बैद्धिक सनातन धर्ममा; जनै पूर्णिमा

सर्वे भवन्तु सुःखीनः सर्वे सन्तु निरामया ।
सर्वे भद्राणी पश्स्यन्तु महाकस्थित दुःख भवते् ।
नेपाली समाज विविध किसिमका मौलिक संस्कृति, मूल्य मान्यता र स्थापित भएका सामाजिक पुँजीले मजबुत छ । विभिन्न जातजातिका आ–आफ्नै किसिमका मौलिक परम्परा, रहनसहन, भेषभुषा, धर्म संस्कृति र चाडपर्वहरु छन् । नेपालमा भदौ महिनाको पहिलो साताभित्र नाग पञ्चमी (नाग पूजा) पछि हिउँद ऋतु सुरु हुन्छ । हिउँद सुरुसँगै वर्षा पनि क्रमिक रुपमा कम हुँदै जान्छ । आउँदै गरेका ओभाना दिनहरु, खुला आकाश, सुन्दर र स्वच्छ वातावरणसँगै क्रमश चाडपर्वहरु सुरु हुन थाल्छन् ।
हिउँदको रमाइलो वातावरणसँगै आएका विभिन्न चाडपर्वहरुले नेपाली समाजमा विशेष महत्व राख्छ र मानिसहरुमा हर्ष उल्लासमय वातावरण सिर्जना गर्छ । चाडबाड मानिसहरुका लागि थकाई बिसाउने वा शारीरिक आराम लिने समय पनि हो । विभिन्न जातजाति र मिश्रित समुदाय मिलेर बसेको नेपाली समाज आपसमा धार्मिक सहिष्षुणता, सदभाव र अपनत्वले बलियो छ । हरेक चाडपर्वको आ–आफ्नै किसिमको महत्व र सन्दर्भ हुन्छ । कुनै पनि पर्वको प्रमुख विशेषता वा संस्कृति ऐतिहासिक र धार्मिक आस्थासँग जोडिएको हुन्छ ।
स्थापित भएका मूल्य, मान्यता, आस्था र विश्वासमा चाडपर्वहरु मनाउँदै आइरहेका छन् । संस्कृतिहरुको विकास र संस्थागत सोही अनुसार हुँदै गएको हुन्छ । जनै पूर्णिमा रंगीन धागोको चाड मानिन्छ । जनै पूर्णिमा श्रावण शुक्ल पूर्णिमामा पर्छ । यस वर्षको जनै पूर्णिमा भाद्र १४ गते बिहीबारको दिन परेको छ । यो चाड खास गरी ब्राह्मण, क्षेत्री (तागाधारी समूह) लगायत वैद्धिक सनातन धर्मको आस्था र विश्वास गर्नेहरुले पनि मनाउँछन् । नेपालको तराई भू–भाग र भारतमा यस पर्वलाई रक्षा बन्धन वा राखी बाँध्ने भन्ने चलन पनि छ । धागो अर्थात् बन्धन पवित्रता र सुरक्षाको बन्धन जसलाई रक्षाबन्धन भन्ने गरिन्छ ।
पौराणिक कथन अनुसार देवराज ईन्द्रको देत्यराज वृतासुरसँग १२ वर्षसम्म कठोर युद्ध चलेको थियो । यस युद्धमा असुरहरुले देवताहरु माथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कारविहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरविहीन देवराज ईन्द्र बाँच्नुभन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसँग अन्तिम युद्ध गर्ने संकल्प गरेका थिए । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देव गुरु वृहस्पतिले भगवान ईन्द्रको कल्याण एवं विजय प्राप्त होस भनी श्रावण महिनाको पूर्णिमाको शुभ मूहूर्तमा ईन्द्रलाई रक्षा बन्धन बाँधेर बल प्रदान गरेका थिए । सोही शक्ति प्राप्त भएपद्धि ईन्द्रले विजय प्राप्त गरेका थिए ।
आधुनिकताको नाममा संस्कृति परिवर्तनको स्वरुप र प्रक्रियामा आफ्नो मौलिकता, मूल्य मान्यता र परापूर्वकालदेखि संस्थागत हुँदै आएका सामाजिक पुँजीमा नकरात्मक प्रभाव पर्न भने हुँदैन ।
त्यसदेखि आज पनि ब्राह्मण या आचार्य गुरुहरुले आफ्ना शिष्य र यजमानहरुलाई रक्षा बन्धन बाँधीदिने चलन रहिआएको छ ।
नेपालमा ब्राह्मण र क्षेत्री पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै धारण गर्ने चलन छ । बाल्यकाल (७ देखि १५ वर्ष ) भित्र अर्थात विधिपूर्वक ब्रतबन्ध कार्य सम्पन्न गरी गुरु पुरोहितवाट अरुले नसुन्ने गरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अबलम्बन गर्ने दृढ संकल्प लिएर देब्रेकाँध माथि जनै पर्ने गरी दाहिने हातको तल पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गर्ने चलन छ । यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सुते धागो) लाई दुई बेग्ला बेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रुपमा जनै पूर्णिमाको दिन अनिवार्य रुपमा मन्तरेको नयाँ जनै(यज्ञपवित) लगाउने चलन छ ।
जनैमा रहने दुईवटा शिखाका ६ वटा धागो डोरामध्ये एउटा शिखामा रहेका तिन डोरालाई ब्रह्मा, विष्णु, महेश्वर र अर्को शिखाको तिन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ । हिन्दु धर्म अनुसार ब्रह्मा, विष्णु, महेश्वर एउटै परमेश्वरका तिन रुप हुन भन्ने मान्यता छ । रक्षा बन्धन बाँध्ने क्रममा गुरु पुरोहित वा ज्वाइँ, भाञ्जाहरुले तलको मन्त्र बाचन गर्दै धागो बाधिदिने चलन रहिआएको छ ।
येन बद्धो बलिः राजा दानवेन्द्रो महावल
तेन त्वाँ प्रतिवन्धामी रक्षमा चलमा चल
हिन्दु ग्रन्थमा लेखिए अनुसार देवताहरुको रक्षा र संरक्षणका लागि दानवहरुको अत्यन्तै बलशाली राजा बलिलाई काँचो धागोले बाँधिएको थियो । बलिलाई बाँधिएपछि सारा देवगण सुरक्षित भए र देवराज इन्द्र विजयी वने । म पनि आज तिमीलाई त्यही रक्षा सूत्रले बाँध्छु । यो रक्षा बन्धनले तिम्रो आत्मरक्षा गर्नेछ र कोही कसैले पनि तिम्रो शक्ति डगाउन सक्ने छैनन् भनी आशीष दिँदै गुरु पुरोहित वा ज्वाइँभाञ्जाबाट नाडीमा धागो बाँधिदिने परम्परा विद्यमान कामय रहिआएको छ । जनै पूर्णिमाको दिन बाँधेको रक्षा बन्धन धागो निकालेर गाई तिहारका दिन गाईलाई माला उनेर लगाई दिने वा पुच्छरमा बेरीदिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पुण्य प्राप्त हुने विश्वास रहिआएको छ । जनै पूर्णिमाको दिन महर्षि यज्ञबक्यले आदित्य ब्रह्मा (सूर्य) वाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेद जयन्तीको रुपमा पनि मान्ने गरिन्छ ।
यस दिन दिदी बहिनीहरुले आफ्ना दाजुभाइका दाहिने हातका नाडीमा दीर्घायू र सफलताको कामना गर्दै रंगीचंगी धागो र फूल जोडिएको राखि लगाई दिने परम्परा पनि छ र यसलाई राखी भन्ने चलन छ । विशेष गरी नेपालको तराई क्षेत्र, भारत, बंगगलादेश लगायत देशहरुमा राखी बाँध्ने चलन बढिरहेको छ । जनै पूर्णिमाको दिन ज्वाइँ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन प्रचलित छ ।
यस दिन नेपालमा काठमाडौंको पशुपतिनाथ, नगरकोट, भक्तपुरको कुम्मेश्वर माहादेव, रसुवाको गोसाईकुण्ड, जनकपुरको गंगासागर, धनुषासागर, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाध लगायत पर्वत शिखरका महादेव स्थान र त्रिवेणी धामहरुमा ठूलो मेला लाग्छ । जनै पूर्णिमाको पहिलो दिनदेखि ब्राह्मण क्षेत्रीहरु आफ्नो केश मुण्डन गरी चोखो खाएर एक भक्त वसी जनै पूर्णिमाको दिन गंगामा स्नान गरी चोखो कपडा पहिरन गरेर मन्तरेको नयाँ जनै धारण गर्ने र ब्राह्मण पुरोहित वा ज्वाई भानिजहरुवाट नाडीमा धागो बाँध्ने चलन छ ।
जनै पूर्णिमाको दिन ब्राह्मण, क्षेत्रीबाहेक अन्य बैद्धिक सनातन धर्म पालन गर्ने समुदायका मानिसले पनि व्राह्मण पुरोहितसँग हातको नाडीमा मन्त्रेको धागो बाधेर यो पूर्णिमा मनाउने चलन क्रमिक रुपमा बढिरहेको छ । जनै मन्तर्ने क्रममा सामान्यतयाँ शिवजीको मन्दिर, पानी कुवा, वरपीपलको चौतारी, नदी किनार वा जलाशयकुण्डमा ब्राह्मणवाट पूजापाठ र रुद्री पूजा गरेर जनै मन्तर्ने चलन छ । जनै शिवजीको लिंग वरपर राखी शिवजीको लिंगबाट खसेको जलले जनैलाई सेचन गरी पण्डितले मन्त्र उच्चारण गर्दै जनै मन्तर्ने चलन छ । सनातन हिन्दु वैदिक ग्रन्थ अनुसार काँचो धागोबाट वनेको जनैलाई ब्रह्मा सूत्र अर्थात वेदोक्त कर्म सम्पादनार्थ तथा वेद अध्ययन निमित्त योग्यता हासिल गर्न ग्रहण गर्न मन्त्रियर तयार पारिएको ६ सुते धागोको समूह हो । जनै तयार पार्द ३–३ वटा डोराको दुईवटा बन्धन तयार पारिन्छ जसलाई शिखा भनिन्छ ।
मन्त्रिएका यज्ञोपवितको धारण गर्नाले समिया अर्थात सूर्य भगवानको प्रत्यक्ष ऊर्जा प्राप्त गर्ने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरिक, मानसिक तथा आध्यात्मिक सामाथ्र्यको बृद्धि हुने विश्वास छ । यज्ञोपवित धारण गरेपछि सनातन कर्महरुको कर्ता र अभियन्ता बन्न पनि योग्य हुन्छ । आजकल बौद्धिक सनातन धर्मलाई केवल जातीय आधार र छुवाछुतका रुपमा लिने चलन छ । जुन अत्यन्त संकुचित, कुण्ठा र सामाजिक विकृतिको उपज हो । वास्तवमा आत्मिक शुद्धता, सकल जगतको भलो अनि अध्ययनशीलताको पथ नै ब्राह्मण पथ हो । ब्राह्मणलाई केवल जात,भाषा र खलकका रुपमा मात्र हेर्न हुँदैन । जुनसुकै जात वा जातीय पृष्ठाभूमिको भएपनि अध्ययनशीलता र आत्मिक शुद्धताको अबलम्बनवाट ब्राह्मण पथमा आलिन हुन सक्छ । तसर्थ ब्राह्मण भनेको अध्ययनशीलता र आत्मिक शुद्धताको प्रतीक हो ।
जनै पूर्णिमाको दिन विशेष परिकारको रुपमा पानीमा भिजाएर अंकुरित भएका गेडागुडीवाट बनेको क्वाँटी को विशेष महत्व छ । जनै पूर्णिमाको दिनलाई क्वाँटी खाने दिन पनि भनिन्छ । दुईदिन अघिदेखि ९ किसिमका गेडागुडीहरु पानिमा भिजाएर हरिया टुसा अंकुराएपछि पकाएर खाने चलन छ । हरियो टुसा पलाएको गेडागुडीलाई विशेष गरी झोल तरकारीको रुपमा पकाएर खाने गरिन्छ । यसरी पकाएर खादा निकै स्वादिष्ट पनि हुन्छ । क्वाँटी खाने चलन सामान्य तया नेवार समुदायमा बढी छ । वैज्ञानिक अवधारणाबाट हेर्दा हिउँद सिजन चिसो हुने हुँदा प्रशस्त गेडागुडीहरुको रस खाएपछि शरीरमा शक्ति प्रदान हुने भएकाले क्वाँटी खाने चलन चलेको हुन सक्छ ।
यस किसिमका चाडपर्वहरुले नेपाली समाजलाई एकीकुत गर्न, आत्मीयता बढाउन र समाजमा सामाजिक पूंजिको निर्माण गर्न तथा विकास गर्न महत्वपूर्ण सहयोग पु¥याउनुको साथै मानिसहरुलाई सत्कर्ममा लाग्नसमेत प्रेरित गरेको छ । वर्तमान अवस्थामा नेपाली समाज पश्चिमी प्रभावले आधुनिकता उन्मुख हुँदै पनि गइरहेको छ । आधुनिकताको नाममा पश्चिमी संस्कृतिको प्रभाव व्यापक रुपमा बढिरहेको छ । मूलतःसंस्कृति समय अनुकुल परिवर्तन हुँदै अगाडि बढ्छ र विद्यमान पुराना संस्कृति विस्थापित हुँदै नयाँ संस्कृतिहरु स्थापित हुँदै जान्छन् । यो संस्कृति परिवर्तनको अपरिहार्य सिद्धान्त पनि हो । संस्कृति परिवर्तनको मार्गलाई मानिसले चाहेर पनि रोक्न सकिँदैन । तसर्थ ःसंस्कृति समय अनुकुल परिवर्तन हुँदै क्रमिक रुपमा अगाडि बढ्छ ।
आधुनिकताको नाममा संस्कृति परिवर्तनको स्वरुप र प्रक्रियामा आफ्नो मौलिकता, मूल्य मान्यता र परापूर्वकालदेखि संस्थागत हुँदै आएका सामाजिक पुँजीमा नकरात्मक प्रभाव पर्न भने हुँदैन । यस किसिमबाट संस्कृति परिवर्तन हुँदै जाँदा भोलिका पुस्ताहरुलाई घातक पनि हुन सक्छ । तसर्थ; हामी जा छौं, जे गर्दै छौं आजको यो सांस्कारिक काँचो धागो बाँध्ने दाजुभाइ, दिदी बहिनी बिचको माया, स्नेह र बन्धनको चाडले हामी सबैलाई आदिकालीन परम्पराको निरन्तरता दिन र युगौंयुगसम्म सद्भावको चिनारी संस्थागत गर्न सफल होस् । समाजमा सामाजिक पुँजीको रुपमा स्थापित भएका बलिया संस्कृतिहरु भावी सन्तनीहरुका लागि महत्वपूर्ण सामाजिक सम्पति बन्न सूकन जनै पूर्णिमाको सबैमा हार्दिक शुभकामना ।
तपाईको प्रतिक्रिया