सम्पादकीयः सहिष्णुताको संस्कार नभुलौं

पूर्वको धरान उपमहानगरमा सामाजिक सद्भाव विरुद्धका गतिविधि देखिएका छन् । हिन्दू र गैरहिन्दू समुदायबीच टकरावको अवस्था आएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गर्नु परेको छ । यही बेला कास्कीमा पनि जातीय र धार्मिक रुपमा केही असमझदारी भएको देखिएको छ । पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको सालिक हटाएर त्यहाँ प्रथम सहिद लखन थापाको सालिक राखिएपछिको तुस हटेकै थिएन । त्यही अहिले सडकमा देखिएको छ । हिन्दूबादी, राप्रपा लगायतले पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै सालिक राख्नुपर्ने, त्यसो नभए सडकका चोकमा कसैको पनि सालिक राख्न नहुने तर्क गरेका छन् ।
यता, जनजातिहरु भने लखन थापाको सालिक हटाउन नदिन संघर्षमा उत्रिएका छन् । दुवै पक्षले अडान नछाड्दा यो समस्या सुल्झाउन कठिन भएका बेला केही राजनीतिक दलले भने यसलाई राजनीतिक रङ दिएका छन् । सडक फराकिलो बनाउने र सहिद र विभूतिका सालिक उचित स्थानमा सम्मानका साथ राख्ने विषयमा राजनीति हुनु विडम्बनापूर्ण छ । पोखराले धरानबाट सिक्नुपर्छ ।
केही समयअघि भारतको मणिपुरमा सामाजिक सद्भावविपरीतका गतिविधि हुँदा ठूलो जनधनको क्षति भएको थियो । समाजमा जहाँ पनि अतिवादी तत्व हुन्छन् । पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै अतिवादी समूहले सामाजिक सद्भावविपरीतका सामग्री प्रकाशन/प्रसारण गरेर हिंसा भड्काउने प्रयास पनि गरिरहेका छन् । यस्ता घटना रोक्न बेलैमा सचेत हुनु आवश्यक छ । पोखरा महानगरले सालिकहरु व्यवस्थापन गर्न छुट्टै पार्क बनाएको छ । ५७ रोपनीमा बनाइएको पार्कमा सालिकहरु व्यवस्थापनसहित सौन्दर्यकरणका थप काम गरी त्यसलाई पर्यटकीय स्थल बनाउने सम्भावना छ ।
देशमा सांस्कृतिक विविधता छ । सामाजिक सद्भाव हाम्रो पहिचान हो । संसारको सबैभन्दा बढी जनसंख्या रहेको चीनमा भन्दा पनि नेपालमा सांस्कृतिक विविधता बढी छ । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता नेपालको मूल पहिचान हो । राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी मित्रता हाम्रा छु्ट्याउनै नसकिने क्षेत्र हुन् । नेपालमा सवा सय जातजाति छन् भने त्योभन्दा बढी भाषा बोलिन्छन् । हरेक समुदायका आफ्नै चाडपर्व र मूल्य, मान्यता छन् । हामीले हाम्रो सांस्कृतिक विविधतामा अडेको सामाजिक सद्भाव भोलिका पुस्तालाई हस्तान्तरण गर्नु जरुरी छ ।
पछिल्लो समय इन्टरनेटको पहुँच, वाक स्वतन्त्रता र विश्वसँगको प्रत्यक्ष सम्पर्कले हामीलाई धेरै पक्षमा फाइदा भएको छ । सँगसँगै यसका केही नकारात्मक पक्ष पनि हाम्रो समाजमा आईपुगेका छन् । इन्टरनेट र सामाजिक सञ्जालको उपयोगबारे व्यवहारिक कानुन जरुरी छ । सँगसँगै नागरिकमा आफ्नो अधिकार उपयोग गर्दा अरुलाई हानि हुनु हुँदैन भन्ने चेत पनि विकास गर्न जरुरी छ । हाम्रो संस्कार, परम्परा सहिष्णुता, सहकार्य, सद्भावको हो । यस विपरीत जान खोज्दा एकातिर समाज, देशको एकता र पहिचान धमिलिन्छ भने अर्कातिर यसले हामीलाई नै सभ्यताको उल्टो मार्गमा लैजान्छ ।
तपाईको प्रतिक्रिया