ईश्वरमणिको चौथौ कृति सम्बोधिका लोकार्पण

समाधान संवाददाता २०८० भदौ ९ गते १८:४०

पोखरा ।
साहित्यकार ईश्वरमणि अधिकारीको चौथो साहित्यिक कृति ‘सम्बोधिका’ मुक्तकसङ्ग्रह लोकार्पण भएको छ । शनिबार आयोजित समारोहका बिच वरिष्ठ साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले संयुक्त रूपमा उक्त कृति विमोचन गरे ।

Advertisement


पुस्तक लोकार्पण गर्दै वरिष्ठ साहित्यकार सरुभक्तले नेपाली मुक्तक संसारमा सशक्त पुस्तक पस्केर अधिकारीले हस्तक्षेपकारी उपस्थिति जनाएको बताए । मुक्तक लेखनका विविध शैलीहरू रहेकामा अधिकारीले रुवाइ शैलीमा मुक्त शैलीको समेत मिश्रण गरेर सुन्दर मुक्तक लेखेको बताए । साहित्यका विविध विधाहरूमा संरचनागत विवाद हुने गरेकोप्रति लक्ष्य गर्दै उनले संरचनाभन्दा पनि कृतिको गहनतातर्फ लेखकले बढी ध्यान दिनुपर्नेमा उनले जोड दिए ।


कवि तीर्थ श्रेष्ठले मुक्तक लेखनमा सशक्त उपस्थिति देखाउँदै अधिकारीले नयाँ कृति पस्केकामा निकै खुसी लागेको बताए । वर्तमानमा लेखकहरू संरचनाको पछाडि दौडने चलन संस्कृति नै बन्दै गएको उनले बताए । यसले साहित्य क्षेत्रलाई असर पार्दै गएको बताउँदै उनले लेखकले साधना गर्नतिर ध्यान दिनुपर्ने बताए ।

Advertisement


कृतिको समीक्षा गर्दै सञ्जीव पौडेलले कृतिमा प्रेम, राजनीतिक विकृति, सामाजिक विसङ्गति, समयको महात्म्य, जीवनमूल्य, न्याय, मातृभक्ति, प्रकृतिप्रेमलगायतका विषयमा केन्द्रित मुक्तक समावेश भएको बताए । प्रेम शाश्वत रहेकाले प्रेम पुरानो र प्रेमीप्रेमिका भूतपूर्व हुँदैनन् भन्ने प्रेमदर्शन प्रस्तुत भएको र यो नै सङ्ग्रहको केन्द्रीय विचार रहेको बताए । नेताहरूको पैसामोह, पदको रवाफ, विगत भुल्ने आदि प्रवृत्ति बढेका कारण आन्दोलनमा जनताहरूले बलिदानी दिएर सहिद बनेको पनि बेकार भएकोमा असन्तुष्टि पोखिएको बताएका छन् ।


स्वार्थी मित्रता, पैसामुखी समाज, बसाइँसराइको प्रभाव, सहरीकरण, मान्छेमा हराउँदै गरेको मानवता आदि सामाजिक पक्षलाई मुक्तकले सम्बोधन गरेको छ । समयभन्दा बलवान केही नभएकाले समयसँगै निरन्तर हिँडिरहने प्रयत्न गर्नुपर्नेमा जोड दिइएको छ ।

Advertisement


समाजमा पद र प्रतिष्ठाका पछाडि नदौडिई कर्मशील मानिस बन्नेतर्फ प्रयास गर्नुपर्नेमा जोड दिँदै लेखकले वदनामहरूसँगै आफ्नो नाम नजोडियोस् भनी असल बन्नेतर्फ प्रयास गर्नुपर्ने बताएको समीक्षक पौडेलको भनाइ थियो । सरल भाषामा काव्यिक शैली र नवीन बिम्ब तथा प्रतीकको प्रयोग गरी लेखिएका मुक्तकहरूले नेपाली मुक्तकको क्षेत्रमा सशक्त उपस्थिति जनाउन सफल भएको उनको निष्कर्ष थियो ।


कार्यक्रममा लोकगायिका हरिदेवी कोइराला, कवि रमेश श्रेष्ठ, साहित्यकार सरस्वती प्रतीक्षा, दीपक समीपलगायतले शुभकामना मन्तव्य राखेका थिए । सर्जक डा.ईश्वरमणि अधिकारीको स्रष्टा परिचय जीवनसागर भण्डारीले प्रस्तुत गरेका थिए । सर्जक अधिकारीले केही मुक्तक वाचन गर्दै आफ्नो लेखनअनुभव छोटकरीमा सुनाए । कार्यक्रममा मुक्तककार प्राञ्जलले लोकार्पण भएको कृतिबाट केही मुक्तक वाचन गरेका थिए ।


पोखरेली युवा सांस्कृतिक परिवार प्रकाशक रहेको सङ्ग्रहमा १ सय ११ थान मुक्तकहरू समेटिएका छन् । साहित्यकार अधिकारीका यसअघि एक जीवनी, एक कवितासङ्ग्रह र एक गजलसङ्ग्रह गरी तीन कृति प्रकाशित भइसकेका छन् । शनिबार लोकार्पित मुक्तक संग्रह उनको चौथो कृति हो । यसअघि उनले १४ वर्ष पहिला कृति ल्याएका थिए । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रीता अधिकारी ‘ऋतु’ ले गरेकी थिइन् । कार्यक्रम सञ्चालन सचिव डा. चैतन्य अधिकारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया