प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा विमानस्थलको एजेन्डा समेटिनुपर्ने

पोखरा ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणका पोखरा र गण्डकी प्रदेशका एजेन्डाहरु सामेल गर्न यहाँ उद्यमी व्यवसायीले चासो दिएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीले आफ्नो भ्रमण दौरान पहल गर्नुपर्नेमा जोड दिए ।
पोखरा उद्योग वाणिज्य संघमा सोमबार भेला भएका पोखरेली पहिलो प्राथमिकता नै पोखरा विमानस्थल हुनुपर्नेमा एकमत देखिए । त्यसबाहेक मुस्ताङको कोरला नाका खोल्न प्रधानमन्त्रीले कूटनीतिक प्रयास गर्नुपर्नेमा उनीहरुको जोड थियो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले चीनकै ऋण सहयोगमा विमानस्थल बनेको हुँदा पनि उसले नेपाल सरकारका कुरा सुन्ने विश्वास व्यक्त गरे ।
‘चीनले पनि सुन्छ, त्यसैले पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि सरकारमा दबाब सिर्जना गरौं,’ मुल्मीले भने, ‘चीनको पर्यटकीय गन्तव्य स्थलमा नेपाल समावेश हुनुपर्छ भनेर हामीले आग्रह गर्नुपर्छ र त्यसमा पनि पोखरा छुट्नु हुँदैन ।’
चीनको पर्यटकीय गन्तव्य स्थलमा नेपाल समावेश हुनुपर्छ । त्यसमा पनि पोखरा छुट्नु हुँदैन ।
आनन्दराज मुल्मी
पूर्वअध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ
मुल्मीले चीनसँगका नाकाहरुमध्ये कोरला सबैभन्दा उत्तम भएको बताए । उनकै भनाइमा तातोपानी नाकामा बन्दरगाहा बनाएर थोरैमात्रै कन्टेनर राख्न सकिन्छ, केरुङ पनि साँघुरो छ तर, कोरलामा भने हजारौं कन्टेनर र ट्रक पार्क गर्न सकिने बन्दरगाह निर्माणको सम्भावना छ । अहिलेलाई कोरला नाकामा वर्षको २ पटक हुँदै आएको व्यापार मेलाले निरन्तरता पाउनुपर्ने र पछि त्यो नाका खोल्नुपर्ने उनको भनाइ थियो ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतीले हङकङका व्यवसायीले पोखरा उडानमा चासो राखेको सुनाए । उद्योगी माइकल कर्माचार्यले चिनिया लगानीका होटल, रेस्टुरेन्ट नेपालमा खोल्न लगाई उनीहरुमाफत् नै पर्यटन प्रवद्र्ध गर्नुपर्ने विचार राखे ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले कोरला नाका खोल्दा मानसरोवर जाने पर्यटकका लागि सुविधा पुग्ने भनाइ राखे । परिषदका पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले समेत पर्यटन प्रवद्र्धन नै मुख्य एजेन्डा बनाउनुपर्नेमा जोड दिए ।
लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नै प्रधानमन्त्रीको चीन भ्रमणको एजेन्डामा समेटिनुपर्ने विचार राखे ।
युवा उद्यमी मञ्चका अध्यक्ष विवेक श्रेष्ठले चिनिया लगानी पोखरा ल्याउनसक्नुपर्ने बताए । ‘वर्षमा साढे ७ लाख युवा विदेश गइरहेका छन्, तिनलाई रोजगानी दिने उद्योग खोल्नुपर्छ, पूर्वाधारहरु निर्माणमात्रै भएर हुँदैन, युवाहरुलाई रोजगारी दिन सक्नुपर्छ ।’ भारतको बजार लक्ष्य गरेर चिनिया उद्योग पोखरामा खुल्न सक्ने उनको भनाइ थियो ।
मुल्मीले चीनले नेपालमा खोल्न सक्ने महावाणिज्यदुतको कार्यालय पोखरामा खोल्न पहल हुनुपर्ने बताए । ‘वीरगन्जमा भारतीय महावाणिज्यदूत खुलिसकेको छ, नेपालले पनि चीनमा महावाणिज्यदूतको कार्यालय खोलिसकेको छ, अब चीनका तर्फबाट नेपालमा खोलिने त्यस्तो कार्यालय पोखरामा खुल्यो भने पर्यटनदेखि धेरै कुरामा राम्रो हुन्छ,’ उनले भने ।
प्रधानमन्त्री दाहाल भदौ अन्तिममा अमेरिका जाँदै छन् । संयुक्त राष्ट्र संघीय महासभामा सम्बोधन गर्न अमेरिकामा पुग्ने दाहाल त्यतैबाट असोज पहिलो साता चीन भ्रमणमा जाने कार्यक्रम छ । भदौ १५ गते प्रधानमन्त्री पोखरा आउने भएपछि त्यस बेला उनलाई भेटेर गण्डकी प्रदेशका मुद्दाहरु चीन भ्रमणमा समेट्न सुझाव दिने गरी त्यसैको गृहकार्य स्वरुप मुल्मीकै अगुवाइमा सोमबार पोखरेलीहरु जुटेका थिए ।
मुल्मीले कोरला नाका खोल्ने हो भने भारतीय सीमाको त्रिवेणी नाकामार्फत भारत—चीनको अन्तरदेशीय व्यापार पनि सहज हुने बताए । सिगोत्सेसम्म चीनले रेल ल्याइसकेको हुँदा त्यहाँबाट ६ सय किमि दुरीको कोरला नाकासम्म विस्तार गर्न चीनलाई सुझाउनुपर्ने आग्रह प्रधानमन्त्रीलाई गर्नुपर्ने उनको भनाइ थियो । उनले चीनले पोखरालाई केन्द्रसमेत मानेको हुँदा पोखरा केन्द्रित एजेन्डा प्रधानमन्त्रीको भ्रमणमा समावेश हुनुपर्ने विचार राखे । उनले केरुङ—काठमाडौं रेल धादिङको बट्टार गल्छी हुँदै पोखरा ल्याउने एजेन्डा पनि राख्नुपर्ने भनाइ राखे ।
तपाईको प्रतिक्रिया