पोखरामा तार भूमिगतको काम सुस्तः डेढ वर्षमा ५ प्रतिशत

राष्ट्रिय समाचार समिति (रासस) २०८० भदौ १४ गते १७:२५

गण्डकी ।
ठेक्का अवधि सकिन लाग्दा पनि पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेको छैन । गत वैशाखदेखि तार बिछ्याउन सुरु गरिए पनि आयोजनाको प्रगति भने निराशाजनक छ । २ वर्षमा सक्ने गरी भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले विसं २०७८ माघमा निर्माणको जिम्मा पाएको छ ।

Advertisement


ठेक्का सम्झौता भएको १५ महिनामा गत वैशाख तेस्रो सातादेखि काम सुरु भएकामा हालसम्मको भौतिक प्रगति ५ प्रतिशतभन्दा काम छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले जमिनको बनावटका कारण काममा ढिलाइ भएको जनाए ।


‘पोखरामा भूगर्भको अवस्थिति प्रक्षेपण गरेभन्दा फरक पाइयो, बढी चट्टानी जमिन भएकाले उपकरणले नै काम गरेन’, उनी भन्छन्, ‘उपकरणदेखि कामको पूर्वयोजना र डिजाइन नै परिमार्जन गर्नुपर्ने अवस्था आयो ।’ अहिले उच्च क्षमताको उपकरण ल्याएपछि कामले केही गति लिएको प्रमुख सुवेदीले सुनाए ।


‘प्राविधिक कारणले भौतिकतर्फको काममा ढिलाइ भएको हो, यही बीचमा वर्षात पनि भयो, अब आयोजनाले गति लिन्छ’, उनी भन्छन्, ‘पोखरा १० कुँडहर र पोखरा ६ लेकसाइड क्षेत्रमा तार बिछ्याउने काम भइरहेको छ, निर्धारित समयमा निर्माण पूरा हुन नसके पनि छिटोभन्दा छिटो काम सक्ने गरी हामी खटिएका छौँ ।’

विद्युत्सँगै केबल र दूरसञ्चार सेवा प्रदायक संस्थाका तार भूमिगत गरी ओभरहेड प्रणालीका सबै तार हटाइने

Advertisement


इन्जिनीयरिङ डिजाइन, उपकरण खरिद लगायतमा समय लागेकाले आयोजनाको काम सुरुदेखि नै धकेलिँदै आएको थियो । आयोजनालाई चाहिने तारसहित महत्वपूर्ण उपकरण भारतबाट ल्याइएको छ । पोखरा–मुग्लिन सडक आयोजनाले अनुमति नदिएका कारण पनि मुख्य राजमार्ग क्षेत्रमा तार भूमिगत गर्न समस्या भएको थियो । सडक आयोजनाले १५ दिनअघि अनुमति दिएकाले अब काम प्रभावित नहुने प्रमुख सुवेदीले दाबी गरे ।


सुरुमा कुँडहरमा रहेको प्राधिकरणको सब–स्टेसन क्षेत्रको तार भूमिगत गर्न थालिएको उनले उल्लेख गरे । सो ठाउँमा अहिले सडक खन्ने र पाइप बिछ्याउने काम भइरहेको छ । आयोजना अन्तर्गत पोखरा १० कुँडहरदेखि जिरो किमिसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्रबैँकचोक, लेकसाइड, सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा गायतका क्षेत्रमा तार भूमिगत गरिने भएको हो । मुख्यदेखि सहायक सडकसम्मै तार बिछ्याइने आयोजनाले जनाएको छ ।


विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिच्छ्याइनेछ । ‘विद्युत्सँगै केबल र दूरसञ्चार सेवा प्रदायक संस्थाका तार पनि एकैसाथ भूमिगत गरिन्छ, अहिले भएको ओभरहेड प्रणालीका सबै तार हट्छन्’, आयोजना प्रमुख सुवेदीले भने, ‘पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आउजाउ हुने ठाउँका तारलाई जमिनमुनि बिछ्याउन लागिएको हो ।’


पोखरामा तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा १ अर्ब ३० करोड खर्च हुने प्राधिकरणले जनाएको छ । पोखरा सहरभरिको तारलाई भूमिगत गर्न ५ अर्ब बढी बजेट चाहिने अनुमान छ । पोखरा र भरतपुरमा तार बिछ्याउन २ अर्ब ५० करोड ३३ लाखमा ठेक्का लगाइएको थियो । दुवै सहरमा एकै प्याकेजमा काम भइरहेको आयोजना प्रमुख सुवेदीले बताए । तार विछ्याएपछि ग्राहकको घरघरमा बिजुली पुर्‍याउने काम पनि प्राधिकरण नै गर्नेछ ।


प्राधिकरणले सडकमा न्यून क्षति हुनेगरी तार बिछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिने आयोजना प्रमुख सुवेदीले सुनाए । यात्रु र यातायातका साधनको आउजाउमा बाधा नपुग्ने गरी निर्माणका काम भइरहेको उनको भनाइ छ ।


तार भूमिगत गरेपछि ठाउँ ठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घर–घरमा बिजुली पु¥याइने प्राधिकरणले जनाएको छ । प्राधिकरणको पोखरा वितरण केन्द्रका अनुसार तार भूमिगत आयोजनाले ओगटेको क्षेत्रभन्दा बाहिरका अव्यवस्थित र जीर्ण विद्युत् पोल हटाउन छुट्टै ठेक्का प्रक्रिया अगाडि छ ।


विद्युत् लाइन जमिनमुनि बिछ््याउदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउनेछ । तार भूमिगत गर्दा सहरी सौन्दर्य बढ्नुका साथै विद्युतीय दुर्घटनासमेत न्यूनीकरण हुने बताइएको छ । भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो हुने प्राविधिक बताउँछन् । तार बिछ््याउँदा ठूलो बजेट लाग्ने भए पनि ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न भूमिगत प्रणाली उपयुक्त हुने उनीहिरूको भनाइ छ ।


पोखरा वितरण केन्द्र अन्तर्गत विद्युत्का ९४ हजार १ सय ६५ ग्राहक छन् । वितरण केन्द्रका आधारमा यो देशकै सबैभन्दा धेरै ग्राहक संख्या हो । प्राधिकरणले सहरी सौन्दर्य बढाउन ‘उज्यालो र सहर सफाइ अभियान’ चलाइरहेको छ । सडक छेउछाउका जीर्ण र प्रयोगविहीन पोल हटाउन सुरु गरिएको छ । भूमिगत प्रणालीलाई अन्य सहरमा विस्तार गर्दै जाने योजनामा प्राधिकरण छ । काठमाडौँ उपत्यकापछि भरतपुर र पोखरामा सो परियोजना अघि बढेको हो । तारैतारले जेलिएको पोखराको सौन्दर्य फर्काउन पनि आयोजना सहयोगी बन्ने ठानिएको छ । प्रभाव र उपयोगिता हेरेर पोखराका अन्य ठाउँमा पनि तार भूमिगत गरिने प्राधिकरणले जनाएको छ ।


पोखरा ६ का वडाध्यक्ष विष्णुप्रसाद भट्टराईले लेकसाइडको भित्री सडकमा तार बिछ्याउन सुरु गरिएको बताए । ‘१७ नं गल्लीबाट तार भूमिगतको काम सुरु भएको छ, अब कुनै पनि बहानामा काम रोकिनुहुन्न’, उनी भन्छन् ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया