लेउवा संघ १४ औं महाधिवेशन

‘ज्ञान, सिप र प्रविधिको प्रयोग: व्यवसायीको हितमा संघको उपयोग’

भीमपाणि बराल २०८० भदौ १५ गते ११:३२

संघमा प्रवेश गरेसँगै लामो समय युवा उद्यमशीलता उपसमितिको संयोजक हुँदै वर्तमान कार्यसमिति सदस्यका रूपमा कार्य गर्दा प्राप्त गरेको अनुभवलाई संस्थाको हित र विकासमा प्रभावकारी ढंगबाट लगाउने उद्देश्य राखेको छु । व्यवसायीहरुको सल्लाह, सुझाव र चाहना अनुरुप नै महासचिवको दाबेदार बनेको हुँ । महासचिवलाई मैले पदभन्दा पनि जिम्मेवारी ठानेको छु ।

Advertisement

१० वर्ष शिक्षण पेसा हँुदै विद्यालय सञ्चालकको समेत अनुभव संगालेर स्नातकोत्तरसम्मको अध्ययनबाट सिकेका ज्ञान र सिप म लेखनाथ उद्योग वाणिज्य संघमा अर्पण गर्ने मेरो चाहना हो । संधको ऐतिहासिक गरिमालाई अझै उचाइमा पुर्‍याउनु पर्छ भन्ने मलाई लागेको छ । आमव्यवसायीहरुको भावना अनुरुप संघमा युवा लक्षित प्रविधिमैत्री वातावरण सिर्जना गर्नु नै पहिलो कर्तव्य ठानेको छु ।


व्यावसायिक क्षेत्रमा पूर्वी पोखरामा नै पहिलोपटक फ्लेक्स व्यवसाय सञ्चालन गर्दै कम्युनिकेसन तथा भिडिओग्राफी व्यवसायसम्म गर्दा अनि संघको कार्यसमितिमा रहेर काम गर्दा मैले व्यवसायीका पीरमर्का र आजको जर्जर आर्थिक अवस्थाको रापताप राम्ररी अनुभूति गरेको छु । युवाहरुले स्वदेशमा नै केही गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै युवा लक्षित कार्यक्रममार्फत साना तथा मझौला व्यवसायीहरुको आवाज उठाउन उम्मेदवार बनेको छु ।


अग्रजहरूको सिप, श्रम, समय र सिर्जनात्मक विचारले सिञ्चित संघको गरिमा जोगाउँदैसबल बनाउँदै लैजानु हाम्रो दायित्व हो । महाअधिवेशन केबल निर्वाचन मार्फत संस्थामा व्यक्तिको प्रवेश मात्रै नभई नवीन विचार, कार्यदिशा, कार्ययोजना र रुपान्तरण समेतको प्रवेश गराउनुपर्छ भन्ने मेरो विचार हो ।


संस्थाका अध्यक्ष एवं सिंगो कार्यसमितिलाई उद्योगी एवं व्यवसायीका हकहितमा समर्पित गराउने नीति तथा कार्यक्रम निर्माण एवं कार्यान्वयनमा जिम्मेवार पूर्वक सहयोगी भूमिका निर्वाह गर्ने, सचिवालयलाई थप प्रविधिमैत्री बनाउने, संघलाई राजनीतिक पूर्वाग्रहबाट निरपेक्ष राखी विशुद्ध व्यावसायिक संस्थाका रूपमा विकास गर्नु मेरो कार्ययोजना छ ।

Advertisement

भीमपाणि बराल

बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।

तपाईको प्रतिक्रिया