वरिष्ठ सईको हत्या आरोपित आमाछोरा जेल चलान

समाधान संवाददाता २०८० भदौ ८ गते १७:४३

पोखरा ।
प्रहरी वरिष्ठ सई उज्ज्वल पौडेलको हत्याको आरोपित आमाछोरालाई पुर्पक्षका लागि जेल चलान गर्न जिल्ला अदालत बागलुङले आदेश दिएको छ । बुधबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका–६ स्थित आशा होटल तथा खाजा घरका सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।

Advertisement


गत साउन ८ गते राति ११ बजे कुँवर आमा छोराले मिलेर भीमगिठेस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज वरिष्ठ सई पौडेलको हत्या गरेको भन्दै मुद्दा दर्ता भएको थियो । खाजा खान होटलमा गएका पौडेल राति १ बजे होटलमै मृत फेला परेका थिए । होटलमा झगडा भएको भन्ने खबर प्राप्त भएपछि घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय भीमगिठेको टोलीले सई पौडेललाई मृत फेला पारेको थियो ।


हत्या आरोपमा प्रहरीले होटल सञ्चालक कुँवर आमाछोरालाई गत साउन ९ गते पक्राउ गरेर अनुसन्धानका लागि जिल्लामा ल्याएको थियो । पौडेल रातिसम्म बसेपछि आशासँग भनाभन भएको र त्यसपछि निर्घात कुटपिट गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । अदालतको आदेशपछि दुवैजना बुधबार नै बागलुङ जिल्ला कारागार चलान भएका छन् ।
होटल सञ्चालक आशा कुँवर र उनका छोरा विनोद कुँवरले वरिष्ठ सई पौडेललाई टाउकोमा मुक्काले हानेर लडाएको र छातीमा लात्तीले हानेर बेहोस बनाएपछि पर्दाको कपडाले घाँटीमा कसी हत्या गरेको प्रहरीको प्रारम्भिक निस्कर्ष थियो । राति साढे ११ बजे हत्या गरेपछि घाँटीमा लगाएको सिक्रीसमेत फुकालेर कुँवर आमाछोराले लुकाएका थिए । उक्त सिक्री प्रहरीले होटलकै किचन ¥याकबाट बरामद गरेको थियो । हत्यापछि समेत आरोपीले निकै चलाखीपूर्ण तरिकाले सुनको सिक्री लुकाउने वडाध्यक्षलाई खबर गर्ने र आफै मृत्यु भएको बनाउने प्रयत्न गरेका थिए ।

Advertisement


वरिष्ठ सई पौडेल बडिगाड खोलामा भइरहेको अवैध उत्खनन् रोक्न खटिएका थिए । गत साउन ८ गते प्रहरी चौकी भीमगिठेमा अवैध उत्खनन्को सूचना आएपछि रोक्न सई पौडेल खटिएका थिए । त्यही दिन गाउँपालिकाले सामाजिक सुरक्षावापतको भत्ता वितरण गर्दै थियो ।

गाउँपालिकाकै दुर्गम ठाउँ वडा नं १० को दर्लिङमा बैंकसँगको सहकार्यमा गाउँमै भत्ता वितरण हुँदै थियो । ठूलो परिमाणमा नगदसहित गाउँ पुगेका बैंक र गाउँपालिकाका कर्मचारीलाई सुरक्षा दिने जिम्मेवारी पनि भीमगिठे प्रहरी चौकीकै थियो । त्यहाँ पनि सई पौडेल खटिएका थिए । दिनभरि प्रकृति र नागरिकको सुरक्षामा खटिएका पौडेलको राति भने हत्या भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया