
पोखरा ।
गण्डकी प्रदेशमा सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार गठन भएको १ सय २३ दिन पुगेको छ । सरकार गठन भएको करिब ४ महिना पुग्दा पनि मुख्यमन्त्री पाण्डे र मन्त्रिपरिषदका अरु सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छैन ।
भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ५० र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ मा पनि सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले ६० दिनभित्र र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको विवरण राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । तर, पाण्डे नेतृत्वको सरकारले त्यो समय सीमा नाघिसक्दासमेत सम्पत्ति सार्वजनिक नगरेका हुन् ।
आर्थिक पारदर्शिताका लागि मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने अभ्यास छ । त्यसमाथि गण्डकी प्रदेशको संस्थापक सरकार अर्थात पृथ्वीसुब्बा गुरुङ नेतृत्व सरकारले मन्त्रिपरिषदका सबैको सम्पत्ति विवरण पद धारण गरेको ६० दिनभित्र सार्वजनिक गर्ने आचार संहितासमेत बनाएको थियो । त्यो आचार संहिता पालना पनि पाण्डे सरकारले गरेको छैन ।
सरकार बनेको ४ महिना पुग्दासमेत विवरण सार्वजनिक नगरेको सरकारले पूर्ववर्तीहरुको सम्पत्ति विवरण राखिएको वेबसाइडको क्याटेगोरी नै हिडन गरेको छ
वैशाख १४ गते कांग्रेस, माओवादी र एकीकृत समाजवादीको संयुक्त गठबन्धनमा मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकार गठन भएको थियो । सपथ दिएको भोलिपल्टै वैशाख १५ मुख्यमन्त्री पाण्डेले २ जनालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।
सरकारको नेतृत्वका लिएको ७ दिनपछि प्रदेश सभाबाट विश्वासको लिएका पाण्डेले वैशाख २९ गते दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरे । सोही दिन मुख्यमन्त्री पाण्डेले थप ४ जनालाई सहभागी गराउँदै मन्त्रिमण्डललाई पूर्णता दिएका थिए । तर, मन्त्रिमण्डललाई पूर्णता दिएको १ सय ८ दिन पुगे पनि सम्पत्ति विवरण सार्वजनिक गर्न ढिलाइ गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अधिकारिक वेबसाइटमा भदौ १० गते साँझसम्म मुख्यमन्त्री पाण्डे नेतृत्वको मन्त्रिमण्डलका कुनै पनि सदस्यको सम्पत्ति विवरण राखिएको छैन ।
पाण्डे नेतृत्वको सरकारले सम्पत्ति विवरण सार्वजनिक गर्नुको सट्टै मुख्यमन्त्री कार्यालयको आधिकारिक वेबसाइट ओसिएमसिएम डट गण्डकी डट जिओभी डक एनपीमा विगतको मन्त्रिपरिषद सदस्यहरुले पेस गरेको सम्पत्ति विवरणको क्याटेगोरी हिडन गरिएको छ ।
पाण्डे नेतृत्व सरकारमा सुशीला सिंखडा, सरस्वती अर्याल, महेन्द्रध्वज जिसी, रेशमबहादुर जुग्जालीमगर, जीतप्रकाश आले र दीपेन्द्रबहादुर थापा मन्त्री छन् । सिंखडा सामाजिक विकास, अर्याल ऊर्जा जलस्रोत तथा खानेपानी, जिसी कृषि तथा भूमि व्यवस्था, जुग्जाली भौतिक पूर्वाधार विकास, आले आर्थिक मामिला र थापा उद्योग, पर्यटन, वन मन्त्रीको जिम्मेवारीमा छन् । सिंखडा र जुग्जाली माओवादी कोटाबाट मन्त्री बनेका हुन् । अन्य सबै मन्त्री कांग्रेस कोटाबाट बनेका हुन् ।
सरकारकी प्रवक्तासमेत रहेकी सरस्वती अर्यालले छिट्टै सम्पत्ति विवरण सर्वजनिक गर्ने बताइन् । उनले भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ५० र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ मा भनेबमोजिम सम्पत्ति विवरण सर्वजनिक गर्ने बताइन् । आफैंले हालै आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा बताएकी थिइन् ।
‘मन्त्रिपरिषद् विस्तार पनि विभिन्न चरणमा भयो । मन्त्रिपरिषद् विस्तार एकैपटक भएको भए सर्वजनिक गर्न पनि सहज हुन्थ्यो । पहिलपछि नियुक्त हुनुभएका मन्त्रीज्यूहरुको ६० दिनपछि सर्वजनिक गर्ने भन्ने थियो । यही बिचमा नीति तथा कार्यक्रम ल्याउन पनि व्यस्त भइयो,’ प्रवक्ता अर्यालले भनिन्, ‘यसपछि फेरि बजेट ल्याउने कुरामा केन्द्रित हुँदा समयमा सार्वजनिक गर्न नसकेको सत्य हो । अब आर्थिक वर्षको ६० दिन नबित्दै सम्पत्ति विवरण सार्वजनिक हुन्छ ।’
प्रवक्ता अर्यालले वेबसाइटबाट सम्पत्ति विवरण सम्बन्धी क्याटेगोरी हटाइएको विषयमा भने आफूलाई थाहा नभएको बताएकी हुन् । ‘के भएको हो । किन हटाइयो यस विषयमा मलाई थाहा छैन । म बुझ्छु,’ उनले भनिन् । यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले पनि समय सीमा घर्किएपछि सम्पत्ति विवरण सर्वजनिक गरेका थिए । अघिल्ला मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पृथ्वीसुब्बा गुरुङ नेतृत्वका सरकारका पालामा मुख्यमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको थियो ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया