मुस्ताङमा असोज नलागी स्याउ टिप्न निषेध
यसअघि स्याउधनीले नपाक्दै व्यापारीलाई बिक्री टिप्न दिंदा यहाँको स्याउ बगैचाा असोज नलाग्दै रित्तिने गथ्र्यो


जोमसोम ।
मुस्ताङको स्याउ असोजअगावै टिप्न नपाइने भएको छ । जिल्ला समन्वय समितिको पहलमा आयोजित अन्तरपालिका स्तरीय बैठकले जिल्लाको स्याउ असोजअगावै टिप्न नपाइने निर्णय गरेको हो ।
जिल्लामा फल्ने स्याउको गुणस्तर कायम राख्न असोज महिना सुरु भएपछि मात्र स्याउ टिप्न जिल्लाका ५ वटै स्थानीय तहका किसानलाई अनुरोध गरिएको छ । यसका लागि सम्बन्धित स्थानीय तहलाई सहजीकरण गर्न जिल्ला समन्वय समिति मुस्ताङले जिम्मा दिएको छ । स्याउ लगायतका अन्य विषयमा निर्णय लिन साउन १९ गते अन्तरपालिका समन्वय बैठकको आह्वान गरिएको थियो ।
यो निर्णयपछि भदौ महिनाभर मुस्ताङमा किसानको बगैचामा स्याउ टिप्न प्रतिबन्ध लगाइएको जिल्ला समन्वय समिति मुस्ताङ प्रमुख माया गुरुङले जानकारी दिइन् । समुन्द्री सतहको २ हजार ५ सय मिटरको चिसो हावापानीमा उत्पादन हुने मुस्ताङको स्याउले केही वर्षअघिसम्म गुणस्तरमा निकै ख्याति कमाएको थियो ।
यसअघि स्याउधनीले नपाक्दै व्यापारीलाई बिक्री टिप्न दिंदा यहाँको स्याउ बगैचाा असोज नलाग्दै रित्तिने गथ्र्यो
पछिल्ला वर्षमा मुस्ताङको स्याउ बगैंचामा पूर्ण विकसित नहुँदै स्याउ धनी र व्यापारी मिलेर बजार पुर्याउन थाले । यसो हुँदा सहर÷बजारका उपभोक्ताले मुस्ताङको स्याउ गुणस्तर खस्किएको गुनासो गर्दै आएका थिए । बगैचामा राम्ररी नपाक्दै बजार लैजान परिपाटीले मुस्ताङको स्याउबारे उपभोक्तामा नकारात्मक सन्देश प्रवाह भएको थियो ।
स्याउ राम्ररी नपाकी टिप्दा स्वाद र गुणस्तर कायम हुन सकेको थिएन । मुस्ताङको सदिंयौंदेखिको स्याउको गुणस्तर कायम गर्न टिप्ने समय निर्धारण गर्नुपरेको हो । केही वर्षअघि स्याउ मुस्ताङका स्याउ व्यापारीले असोज अगावै टिपेर बजार पुर्याउने गथ्र्ये । स्याउ धनी र व्यापारीले सहमति बगैचा हेरेर स्याउको ठेक्का र बैनापट्टा गरिन्थ्यो ।
यसरी स्याउधनीले पूर्ण रुपमा स्याउ नपाक्दै व्यापारीलाई बिक्री टिप्न दिंदा यहाँको स्याउ बगैचाा असोज नलाग्दै रिक्तिने गथ्र्यो । मुस्ताङमा स्थानीय उन्नत जातको स्याउ खेती गरिंदै आएकोमा पछिल्लो समय इटालीबाट आयात गरिएको उच्च घनत्वको स्याउ खेती पनि विस्तार भइरहेको छ ।
उच्च घनत्वको स्याउ खेतीमा प्रदेश सरकारले बर्सेनि अनुदान दिँदै आएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए । मुस्ताङमा स्याउका उन्नत जातका रेडडेलिसियस, रोलय डेलिसियस, गोल्डेन डेलिसियस, रिचारेड डेलिसियस आदि छन् । उच्च घनत्वको स्याउ खेतीतर्फ गाला, फुजी, गोल्डेन डेलिसियस, किङरोट, रेड डेलिसियस र जोनाप्रिन्स जातका विरुवा यहाँ लगाइएको छ ।
विश्वमै चिन्ताको विषय बनेको जलवायु परिवर्तनको असरका कारण मुस्ताङको स्याउ खेतीमा नकारात्मक प्रभाव पर्न थालेको छ । यस वर्ष स्याउको फूल फुल्ने समय जेठ असारमा निरन्तरको वर्षाले बोटमा परागसेचन (पोलिनेसन) हुन पाएन । बोटमा परागसेचन नहुँदा स्याउ उत्पादन ५० प्रतिशतले घट्न सक्ने कृषि ज्ञान केन्द्र मुस्ताङको अनुमान छ । स्याउको फूल फुल्ने समयमा मौसम अनुकुल हुनुपर्ने केन्द्र प्रमुख बस्ताकोटीको भनाइ छ ।
निरन्तरको वर्षाले स्याउ खेतीमा उत्पादन घट्ने देखिएपछि यहाँका किसान चिन्तित छन् । बोटमा विभिन्न संक्रमणसमेत देखिँदा स्याउको उत्पादन घट्ने देखिएको हो । कुनै बेला मुस्ताङका स्याउ बगैचामा लटरम्म स्याउ फल्ने गरेकोमा यस वर्ष निकै पातलो फल लागेको जोमसोमका किसान अजित थकाली बताउँछन् ।
पछिल्लो समय मुस्ताङको स्याउमा गुणस्तर कायम राख्न स्थानीय किसान पनि निकै सचेत बनेको मार्फाका किसान दीपक लालचनले उल्लेख गरे । ‘पहिला पहिला स्याउ धनीहरुलाई पैसा भए पुग्थ्यो, गुणस्तरतर्फ ध्यान दिन सकेका थिएनन्,’ किसान लालचनले भने, ‘पछिल्लो समय किसान स्याउको गुणस्तर बचाउन निकै सचेत भएका छन् । व्यापारीलाई पनि असोज लागेपछि मात्र आउन खबर गरेका छन् ।’
मुस्ताङका ५ स्थानीय तहको १ हजार ४ सय ७५ हेक्टरमा स्याउ खेती विस्तार भइसकेको छ । जसमध्ये ५ सय ८० हेक्टरमा लगाइएको स्याउले उत्पादन दिने गरेको छ । ३८ हेक्टर जमिनमा उच्च घनत्वको स्याउ खेती छ । गत वर्ष मुस्ताङमा ६ हजार ५ सय ९७ टन स्याउ उत्पादन भएको थियो । त्यसमा ४ सय ४० टन उच्च घनत्व प्रविधिमा आधारित स्याउ थियो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया