व्यास नगरपालिकाले होर्डिङ बोर्ड हटाउँदै

समाधान संवाददाता २०८० भदौ १२ गते १०:४०

दमौली ।
तनहुँको व्यास नगरपालिकाले बजार व्यवस्थित बनाउन मापदण्डविपरीत राखिएका होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ । नगरपालिकाले दमौली बजारलाई व्यवस्थित बनाउने योजना अनुरुप नै विभिन्न ठाउँमा विज्ञापनका लागि राखिएका होडिङ बोर्ड, भित्तामा टाँसिएका पर्चा, पम्प्लेट लगायत हटाउन थालेको हो ।

Advertisement


नगर प्रहरी शाखाका प्रमुख आशीष परियारले सोमबारमात्रै तरकारी लाइन, सफासडक, मालपोत लाइन, वडा सत्यवती लाइन, भोर्लेटारचोक लगायतका क्षेत्रको होर्डिङ बोर्ड हटाइएको बताए । नगरपालिकाले तोकेको निश्चित ठाँउमा मात्र मापदण्ड अनुसारका बोर्ड भने राख्न पाइनेछ ।


उनले भने, ‘बोर्ड राख्न पाईन्छ, तर नगरपालिका सँग सम्झौता गरेर नगरपालिकाले तोकेको निश्चित ठाँउमा मात्र राख्न पाइन्छ ।’ बजार क्षेत्रको सडक पेटीमा नियमविपरीत राखिएका व्यापारिक प्रयोजनका सामग्री हटाई व्यवस्थित गर्नसमेत उनले आग्रह गरे ।

Advertisement


नगरपालिकाले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी अव्यवस्थित तार पनि व्यवस्थित गर्न थालेको छ । विद्युतको पोलमा जथाभावी तार टाङ्दा आगलागीको जोखिम बढेको र सहर पनि कुरुप देखिएको भन्दै नगरपालिकाले इन्टरनेट सेवा प्रदायकलाई तार व्यवस्थित गर्न आग्रह गरेको थियो । भदौ महिनाभित्रै दमौली बजारका अव्यवस्थित तार व्यवस्थित हुने नगर प्रमुख वैकुण्ठ न्यौपानेले दाबी गरे ।


उनले भने, ‘इन्टरनेट र टिभी सेवा प्रदायकले आवश्यकताभन्दा बढी तार विद्युतको पोलमा झुड्याइदिन्छन्, सहर कुरुपमात्रै भएको छैन, कहिलेकाँही पोलमा आगलागीका घटनासमेत भएका छन् ।’

Advertisement

तपाईको प्रतिक्रिया