आहा राराबाट ३ लाख बचत

समाधान संवाददाता २०८० भदौ १२ गते १६:५५

पोखरा ।
आहा राराको २२ औं संस्करणबाट आयोजकले ३ लाख बचत गरेको छ । क्लबले मंगलबार कार्यक्रम आयोजना गरी २२ औँ संस्करणको आयव्यय सार्वजनिक गरेको हो ।

Advertisement


प्रतियोगितामा ९४ लाख ६५ हजार ६ सय २६ रुपियाँ आम्दानी र ९१ लाख ४६ हजार ९ सय ६९ खर्च हुँदा ३ लाख १८ हजार बचत भएको हो ।


प्रतियोगितामा १० टिम थिए । २२ औँ संस्करणमा संकटा क्लबले उपाधि जितेको थियो भने भुटनीज युथ स्पोट्र्स क्लब उपविजेता बनेको थियो । क्लबले यस वर्षको प्रतियोगिताको तयारीसमेत सुरु भएको जनाएको छ ।


अघिल्लो संस्करणका प्रतियोगिता संयोजक केशव बरालले मोफसलमा हुने प्रतियोगिताको मिति कमसेकम ६ महिनाअघि तोकिनुपर्नेमा जोड दिए । त्यसो नभए अन्तर्राष्ट्रिय स्तरको खेल खेलाउन सम्भव नहुने उनको भनाइ छ ।


प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्सका निर्देशक प्रकाश केसीले पोखरा र गण्डकी प्रदेशकै पहिचान बनेको आहारारा गोल्डकपमा सहकार्य जारी रहने वाचा गरे । आहारारालाई अढाइ दशकदेखि हिमश्री फुड्सले मुख्य प्रायोजन गर्दै आएको छ ।

Advertisement

गत वर्ष हिमश्रीले प्रतियोगिताका लागि २२ लाख २५ हजार प्रदान गरेको थियो । प्रतियोगिताबाट भएको बचत क्लबले पोखरा १७ दोबिल्लामा चलाएको सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीका बालकहरुको लागि खर्च गर्ने गरिएको छ ।


२२ औं आहारारामा नेपालका ९ र अमेरिकाबाट आएको भुटनीय युथ स्पोट्र्स क्लबसहभागी थिए । यसपालि भने आयोजक सहारा क्लबले कमसेकम २ विदेशी टिम ल्याउने तयारी गरेको छ । क्लब अध्यक्ष हरिराज गुरुङ ‘सुरज’ले रंगशालामा दर्शकको संख्या घट्दै गएको जनाउँदै फेरि फुटबलको रौनक बढाउन राम्रा विदेशी टिम ल्याउनुपर्नेमा जोड दिए ।


‘एन्फाले हामीलाई खेल तालिका निकै ढिलो दिँदा समस्या भएको छ । बेलैमा खेल तालिका पाए बंगलादेश र भारतका राम्रा टिम खर्चै गरेर ल्याउने योजना छ,’ अध्यक्ष गुरुङ भन्छन् ।

तपाईको प्रतिक्रिया