असरले हिमालहरुमा हिँउ नपर्ने, हावापानीमा फेरबदल हुने जस्ता समस्या झेल्नु पर्दछ ।


फोहोर व्यवस्थापन मानव स्वास्थ्य र प्राकृतिक सौन्दर्यसँग सम्वन्धित छ । फोहोर व्यवस्थापनमा महानगरको मात्र जिम्मेवारी हो भनेर नगरबासी उम्कनु मिल्दैन । यसमा महानगरपालिका, नगरबासी, सार्वजनिक संघ, संस्थाबीच आपसी समन्वय र सहकार्यमार्फत फोहोर व्यवस्थापन गर्दा बढी प्रभावकारी हुन जान्छ । नगरबासीले आफ्नो घरमा सृजना भएको फोहोरलाई आफैंले नै व्यवस्थापन गर्ने, त्यसलाई उपयोग गर्न सकेमा फोहोर व्यवस्थापनमा कठिनाई उत्पन्न हुन सक्तैन । सड्ने प्रकृतिको फोहोरलाई प्रांगारिक मलमा परिणत गरी कौसी खेतीमा प्रयोग गर्ने एवं मललाई बिक्री गरी आयआर्जन गर्न सकिन्छ । बजारमा किनमेल गर्न जाँदा आफैंले हातेझोला लिएर जाने र प्लास्टिकका झोलाको बेफाइदाको बारेमा छरछिमेकलाई बताउने गर्नुपर्छ ।


नगरबासीले आफ्नो दैनिक कामकाज र व्यवहार वातावरणमैत्री बनाउन सकेको खण्डमा एकातिर फोहोर उत्पादन नै कम हुन्छ भने व्यवस्थापनमा पनि कठिनाइ आउँदैन । फोहोर व्यवस्थापनका लागि आवश्यक स्रोत, साधन र जनशक्तिको व्यवस्था गर्नु लाभदायी हुन सक्छ । सबै वडामा जिरो वेस्ट अर्थात् फोहोरमुक्त वडा बनाउने अभियानमा लागे फोहोर व्यवस्थापनमा सहज हुने देखिन्छ । महानगरपालिकाले नगरबासीलाई फोहोर व्यवस्थापनसम्बन्धी तालिम दिनु पर्छ । फोहोर व्यवस्थापनमा योगदान दिने व्यक्ति, संघ, संस्थालाई पुरस्कृत गरी प्रोत्साहन गर्नु पर्छ । घर भवन तथा भौतिक संरचना निर्माण गर्दा प्रत्येक संरचनामा २ विरुवा अनिवार्य रोप्ने प्रावधान बनाउन सकेमा स्वच्छ हरियाली वातावरण निर्माणमा सघाउ पुग्छ ।


फोहोर व्यवस्थापन ऐन २०६८ ले फोहोरमैला व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहलाई दिएको कारण फोहोर व्यवस्थापनमा महानगर जागरुक देखिनु पर्छ । वातावरण संरक्षण ऐन २०७६ तथा नियमावली २०७७ ले उल्लेख गरेको व्यवस्था कार्यान्वयन गर्न सकेमा पोखरालाई फोहोर व्यवस्थापनको नमूना सहरको रुपमा प्रस्तुत गर्न सकिन्छ । पोखराको प्राकृतिक सौन्दर्यले विश्वलाई लोभ्याएको छ । तसर्थ मौलिक पहिचानसहित सुन्दर, स्वच्छ र स्वस्थ नगर बनाउन सबैको हातेमालो आवश्यक छ ।
[email protected]

तपाईको प्रतिक्रिया