लेखनाथ उद्योग वाणिज्य संघकाे नेतृत्व होडमा महिला

समाधान संवाददाता २०८० भदौ १२ गते १०:३१

लेखनाथ ।
२०५४ सालमा स्थापना भएको लेखनाथ उद्योग वाणिज्य संघमा महिला व्यवसायीको संख्या निकै कम थियो । साधारण सदस्यमा कुनै महिलालाई ल्याउन खोज्नुपर्ने अवस्था थियो । अहिले परिस्थिति फेरिएको छ । सदस्यमा महिलाको सहभागितमात्र बढेको छैन, उनीहरु संघको सदस्यदेखि पदाधिकारीसम्म बन्ने उम्मेदवार बनेका छन् ।


संघको भदौ २२ र २३ गते हुने १४ औं अधिवेशन लागि पदाधिकारीतर्फ २, खुला सदस्यमा १ र आरक्षणतर्फ महिला सदस्यका लागि ४ महिला मैदानमा छन् । संघको यसपालिको चुनावमा ७ महिला उम्मेदवार चुनावि मैदानमा उत्रिनुलाई संघमा महिलाको संख्या र अवस्था सुधार भएको रुपमा बुझ्न सकिन्छ ।


२०५६ सालमा संघको कार्यसमितिमा पहिलो पटक महिला व्यवसायीबाट चुनिएकी थिइन् विन्दु सुवेदी । विस २०६४ मा दोस्रो महिला कार्यसमिति सदस्य बन्न सफल भइन् गीता सुवेदी ।


संघमा महिला व्यवसायीको संख्या बढ्दै जाँदा उनीहरुलाई पनि कार्यसमितिमा अनिवार्य रुपमा समावेस गर्नु पर्छ भन्ने आवाज उठेको थियो । २०७२ मा विधान संशोधन गरी २ महिला सदस्य अनिवार्य गरियो । त्यसयता राधा सापकोटा, मेनाका श्रेष्ठ, दिलकुमारी दाहाल,र ञ्जना बराल र इन्दिरा रोक्काले कार्यसमिति सदस्य बनेर जिम्मेवारी निर्वाह गरिसकेका छन् ।


बिमला थापा बस्नेतले एक कार्यकाल सल्लाहकारको दायित्व पूरा गरिन् । संघको इतिहासमा नै पहिलो पटक वर्तमान कार्यसमितिकी जानुका पराजुली अधिकारीले सदस्य, कोषाध्यक्ष र उपमहासचिवको जिम्मेवारी पूरा गर्दै आगामी कार्यकालका लागि महासचिवमा उम्मेदवारी दिएकी छन् । अर्की उद्यमी मेनुका श्रेष्ठ द्वितीय उपाध्यक्ष पदका लागि चुनावी मैदानमा छिन् ।

Advertisement

यो वर्षको निर्वाचनमा ८ खुला सदस्यका लागि १६ जनाको उम्मेदवारी परेकोमा १ जनामात्र महिला छिन् । गंगा मल्ल खुला सदस्यमा उम्मेदवार बनेकी हुन् । २ महिला सदस्यका लागि जमुना गिरी, प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने र सुमित्रा बञ्जराले मनोनयन दर्ता गराएका छन् ।


यसपालिको चुनावमा १ हजार ८ सय ६६ मतदाता छन् । तीमध्ये ६ सय १० मतदाता महिला हुन् ।

तपाईको प्रतिक्रिया