भिरालो पाखामा हरियो सुन अर्थात कागती

समाधान संवाददाता २०८० भदौ ८ गते १७:३७

हरिप्रसाद बास्तोला
पोखरा .।

Advertisement

अमिलो कागती सुन्दैमा जो कोहीका मुखमा रस आइहान्छ । कागतीको चाना चरक्क निचोरेर चिया होस् या खानामा जिब्रो पडकाउँदै स्वाद लिने चाहना धेरैमा हुन्छ । त्यसैले बजारमा कागतीको प्रशस्त माग छ ।


यिनै सम्भावना देखेर जागिर र व्यापार व्यवसायसमेत छोडेर गाउँको बाँझिएको जग्गामा यतिखेर टुकाराम लामिछाने कागतीको व्यावसायिक खेतीमा लागेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३१ स्याङखुदीस्थित खनास्वाँरामा बाँझिएर झाडी बनेको जग्गामा ५ वर्षअघि लगाएको व्यावसायिक कागती खेतीले आम्दानी दिन थालेको कृषक लामिछाने बताउँछन् ।

Advertisement


‘बेगनास तालको जलाधार क्षेत्र अन्तर्गत पर्ने भिरोलो पाखोमा लगाएका ७ सय कागतीका बिरुवाले फल दिन थालेका छन्,’ उनले भने, ‘दिनमा ५० केजी उत्पादन हुने गरेको छ बजारमा बिक्री गरेर दैनिक ७ हजार ५ सय रुपैयाँ आम्दानी हुने गरेको छ ।’
बाँदर लगायत बन्य जन्तुले नोक्सान नगर्ने, रोग कम लाग्ने, हेरचाहमा पनि धेरै समय खर्च गर्नुनपर्ने र बजार पनि राम्रो भएको कारण कागती खेतीमा भविष्य देखेको उनको भनाइ छ । उत्पादिन कागती होलसेलमा प्रतिकिलो १ सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ ।


उनका अनुसार धरानको पाख्रीवासबाट प्रति गोटा २०० रुपैयाँका दरले खरिद गरेर २०७५ साल साउनमा रोपेका सोना जातका सवै कागतीका विरुवाले फल दिन थालेका छन् रसिलो भएको कारण बजारको माग पनि राम्रो छ । कृषि ज्ञान केन्द्र स्याङ्जाको सिफारिसमा लगाएका उन्नत जातको लेमनका २ सय बिरुवा लटरम्म फलेका छन् लगभग १० कुण्टल फल उत्पादन भएको छ ठूलो आकारको फल छ बजार भने नपाएको उनले गुनासो गरे । कागतीको बोटले फल धान्न नसकेर हाँगा भाँचिन थालेका छन् ।
‘रोपेको ४ वर्षमा फल दिन सुरु गरेको कागतीको एउटै बोटले १२ हजार मुल्य बरावरको ८० किलो फल दिएको थियो,’ उनले भने, ‘कागीतको फल बिक्रीबाट अघिल्लो वर्ष ८ लाख रुपैयाँ परेको थियो, यस वर्ष २० लाखभन्दा बढी आम्दानी हुने विश्वास छ ।’
कागती खेतीभित्र अन्तरबालीका रुपमा तरुल र अकबरे खुर्सानी रोपेको बताउँदै उनले भने, ‘पहिलो वर्ष तरुलबाट ७ लाख र दोस्रो वर्ष अकबरे खुर्सानीबाट ६ लाख रुपैयाँ आम्दानी भएको थियो ।’

Advertisement


माघे सक्रान्तिका अवसरमा प्रदेश सरकारद्वारा आयोजित ढुंगेसाँघुमा भएको कन्दमूल मेलामा तरुल प्रथम भएर १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भएको बाहेक सरकारी स्तरबाट आजसम्म कुनै पनि सहयोग प्राप्त भएको छैन । समुद्री सतहबाट लगभग ९ सय मिटरको उचाइमा बेगनासतालसँगै रहेको उनको बगंैचामा यसै वर्ष स्याउसमेत फलेको छ । परीक्षणका लागि लगाएको एउटा स्याउको बोटमा ८ देखि १० वटा फल फलेको कृषक लामिछानेले जानकारी दिए । लामिछानेले व्यावसायिकरुपमा कागती खेतीसहित, चिमुर, एभोकाडो, अमला, ओल, अम्बा, सुन्तला, ज्यामिर, निबुवा, स्याउ, ठूलो वयर, रातो केरा लगायत विभिन्न जातका फलपूmलका बोट बिरुवा लगाएका छन् । उत्पादित फल बिक्रीका लागि बजार जानुपर्ने, व्यापारीले समयमा पैसा नदिने हुँदा बगैंचामा दिने समय खर्च हुँदा अप्ठेरो परेको बताउँदै उनले भन्ने, ‘कृषि उत्पादन बारीबाटै उठाइदिने व्यवस्था गर्ने हो भने व्यवसायमा कृषकको आकर्षण बढ्नुको साथै आयातित वस्तुलाई विस्थापित गर्दै आत्मनिर्भरतातर्पm उन्मुख हँुदै स्वरोजगार सिर्जनामा समेत योगदान पुग्ने छ ।’ लिप्टिङ प्रविधिबाट बेगनासतालको पानी तानेर बगैंचामा सिँचाइको व्यवस्था गरिएको बताउँदै उनले २ सय मिटर पाइप विस्तार सहित ३ लाख रुपैयाँ खर्च भएको सुनाए ।


प्रत्येक ४ मिटरको फरकमा १÷१ मिटर गहिराइ र चौडाइका खाल्टामा बिरुवा रोपेर सुरु गरेको कागती खेतीमा ७० लाख भन्दा बढी खर्च भएको उनको भनाइ छ । स्याङखुदीमा शुरु भएको व्यावसायिक कागती खेतीले कास्कीमा सुन्तलाजात हराएको छैन भन्ने प्रमाणित गरेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । टिपेको २ हप्तासम्म पनि नबिग्रने, बाँदरले नखाने बढी भएमा अमिलो बनाउन सकिने कागतीखेतीको विस्तारका लागि महानगरले वार्षिक ८ देखि १० हजार बिरुवा कृषकलाई वितरण गर्दै आएको कडरियाले सुनाए । उनले बाँझिएको भिरालो पाखोमा हरियो सुनको रुपमा लिन सकिने व्यावसायिक कागती खेतीले पोखरालाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । रासस

तपाईको प्रतिक्रिया