पाेखरामा शनिबार महिला ह्यान्डबल प्रतियोगिता हुने
पोखरा ।
पोखरा रंगशालामा १६ गते शनिबार महिला ह्यान्डबल प्रतियोगिता हुने भएको छ । वुमेन्स क्लब अफ पोखराको आयोजनामा ‘स्वास्थ्य तथा सुन्दरताका लागि खेलकुद’ भन्ने नाराका साथ प्रतियोगिता हुन लागेको हो ।
महिलाको मानसिक तथा शारीरिक विकासमा खेलकुद मार्फत सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लब अध्यक्ष सारिका गुरुङले बताइन् । समाज र राष्ट्र निर्माणमा महिलाको भुमिका अपरिहार्य छ, महिला पनि पुरुष सरह नै काम गर्न सक्छन् भन्ने चेतना समाजमा पुर्याउन आवश्यक छ, गुरुङले भनिन्, सरकारले स्वास्थ्य र शिक्षालाई फ्रि गरेमा स्वतः विकास र समृद्धि आउनेछ ।’
प्रतियोगिताले महिलालाई मानसिक, शारीरिक दुवै भागलाई सक्रिय बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरिन् । अभ्यास खेलले एक्टिभ बनाएको र खेर गइरहेको समयको सहि सदुपयोग भएको प्रतियोगिले बताउने उनको भनाइ छ । अध्यक्ष गुरुङका अनुसार प्रतियोगितामा ८ टिमको सहभागिता रहने छ भने ३५ वर्ष देखि ६१ वर्षसम्मका ८० जना महिलाको सहभागिता रहनेछ । गेम ३० मिनेटको हुनेछ ।
नेपाल ओलम्पिक कम्युनिटीका अध्यक्ष तेज गुरुङले खेलकुदले स्वस्थ बनाउनुका साथै समाज रुपान्तरणमा समेत सघाउ पुर्याउने बताए । खेलकुदले आत्मविश्वास बढाउने, मानसिक स्वास्थ्यलाई सन्तुलनमा राख्ने, तनाव मुक्त बनाउने गुरुङको भनाइ थियो ।
ओलम्पिकमा सहभागि हुने खेलाडीहरु काठमाडौंबाट मात्र हुन्छन्, यो प्रवृतिलाई परिवर्तन गरि पोखरालाई जोड्ने प्रयासमा छु, उनले भने, ‘सम्बन्धित निकायको साथ र सहयोग आवश्यक छ साथै क्लवको निरन्तरतासँगै प्रतियोगिता पनि निरन्तर आयोजना गर्नुपर्छ ।’
खेलकुदले व्यक्तिसँगै परिवारलाई नै स्वस्थ बनाउने अग्रज खेलाडी खड्क ले उल्लेख गरे । खेलकुदसँगै अनुशासन, घर, बालबालिका, ज्येष्ठ नागरिकको स्याहार तथा व्यवस्थापन गर्ने कुराको पनि तालिम दिन उनले क्लवलाई आग्रह गरे ।
खेलकुदका साथै अन्य स्वास्थ्य तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्दै जाने संस्थाकी रेनु गुरुङले जानकारी दिइन् ।
प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुनेले ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार पाउने छन् । कार्यक्रममा बेलुन रेस र रस्साकस्सी पनि समावेश छन् ।
तपाईको प्रतिक्रिया