सम्पादकीयः कागबेनी पुनर्निर्माण गर

समाधान संवाददाता २०८० भदौ ७ गते १२:३४

मुस्ताङको कागबेनी मुक्तिनाथ र कोरला जाने मार्गमात्र थिएन, श्राद्ध गर्ने प्रसिद्ध स्थल पनि थियो । साउन अन्तिममा आएको बाढीले कागबेनी बजारलाई बगरमा परिणत गरिदिएको छ । बस्तीनजिकै बगेको कागखोला थुनिएपछि आएको बाढीले अकल्पनीय क्षति गरेको छ । धन्न पूर्व जानकारी पाएकाले मानवीय क्षति भने टर्‍यो । कालीगण्डकी किनारमा रहेको तीर्थस्थल कागबेनी अहिले निर्जन जस्तो बनेको छ ।

Advertisement

नदी किनारका २९ घर, ९ गोठ र १२ सवारीमा क्षति भएको छ । बाढी आउँदै गरेको जानकारी माथिल्लो क्षेत्रका स्थानीयले दिएकाले मानवीय क्षति भएन । कागबेनी गाउँ जोड्ने ३ वटा अस्थायी पुल, जोमसोम—कोरला जोड्ने एउटा पक्की पुल र कागबेनी—तिरी गाउँ जाने झोलुंगे पुल पनि बगेका छन् । निजी घर, सवारी, तीर्थस्थल र पुलसमेत बगेका छन् । अब कागबेनीलाई पुरानै स्वरुपमा लैजान कठिन भए पनि योजनावद्ध रुपमा पुनर्निर्माण जरुरी छ ।


भक्तजनले स्नान गर्ने, श्राद्ध तथा पिण्डदान र तर्पण दिने, श्राद्धस्थलको मन्दिर र एक धर्मशाला बाढीले बगाएको छ । बाढीले प्रहरी चौकी भवन, आमा समूह र युवा क्लबको भवन, स्वास्थ्य कार्यालय रहेको भवन, प्रभु बैंक रहेका घरहरूसमेत बगाएको छ । बैंकको रकम पछि फेला परेको छ । भौतिक संरचनाबाहेक कति धनमालको क्षति भयो भन्ने विवरण यकीन अझै भइसकेको छैन ।

बाढीले विद्युत् पोल, खानेपानी, सिँचाइ कुलो, टेलिफोन र इन्टरनेट पोलमा समेत क्षति पुर्‍याएको थियो । अहिले बाढीपीडितलाई तत्काल राहतसहित उनीहरुको सुरक्षित बसोबासको व्यवस्था गर्न जरुरी छ । त्यहाँ धेरै पूर्वाधारहरु क्षतविक्षत भएका छन् । कागखोलाको उचित व्यवस्थापनसहित कागबेनीको भविष्य र पुनर्निर्माणबारे काम हुनु जरुरी छ । एउटा ठूलो भोगिसकेपछि यसबाट पाठ सिक्नैपर्छ ।


३ वटै सुरक्षा निकाय र गाउँ गाउँबाट आएका स्थानीय उद्धार र राहतमा जुटेका छन् । सरकारी राहत आउनुअघि नै मुस्ताङीहरु राहत संकलन अभियानमा जुटेका छन् । गाउँ मुखियाहरुको अगुवाइमा गाउँ गाउँमा सहयोग संकलन अभियान एकातिर चलाइएको छ भने अर्कातिर गाउँलेहरु नै उद्धार र कागबानीमा सहायताका लागि जुटेका छन् । सरकारभन्दा एक कदमअघि मानवीय काममा जुट्ने स्थानीयको यो कदम निकै सराहनीय छ ।

Advertisement

कागबेनी बाढीपीडितका लागि अत्यावश्यक सामग्रीसहित केही राहत पठाउने गण्डकी सरकारले निर्णय गरेको थियो । स्थानीय पालिकाले पनि सहयोगका लागि सबैसँग अपिल गरेको छ । वर्षाको समय भएकाले अहिले बेनी जोमसोम बाटो बेला बेलामा अवरुद्ध भइरहेको छ । पोखरा जोमसोम उडानसमेत भएको छैन । विपद्का बेला यातायात सहज नहुँदा थप कठिनाइ आएको छ । जे होस्, सबै कठिनाइ सामना गर्दै कागबेनीको पुनर्निर्माण र यहाँका बासिन्दाको उचित बसोबासको व्यवस्था गर्न ढिलाइ गर्नुहुन्न ।

तपाईको प्रतिक्रिया