ऊर्जा मन्त्रालयको ३ महिने उपलब्धि: मन्त्रालयमा सोलार जडान

समाधान संवाददाता २०८० भदौ ७ गते ११:१९

पोखरा ।
अहिले विद्युत प्राधिकरणले देशभित्रै विद्युत खपत बढाउन सहुलियत दरमा विद्युत उपलब्ध गराउन थालेको छ । देशभित्रै विद्युत खपत बढाउन व्यवसायी, उद्योगीलाई प्रोत्साहन गर्न महशुलमा छुट दिने र विद्युतीय सामग्रीको प्रयोग गर्नसमेत प्राधिकरणले प्रोत्साहन गरिरहेको छ । तर, प्राधिकरणसँग सरोकार राख्ने गण्डकीको ऊर्जा मन्त्रालयले भने कार्यालयमा सोलार जडान गरेको छ ।

Advertisement


ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले मन्त्रालयको कार्यभार समालेको ३ महिने कार्यप्रगतिमा मन्त्रालयमा ३० किलोवाट क्षमताको सोलार जडान गरिएको उल्लेख छ । बेला बेलामा बिजुली गइरहने समाधान गरी खपत बढाउनेतर्फ ध्यान दिनुपर्नेमा सोलार जडान गर्नुलाई मन्त्री तिवारीले उपलब्धिमा समेटेकी छन् ।


अहिले दैनिक जसो विद्युत् आपूर्ति स्थिर छैन । साना ठूला उद्योगी, व्यवसायीदेखि सर्वसाधारण मारमा छन् । तर, गण्डकीको ऊर्जा मन्त्रालयसँग यो समस्या समाधान गर्ने योजना छैन । मन्त्री तिवारीले गण्डकी प्रदेश ऊर्जा रणनीति तथा कार्ययोजनालाई अन्तिम रुप दिन लागेको बताउँछिन् ।

बेला बेलामा बिजुली गइरहने समाधान गरी खपत बढाउनुपर्नेमा सोलार जडान


‘बागलुङको ढोरपाटन ६ छेन्तुङका ३ सय ९१ घरधुरीमा घरेलु सौर्य ऊर्जा जडान सुरुवात गरिएको छ । चालु आर्थिक वर्षभित्रै गण्डकी प्रदेशलाई उज्यालो गण्डकी प्रदेश यथाशिघ्र घोषणाका लागि संघ सरकारसँग सहकार्य गर्छौं,’ मन्त्री अर्यालले भनिन् । गत आर्थिक वर्षमा मन्त्रालयगत बजेटतर्फ सबैभन्दा बढी वित्तीय प्रगति हासिल गर्न तर्फ सफल भएको सुनाइन् ।

Advertisement


३ महिनामा विद्युत महशुलमा २ करोड अनुदान दिइएको दिएको मन्त्री अर्यालले बताइन् । मन्त्रालयले २ सय ४० लिफ्टिङ खानेपानी योजनामा यो अनुदान दिएको हो । उनले भनिन्, ‘प्रदेशका मन्त्रालयमध्ये हाम्रो मन्त्रालयले सबैभन्दा धेरै वित्तीय प्रगति ८५.४४ प्रतिशत हासिल गरेको हो ।’ चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेटमा १० लाख तलका योजना नभएको उनले दाबी गरिन् ।


उनले भनिन्, ‘चालु आर्थिक वर्षमा विनियोजित भएको बजेटले एउटा उद्देश्य पूरा गर्छ । अर्को वर्ष सरकारले योजना बैंकबाट छानेर बजेट विनियोजन गर्छ ।’ अहिलेको सरकारले १ घर १ धारा कार्यक्रमलाई निरन्तरता दिएको उनको भनाइ छ । मन्त्री तिवारीले आफू निर्वाचित भएपछि १७ हजार ३ सय ४८ घरधुरीमा धारा जडान गरिएको सुनाइन् ।


यी धारा जडान गर्दा ९० हजार २ सय प्रदेशवासी लाभान्वित भएको उनले दाबी गरिन् । ‘मैले एउटा टेलिभिजनमा दिएको अन्तर्वाताको क्लिप काटेर १ घर १ धाराबारे गलत व्याख्या भएको रै’छ । तर वास्तविकता यस्तो होइन्,’ उनले भनिन् । सरकारले बाहै्र महिना सिँचाइ सुविधा पुर्‍याउने नीति ल्याएको उनले सुनाइन् । यो अवधिमा ५ सय १५ हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुर्‍याइएको उनको दाबी छ । गण्डकी प्रदेशको सिँचाई नियमावली २०८०(मस्यौदा) उपर विभिन्न चरणमा छलफल भई अन्तिम चरणमा पुगेको उनले जनाइन् ।

तपाईको प्रतिक्रिया