सिटौला स्रोता, जिल्ला नेताहरु वक्ता

पोखरा ।
नयाँ संविधान जारी भएको ८ वर्ष पुग्न लाग्यो । यो बीचमा दुईपटक सबै तहका निर्वाचन भए । संघीय सरकारले यो अवधिमा १ सय ५८ ऐन बनाएको छ । संघीयता कार्यान्वयनका लागि कम्तीमा सवा ३ सय ऐन बन्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।
करिब १ दशकमा आवश्यक ऐनसमेत नबन्दा समृद्धि र विकासको सपना कसरी पूरा होला भन्दै टक सेन्टरले बहस चलाइरहेको छ । बुधबार पोखरामा भएको कार्यक्रममा कांग्रेस नेता कृष्ण सिटौला, सहमहामन्त्री उमाकान्त चौधरी लगायत उपस्थित थिए । सिटौलालाई मुख्य स्रोताका रुपमा निम्त्याइएको थियो । उनले संविधान कार्यान्वयन ढिलो हुनु र समृद्धिमा जनअपेक्षा अनुरुप काम नहुनुका कारणबारे जनप्रतिनिधि र सरोकारवालाको सुझाव कार्यक्रम अवधिभर बसेर सुने । नेताहरुले बोल्ने र कार्यकर्ताले सुन्ने परम्परा भत्काउँदै सिटौलाले आफूले अरुका कुरा सुनेका हुन् ।
संविधान कार्यान्यनका लागि ऐनसमेत नबन्दा जनताकाे अपेक्षा पूरा नभएकाे निष्कर्ष
कार्यक्रममा टक सेन्टरका सदस्यहरु कुन्दनराज काफ्ले र भूपेन्द्र राई, कांग्रेस कास्की सभापति किशोरदत्त बराल, प्रदेशसभा सदस्य कल्पना तिवारी, पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान लगायतले बोले । वक्ताहरुले राज्य सञ्चालकले जनतासँग बारम्बार गरेका वाचा पूरा गर्न नसकेको औंल्याए । संविधान नै कार्यान्वयन नहुने र ऐन नबने यो व्यवस्था संस्थागत हुन निकै कठिन हुने उनीहरुको भनाइ थियो ।
सिटौलाले तत्कालीन नेकपा माओवादीसँग विस्तृत शान्ति सम्झौताका बेला सरकारको तर्फबाट उल्लेखनीय भूमिका निर्वाह गरेका थिए । उनी त्यस बेला कांग्रेस महामन्त्री र सरकारका गृहमन्त्रीसमेत थिए । उनी माओवादीसँग वार्ता गर्ने सरकारी वार्ता टोलीको संयोजकसमेत थिए ।
टक सेन्टर नेपाली कांग्रेसका सांसदहरु आवद्ध संस्था हो । प्रदेशसभा सदस्यहरु कुन्दनराज काफ्ले, भूपेन्द्र राई र जितबहादुर शेरचन मिलेर सुरु गरेका हुन् । यसमा अहिले प्रदेश र संघका गरी २ दर्जन सांसद आवद्ध छन् । कांग्रेस नेता सिटौलाले यसलाई अभिभावकत्व प्रदान गर्दै आएका छन् ।
टक सेन्टरले काठमाडौं र विराटनगरपछि पोखरामा तेस्रो कार्यक्रम गरेको हो । सेन्टरका सदस्य जितबहादुर शेरचनले चाँडै प्रधानमन्त्री, संविधान मस्यौदा समितिका संयोजक डा बाबुराम भट्टराईसहित संविधानविद्, किसान, मजदुर सबै सम्मिलित गरी बृहत् कार्यक्रम गर्ने र त्यसको निष्कर्ष प्रधानमन्त्रीलाई बुझाइने जानकारी दिए । त्यसो गर्दासमेत सरकारले आवश्यक कदम नचाले आन्दोलनमा जाने उनको भनाइ थियो ।
कांग्रेसमा सभापति शेरबहादुर देउवा र तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलको भन्दा अलग समूह बनाएका सिटौलासँग यसअघि युवा नेता गगन थापा पनि साथमा थिए । पार्टीको तेह्रौं महाधिवेशनमा थापा पार्टी महामन्त्रीमा सिटौला समूहबाट प्रतिस्पर्धामा उत्रिए । त्यो बेला पराजित थापा हालैको १४ औं महाधिवेशनमा भने शेखर कोइराला नेतृत्व समूहबाट महामन्त्री उठेर जित्न सफल भएका हुन् । सिटौला स्वयंले १४ औं महाधिवेशनमा देउवालाई साथ दिएका थिए । उनको तर्फबाट महामन्त्री प्रदीप पौडेल उम्मेदवार बने । तर, देउवाबाट महामन्त्रीको भाग मागेर उनलाई साथ दिए पनि पौडेललाई जिताउने सपना भने पूरा भएन ।
तपाईको प्रतिक्रिया