समाजवादी मोर्चा एउटै पार्टी बन्न सक्छः सचिव पौडेल

समाधान संवाददाता २०८० भदौ ११ गते १०:४४

पोखरा ।
माओवादी केन्द्रका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले समाजवादी मोर्चामा रहेका दलहरुबीच एकीकरण हुने सक्ने औंल्याउनु भएको छ । नेकपा (माओवादी केन्द्र) पोखरा महानगर समितिको दोस्रो विस्तारित बैठकमा उनलेसमाजवादी मोर्चा वर्तमान संसद्को अंकगणितका लागि मात्र नभएको दाबी गरे ।

Advertisement


नेता पौडेलले विचार मिल्नेसँग सुरुआतमा मोर्चा बनाउने र पछि पार्टी एकीकरण गर्ने नीति माओवादीले लिएको जनाए । ‘विपक्षीले समाजवादी मोर्चालाई संसद्को अंकगणितसँग मात्र जोडेर प्रचार गरेका छन् । मोर्चा संसद्को अंकगणित जोगाउन होइन । विचार मिल्नेसँग मोर्चा बनाउने, मिल्यो भने पार्टी एकीकरण गर्ने नीति हाम्रो हो । सोही नीतिअनुसार अहिले मोर्चा बनेको छ, भोलि मोर्चामा आबद्ध दलहरूबीच एकीकरण भएर एउटै पार्टी बन्न पनि सक्छ,’ उनले भने ।


इन्चार्ज पौडेलले आगामी भदौ १६ गतेदेखि देशभर सुरु हुने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’लाई प्रभावकारी बनाउने गरी खटिन नेता कार्यकर्तालाई निर्देशन दिए ।


पार्टीले तोकेको वडा र प्रत्येक घरमा पुगेर वर्तमान सरकारले सुशासन र समृद्धिका लागि गरेका काम जनतालाई बुझाउँदै जनताबाट सुझाव लिन उनले आग्रह गरे । रुपान्तरण अभियानका लागि पार्टीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीलाई पालिकामा र प्रदेश सदस्यलाई वडामा जिम्मेवारी दिएर खटाइएको नेता पौडेलले जानकारी दिए ।

उनले भने, ‘पार्टी पुनःनिर्माणको संकल्प गरेर जनतामा जाने निर्णय गरेका छौं । अभियानका क्रममा हामी प्रदेशका सबै वडा–वडामा जान्छौँ । केन्द्रीय समितिका सदस्य र प्रदेशका पदाधिकारी पालिकामा, प्रदेशका सदस्य वडामा जाने र अभियानको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकेका छौँ । अभियानले पार्टीलाई नयाँ उचाइमा लैजाने विश्वास लिएका छौँ ।’

Advertisement


अभियानका क्रममा हरेक कार्यकर्ताले ३ पार्टी सदस्य थप गर्नुपर्ने उनले औंल्याए । ‘हाम्रा नेता–कार्यकर्ता पार्टी बन्दैन भनेर निराश हुन्छन् । पहिल्यै पार्टी बन्दैन भनेर निराश भएपछि कसरी पार्टी बन्छ ? यसरी निराश होइन, आशा र विश्वासका साथ पार्टी बनाउन लाग्नुभयो भने पार्टी अहिलेभन्दा सुदृढ हुन्छ’, इन्चार्ज पौडेलले भने । माओवादी केन्द्र पोखरा महानगर समितिले ३ महिने अभियानका लागि कार्ययोजना बनाएर जनतामाझ जाने कमिटीका अध्यक्ष हरिनारायण गिरीले सुनाए । महानगरका ३३ वटै वडाका प्रत्येक घरमा पुग्ने गरी कार्ययोजना बनाइएको छ ।

तपाईको प्रतिक्रिया