आकर्षण बन्दै माझठानाकाे रोला झरना

राष्ट्रिय समाचार समिति (रासस) २०८० भदौ ७ गते १४:२८

गण्डकी ।
पोखरा २८ स्थित माझठानाको रोला झरनामा यतिखेर आन्तरिक पर्यटकको आकर्षण बढेको छ । जंगलको बीच भागमा रहेको झरनामा रमाउने धेरै नेपाली आउन थालेका छन् ।


माछा पार्ने जाल हाने जस्तै गरी ६५ मिटर माथिबाट झरेको झरनाको दृष्यावलोकसहित रहमा पौडिन भिड लाग्ने गरेको स्थानीय सूर्यमोहन बास्तोलाले बताए । बजारबाट नजिकै रहे पनि यसको उचित विकास भएको छैन । झरनाको संरक्षण र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय लागिपरेका छन् ।


२०७३ मा स्थानीयको पहलमा नेटादेखि झरनासम्म पुग्ने मोटर बाटो बनेको थियो । बास्तोला भन्छन्, ‘यतिखेर दैनिक ५ सयदेखि १ हजार ५ सयसम्म आन्तरिक पर्यटक आउने गरेका छन् । शनिबार झरनामा रमाउनेको धेरै छन् ।’ विगतमा यहाँ ट्रिप लङ प्रालिले सहासिक खेल क्यानोनिङसमेत चलाएको थिययो ।

Advertisement


२ वर्षयता क्यानोनिङ बन्द छ । झरनामा रमाउन पुग्ने पर्यटकलाई सुविधा पुर्‍याउने लक्ष्यका साथ पोखरा २८ ले २ वर्षअघि चेन्जिङ रुम र शौचालय बनाइदिएको थियो ।


लायन्स क्लब अफ पोखराको ६२ हजार र नेपाल लायन्स फाउन्डेसनको ५० हजार गरी १ लाख १२ हजार लागतमा रोला झरनामा प्रतीक्षालय बनाइएको छ । लायन्स इन्टरनेसनल डिष्टिक ३२र्५ के’ का जोन चियरपर्सन भोला ओझाले यस्तो जानकारी दिएका हुन् ।

Advertisement


सो झरनाको ५०।६० मिटरको फरकमा पूर्वउत्तरमा अर्को ढोडेली झरना छ भने सो पानी एकीकृत भएर केही तल्लो भागमा निलिरह जुम्ल्याहा झरना छन् । कास्की निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङ सहितको एक टोलीले झरनाहरुको स्थलगत अध्ययन अवलोकन गरी प्राकृतिक स्रोतको उपयोग गरी स्थानीय बासिन्दाको आयआर्जनमा सहयोग पुग्नुपर्नेमा जोड दिएको छ ।


सांसद गुरुङले पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा झरनालाई विकास गर्नका लागि गुरुयोजना निर्माण गरी आवश्यक भौतिक संरचना निर्माणमा तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्ने बताए ।


स्थानीय हरिप्रसाद बास्तोलाका अनुसार वेगनासतालको जलाधार क्षेत्रको रुपमा रहेको स्याङखुदीदेखि चण्डीखोलाको निलिरहका झरनासम्म मोटर बाटो निर्माण गरी त्यसभन्दा लगभग सय मिटरमा अवस्थित रोला र ढोडेली झरनासम्म पैदलमार्ग निर्माण गरे पर्यटकका लागि १ दिनको प्याकेज बनाएर बसाई लम्ब्याउन सकिन्छ ।


पृथ्वी राजमार्गको तालचोकदेखि बेगनासताल खण्डको शिशुवा तथा मोहोरियाबाट वेगनासताल, खास्टेताल, मैदीताल, रुपाताललाई नियाल्दै लामास्वारा, स्याङखुदीबाट बास्तोला गाउँको नेटा हुँदै यी झरनासम्म पुग्न सकिन्छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया